यी हुन् डलर स्क्याण्डलका मुख्य नाइके, गृहमन्त्रीको नाम लिदै ज्यान मार्ने धम्की दिदै

काठमाडौं : करिब १ बर्ष अघि सिन्धुपाल्चोक मेलम्चीका शेरु बस्नेत काठमाडौंका शैक्षिक कन्सल्टेन्सीका कार्यालयहरु धाइरहेका थिए । कार्यालय धाउनुको प्रयोजन थियो विदेशमा अलपत्र परेको रकम नेपाल भित्र्याउने ।

शैक्षिक कन्सल्टेन्सी व्यवसायीलाई भेटेर उनले भन्ने गरेका थिए, ‘मेरो साथीको पैसा विदेशमा अड्किएको छ । तपाईंले मलाई नेपालमा पैसा दिनुहोस्, म तपाईंका विद्यार्थीको ट्युसन फि, स्वास्थ्य इन्स्योरेन्स, भिसा एप्लिकेशन फि, आईएलटिएस, पिटिईको शुल्क तिरिदिन्छु । तपाईंहरुको काम भएपछि मलाई पैसा दिए हुन्छ ।’

उनले त्यतिमात्रै भनेनन्, व्यवसायीलाई थप प्रलोभन पनि देखाएका थिए । उनले भनेका थिए, ‘तपाईंलाई विद्यार्थीको स्वास्थ्य इन्स्योरेन्स गरेबापत कमिसन आउँदैन, ट्युसन शुल्कको कमिसन आउँदैन, भिसा आवेदन शुल्कको कमिसन आउँदैन । म तपाईंलाई २५ प्रतिशतसम्म कमिसन दिनसक्छु । ढुक्क भएर काम गर्नुहोस् । म मेलम्चीको मान्छे भागेर जाने होइन क्यारे ।’

सबै काम सकेर विद्यार्थीको भिसा लागेपछि पैसा बुझाउनु पर्ने भएपछि व्यवसायी पनि लोभिए । कमिसन कटाएरै पैसा पठाउने भएपछि झन् मख्ख थिए व्यवसायी । राम्रो कमिसन, अझ आफैले कटाएर पठाउनु पर्ने भएपछि उनीहरुले खुरुखुरु शेरुलाई पैसा बुझाउन थाले । कसैले बैंकिङ च्यानलबाट शेरुको खातामा रकम जम्मा गरेका थिए भने कसैले हातमै क्यास बुझाएका थिए । ६ देखि ७ महिनासम्म उनको यो धन्दा राम्रै चलिरहेको थियो । उनले यो अबधिसम्म २५ देखि ३० करोड रुपैयाँ जम्मा गरिसकेका थिए । इन्स्योरेन्स कम्पनीबाट २०२३ को मार्च महिनामा आएको एउटा इमेलले भने उनको यो धन्दा चौपट भयो । व्यवसायीहरुको सातो गयो, विद्यार्थीको भविश्य अन्योल बन्यो ।

आयरल्याण्डमा केन्द्रीय कार्यालय रहेको एलिएन्स इन्स्योरेन्सले व्यवयासीहरुलाई इन्स्योरेन्स पोलिसी फेल भएको र समयमै विद्यार्थीको बीमा शुल्कबापतको रकम भुक्तानी गर्न भनेर इमेल गर्यो । यो इमल आएपछि व्यवसायीहरुले ‘के भएको हो ?’ भनेर बुझ्न थाले । बुझ्दै जाँदा ह्याकरहरुको समूहले अमेरिकाका विभिन्न बैंकहरुको क्रेडिट कार्डहरु ह्याक गरेर रकम भुक्तानी गरेका रहेछन् । अमेरिकाले यसरी ह्याक भएको जानकारी पाएपछि अबैध रुपमा भुक्तानी भएको रकम फिर्ता लिएपछि इन्स्योरेन्स कम्पनीले व्यवसायीहरुलाई इमेल गरेको थियो ।

बस्नेतले त्यही ह्याकरहरुको समूहसँग मिलेर अमेरिकाका विभिन्न बैंकहरुको क्रेडिट कार्ड ह्याक गरेर अस्ट्रेलिया, बेलायत, क्यानडाका शैक्षिक संस्था, इन्स्योरेन्स कम्पनी, विभिन्न टेस्ट परिक्षाहरुको शुल्क बुझाउने लगायत डलरबाट हुने सम्पूर्ण भुक्तानी गरेका थिए । यो ह्याकरहरुको समूहमा नेपालबाट शेरु बस्नेत रहेका छन् भने भारतको नयाँ दिल्ली, हैदराबाद, पाकिस्तानका एक–एक जना रहेको बुझिएको छ । पाकिस्तानमा बसेर अमेरिकाका बैंकहरु ह्याक भएको श्रोतको दावी छ ।

