अछाम । नेपाल कम्युनिष्ट पार्टी अछामले तुर्माखाँद वडा न८ को भम्केलीमा धान रोपाइँ सम्पन्न गरेको छ।पार्टीको देशव्यापी उत्पादन अभियान अन्तर्गत शनिबार अछाममा पनि रोपाइँ गरिएको हो।
करिब ८ रोपनीमा भएको उक्त रोपाइँमा नेकपा सुदुरपश्चिम इन्चार्ज भरत सी रणबीर समेत रोपाइँका लागि अछाम पुगेका थिए ।
रोपाइँमा जिल्ला इन्चार्ज सरिता, सेक्रेटरी निरक, जिल्ला नेताहरू बिकास, निर्मल,कुमार, वडाअध्यक्ष निरक शाही लगायत २७ जना स्थानीयहरुको सहभागिता रहेको थियो।
नेकपा स्थायी समिति सदस्य समेत रहेका प्रदेश इन्चार्ज भरत सीले रोपाइँ पछि सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाले सुरु गरेको कृषि उत्पादन कुनै परम्परागत खेतीपाती नभइ राजनीतिक उदेश्य र नेपालको समाजवादी क्रान्तिलाई सम्पन्न गर्ने पार्टी रणनीति अनुसारको उत्पादन अभियान भएको बताए ।
कार्यक्रममा वडाअध्यक्ष निरक शाहीले नेकपाले गरिरहेको उत्पादन अभियानले समाजलाई सकारात्मक प्रभाव पार्ने भन्दै यसप्रकारका कामहरू सबै राजनीतिक दलहरूले गर्नुपर्ने आबश्यकता रहेको बताए ।
रोपाइ कार्यक्रममा सहभागीहरुलाई प्रेरित गर्न भन्दै नेकपा नेता बिर्माले भारतबाट रु ३ हजार आर्थिक सहयोग स्वरुप पठाएका थिए भने रोपाइँको अन्तिममा स्थानीय देउडा शैलीमा गीत गाएर रोपाइको समापन गरिएको थियो।
