मकवानपुरमा सामूहिक बलात्कार आरोपमा श्रीमान पक्राउ, दुई जना फरार

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कारको घटना भएको छ ।

पीडित महिलाले १ कात्तिकमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरीको आधारमा उनका श्रीमान पक्राउ परेका छन ।

३० असोजमा मनहरी गाउँपालिका–५, स्थित आफ्नै घरमा महिलामाथि उनका श्रीमान र दुई किशोरले सामूहिक बलात्कार गरेको उजुरी परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पीडित महिलाले ३० असोज रातको समयमा ६० वर्षीय श्रीमान र १९, २० वर्षका दुई युवाले आफूमाथि सामूहिक बलात्कार गरेको उजुरीमा बताएकी छन ।

प्रहरीले श्रीमानलाई १ कात्तिकमा पक्राउ गरेर शुक्रबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको छ । आरोपित दुई युवा भने फरार रहेका छन । डीएसपी अर्यालका अनुसार पीडित महिलाले दुई किशोरको अन्दाजी उमेर १९ र २० वर्ष हुनसक्ने बताए पनि पहिचान गर्न नसकेको बताएकी छन ।

‘महिलाले श्रीमानसहित दुई जना किशोरले बलात्कार गरेको बताउनुभएको छ । किशोरहरुलाई आफू नचिन्ने उहाँले बताउनुभएको छ । दोषी पत्ता लगाउन हामीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेका छौं’, डीएसपी अर्यालले भने ।

पीडित महिलालाई हेटौंडास्थित महिला सेफ हाउसमा राखिएको छ । उनको स्वास्थ्य अवस्था ठीक रहेको डिएसपी अर्यालले बताए । उनका अनुसार पीडित महिलाले ३ वर्षअघि मात्रै दोस्रो विवाह गरेकी थिइन ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार