काठमाडौं । जनपत्रकार संगठन नेपालले सदस्यता विवाद र पत्रकारहरुको हकहितकाबारे नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण गराएको छ ।
जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्मा नेतृत्वकोे प्रतिनिधि मण्डलले आईतवार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा लगायतका पदाधिकारीहरुलाई महासंघको केन्द्रीय कार्यालयमा भेटगर्दै सदस्यता विवाद र पत्रकारहरुको हकहितकाबारे नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण गराएको हो ।
जनपत्रकार संगठन नेपालले महासंघको सदस्यता नवीकरण गर्दा र नयाँ सदस्यता वितरण गर्दा शक्तिको प्रभावका आधारमा नभई विधानको व्यवस्था बमोजिम गर्न महासंघको विशेष ध्यानाकर्षण गराएको छ ।
जनपत्रकार संगठन नेपालले आमसञ्चार विधेयक र मिडिया विधेयकलाई तत्काल पारित गर्न महासंघबाट सरकारलाई दबाब सिर्जना गर्न आग्रह गरेको छ ।
जनपत्रकार संगठन नेपालले सबै अनलाइन मिडियाहरुलाई वर्गीकृत विज्ञापन पाउने व्यवस्था गर्न पनि महासंघलाई पहल गर्न आग्रह गरेको छ ।
महासंघको छवि, विश्वसनियता र गरिमा जोगाउन महासंघ आफैले विशेष ध्यान दिनु पर्ने सुझाव दिदै जनपत्रकार संगठन नेपालले यसका लागि महासंघ निश्पक्ष भएर काम गर्न आग्रह गरेको छ ।
जनपत्रकार संगठन नेपालले देशव्यापी तालिम प्रशिक्षणको माध्यमबाट मर्यादित पत्रकारिताको विकास गर्नेतर्फ पहल गर्न आग्रह गर्दै दलित महिला जनजाति लगायतका सिमान्तकृत समुदायबाट जनशक्ति विकास र नेतृत्व विकासमा विशेष प्राथमिकता दिएर काम गर्न महासंघलाई सुझाव दिएको छ ।
जनपत्रकार संगठन नेपालले पत्रकारको स्वास्थ्य तथा दुर्घटना विमा प्रभावकारी बनाउनु पर्ने, सामाजिक सुरक्षाका कामहरु सहज र भरपर्दो गरिनु पर्ने, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न गराउन आवश्यक पहल गर्नुपर्ने र सबै पेशागत संघ संगठनहरूसँगको सहकार्यमा महासंघले विशेष ध्यान दिनु पर्ने लगायतका मागहरु राखेको छ ।
जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष विश्वकर्माले सो अवसरमा काठमाडौं लगायतका केही शाखामा अघिल्लो वर्षमा सदस्यता प्राप्तिका लागि रसिद काटी जिल्लाबाट सिफारिस समेत भएको अवस्थामा कतिपय क्रियाशिल पत्रकारहरु सदस्यता प्राप्तिको अधिकारबाट बन्चित हुनु परेको भन्दै यसलाई अविलम्ब टुङग्याउन माग गर्नु भएको छ ।
अध्यक्ष विश्वकर्माले संगठनको तर्फबाट प्रदेश र स्थानीय तहमा आमसञ्चार नीति र आमसञ्चार कानुन निर्माणमा शिघ्र पहल गर्नुपर्ने र पत्रकारहरूको पेशागत र भौतिक असुरक्षाको घटनाहरू बढिरहेकाले यसको कारण सहित समाधानको पहल गर्न महासंघ क्रियाशिल हुनुपर्ने पनि बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शर्माले सो अवसरमा जनपत्रकार संगठन नेपालले राखेका माग र सुझावहरु महासंघका पनि भएकाले त्यसको कार्यान्वय गर्न तर्फ महासंघ सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाउनु भएको छ ।
उहाँले सदस्य विवादको कारण चुनाव नै प्रभावित हुने अवस्थाको अन्त्य गर्ने बताउदै सदस्यता नविकरण र वितरणमा सुधार गरिने बताउनु भयो ।
अध्यक्ष शर्माले पत्रकार असुरक्षाको मुख्य कारण सरकार भएको भन्दै त्यस तर्फ विशेष सरकारको ध्यानकर्षण गराउदै समस्याको समाधानमा पहल गरिने बचन दिनु भयो ।
पत्रकार र प्रेसका मुद्दामा सबै संघसंगठनसँग सहकार्य गर्न तयार रहेको बताउदै अध्यक्ष शर्माले स्वास्थ्य विमाको लागि समेत पहल गर्ने बताउनु भयो ।
भेटघाटमा महासंघका तर्फबाट अध्यक्ष शर्मा सहित वरिष्ठ उपाध्यक्ष उमृत बाक्चन, उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारीको सहभागिता रहेको थियो ।
जनपत्रकार संगठन नेपालको तर्फबाट अध्यक्ष विश्वकर्मा सहित संगठनका सचिवालय सदस्य शोभराज बराल, कर्ण विश्वकर्मा, केन्द्रीय सदस्य विष्नु विश्वकर्मा, विनित तिरूवा, कमल बिक, कृष्ण बिक, पुनम हमाल, प्रतिष्ठान प्रदेश समिति सदस्य कृष्णप्रसाद न्यौपाने, ललितपुर जिल्ला सदस्य कुशल बोगटी लगायतको सहभागिता रहेको थियो ।