काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीले एमसीसी घातक परियोजना भएको भन्दै साउन ३० गते देशका मुख्य सहरमा एमसीसी विरुद्ध जनप्रर्दशनको आहवान गरेको छ ।
नेकपाको एमसीसी सरोकार समितिका संयोजक भरत सीले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै घातक एमसीसी विरुद्ध साउन ३० गते मुख्य सहरमा हुने जनप्रर्दशन सफल पार्न सबैमा आहवान गर्नु भएको हो ।
नेकपाले अमेरिकाले केही महिना अगाडि स्थगित गरेको एमसीसी परियोजना नेपालमा पुनः सुरु गर्ने निर्णय गरेकोमा गंभीर बनाएको भन्दै अमेरिकी साम्राज्यवादी गलत नीति र निर्णयको बिरोध गर्दछौं भनेको छ ।
‘एमसीसी विरुद्ध नेकपासँगै स्वाभिमानी नेपाली जनता आन्दोलनरत छन । परिमार्जन विना जबरजस्ती पुनः एमसीसी लाद्नु घातक छ’ नेकपाले जारी विज्ञप्तिमा भनेको छ, ‘एमसीसी विरुद्धको न्यायोचित देशभक्तिपूर्ण जनसंघर्ष अघि बढाउन र सफल पार्न सम्पूर्ण देशभक्त, वामपन्थी – कम्युनिस्ट, समाजवादी र गणतन्त्रवादी शक्तिलाई हार्दिक अनुरोध गर्दछौं ।’
नेकपाले एमसीसी रहेसम्म यसका विरुद्धको देशभक्त जनताको संघर्ष जारी रहने चेतावनी दिएको छ । नेकपाले साउन ३० गते हुने एमसीसी विरुद्धमा देशका मुख्य शहरमा हुने जनप्रर्दशन सफल पार्न सम्पूर्ण सचेत नागरिकलाई विशेष अपिल समेत गरेको छ ।
