काठमाडौं । सरकारका गृहमन्त्री र नेपाल कम्युनिस्ट पार्टीका नेताहरूबिच भेटबार्ता भएको छ।नेकपा पोलिटब्युरो सदस्य असल, केन्द्रीय सदस्यहरु प्रकाश जप्रेल,बिकास महर्जन र शुरबीरबिच शनिबार सिंहदरबारमा भेटबार्ता भएको हो।
भेटबार्ताको क्रममा नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट सरकार र नेकपाबिच भएको तीन बुदे सहमति अनुसार बन्दीहरूको रिहाई र मुद्दा फिर्ता प्रक्रियाको कार्यान्वयन हुनुपर्ने, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि गरिएको हत्यामा संलग्नहरुलाई कारबाही गरिनुपर्ने, युवा बेरोजगारीका कारण उत्पन्न सामाजिक अपराध र बढ्दो साइबर अपराधका घटनालाई नियन्त्रण गर्न तत्काल कार्यक्रम सञ्चालन गरिनुपर्ने र महाकाली नदीको कटानका कारण कञ्चनपुरका विभिन्न ठाउँमा देखिएको समस्या समाधान गर्न तत्काल तटबन्धको व्यवस्था गरिनुपर्ने बिषयमा कुराकानी राखेको नेकपा केन्द्रीय सदस्य प्रकाश जप्रेलले जानकारी दिएका छन् ।
गृहमन्त्री लेखकले तीन बुदे सहमतिलाई इमानदारीतापूर्वक कार्यान्वयन गर्नु सरकारको जिम्मेवारी भएको भन्दै प्रधानमन्त्री ओलीसङ्ग कुराकानी गरेर छिट्टै अगाडि बढ्ने, बन्दीहरु सम्बन्धमा मन्त्री परिषदले फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने र नमिल्ने मुद्दालाई अदालती प्रक्रियाबाट छिटो टुंगोमा पुर्याउन पहल गर्ने र निर्मला पन्तको हत्यामा संलग्नहरुलाई अनुसन्धान गरी कारबाही गर्न सरकारले आफ्नो सम्पूर्ण साधन , श्रोत र प्रबिधि परिचालन गरिने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।
त्यस्तै सामाजिक अपराध र साइबर अपराध नियन्त्रणमा आवश्यक योजना बनाइ अगि बढ्ने र कञ्चनपुरको महाकाली कटान क्षेत्रमा तटबन्ध निर्माणमा तत्काल पहल गर्ने गृहमन्त्रीले प्रतिबद्धता व्यक्त गरेका थिए।
सरकार र नेकपाबिच भएको तीन बुदे सहमतिअनुसार सरकारले नेकपामाथिको प्रतिबन्ध फुकुवा गरेपनि नेताकार्यकर्ताको विरुद्धका मुद्दाहरुको खारेजी र रिहाईको काम पुरा भएका छैनन् ।
श्रोतका अनुसार नेकपा सम्बद्ध दर्जन बढी नेताकार्यकर्ता अझै जेलमा रहेका छन् भने सयौं व्यक्तिका नाममा राज्य विप्लव, हातहतियार तथा खरखजना र संगठित अपराध जस्ता मुद्दाहरु लगाएको छ।
नेपाल कम्युनिस्ट पार्टीले सहमति अनुसार शान्तिपूर्ण गतिविधि सञ्चालन गरी आगामी २०८४ को निर्वाचनमा सहभागी हुने निर्णय गरिसक्दा समेत सरकारले सहमतिको कार्यान्वयन नगर्नु भनेको देशमा द्वन्द्व भड्काएर अस्थिरता सिर्जना गरी आफ्नो रणनीतिक उदेश्य पुरा गर्न खोज्ने आन्तरिक तथा बाह्य शक्तिहरु सत्ताको केन्द्रमा हाबी हुँदै गएको नागरिक समाज लगायत बुद्धिजीवीहरुको बिश्लेषण रहेको छ।