अहिले धेरै व्यवसायीहरुले विद्यार्थीको पैसा तिरिसकेका छन् भने बाँकी रहेका व्यवसायीहरु तिर्ने प्रक्रियामा छन् । ‘मैले ५५ जना विद्यार्थीको इस्योरेन्स बापतको रकम बुझाएको थिए । धन्न ट्युसन फि तिरिएन छ । कलेजको ट्युसन फि पनि तिरेको भएत जिन्दगी बर्वाद हुने रहेछ ।’, मोटिभेट न्यूज डटकमको सम्पर्कमा आएका एक व्यवसायीले भने, ‘शेरुको पछि लाग्दा मैले झण्डै १ करोड रुपैयाँ भन्दा धेरै डुबाएको छु । विद्यार्थीको इस्योरेन्स फेल भएर उजुरी गरेको खण्डमा आफू फस्ने डरले मैले ऋण गरेर पैसा तिरिदिएको छु । हामी सोझा व्यवसायीहरुलाई इज्जतको डर हुन्छ ।’

आफूले शेरुसँग पैसा फिर्ता माग्दा उल्टै धम्की दिने गरेको उनको भनाई छ । ‘मेरो त जम्मा १ करोड बढि हो । अरु साथीहरुको ३ देखि ५ करोडसम्म फसेको छ । मसँग मैले उसलाई पैसा तिरेको प्रमाण छ ।’, नाम उल्लेख नगर्ने सर्तमा ति व्यवसायीले भने, ‘विद्यार्थीको पैसा मिलेर तिरौं भन्दा पनि मान्दैन, हाम्रो पैसा फिर्ता देउ भन्दा पनि मान्दैन, तिमीले कसलाई दिएको हो भन हामी मिलेर लडौं भन्दा पनि मान्दैन्, तिमीले कति कमिसन खाएका थियौ, त्यति भएपनि देउ हामीलाई अलिकति भएपनि राहत हुन्छ भन्दा पनि मान्दैन । अब के गर्ने हाला ?’

व्यवसायीहरुले आफू पनि फस्ने डरले उजुर बाजुरमा उत्रिएका छैनन् । ‘हामीसँग उसलाई पैसा दिएको पर्याप्त प्रमाण छ । मैले त सबै उसको बैंक खातामा जम्मा गरिदिएको छ । मसँग सबै भौचर छ ।’, एक अर्का व्यवसायीले भने, ‘तर हामीले पनि बैंकिङ च्यानलभन्दा बाहिरबाट विद्यार्थीको ट्युसन फि, इन्स्योरेन्स शुल्क बुझाउनु अबैध हो । व्यवसायीले यस्तो गर्न हुँदैन भनेर उजुरी गर्न सकेका छैनौं । विद्यार्थीको सबै सेटल भएपछि हामी उजुरी गछौं । यो शेरुलाई पानी मुनी गए पछि छोड्दैनौं ।’

शेरुले आफू नेकपा माओवादी केन्द्रको सदस्य भएको भन्दै कसैले छुन नसक्ने बताउँदै आएका छन् । ‘हेरौं त मलाई कसले उजुरी गर्दो रहेछ । गृहमन्त्री मेरै फेवरको हुनुहुन्छ । काठमाडौंको सिडियोलाई मिलाएको छु ।’, व्यवसायीलाई शेरुले दिएको धम्कीलाई उदृढ गर्दै अर्का एक व्यवसायीले भने, ‘कसैले मेरा विरुद्धमा समाचार लेख्ने, लेखाउने, प्रहरी प्रशासनमा उजुरी गर्ने, गराउने गरेको थाहा पाएँ भने उसको गर्धन छिनालि दिन्छु । यो संसारबाट विदा गरिदिन्छु ।’

तपाईंले विद्यार्थीको ट्युसन फि, इन्स्योरेन्स शुल्क तिर्नलाई व्यवसायीबाट पैसा लिएको होर ? भन्ने मोटिभेटको प्रश्नमा उनले आमा गालीबाट उत्तर दिन थाले, ‘…तँ को होस् र मलाई प्रश्न गर्ने । शेरुको नाम मात्र लिइस भने तेरो गर्धन छिनालि दिन्छु । शेरु को हो भनेर चिनेको छैनस् । मेरो पावर तँलाई थाहा छैन । बाँच्न मन छ भने यो विषयमा समाचार लेख्न छाडिदे….’

शेरु पनि समस्यामा रहेको व्यवसायीहरुको बुझाई छ । पुतलीसडक चोकमा रहेको करिअर ग्रोथ एजुकेशन कन्सल्टेन्सीका संचालक बन्नेत सिन्धुपाल्चोक मेलम्चीका हुन् । उनी माओवादी केन्द्र निकट व्यक्तिहरुको हिमचिमका कारण व्यवसायीहरुलाई धम्क्याउँदै आइरहेका छन् । उनले व्यवसायीबाट उठाएको रकम भारतको नयाँ दिल्ली पठाएको श्रोतले जनाएको छ ।

स्रोत: मोटीभेट न्युज ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार