पोखरा । नेपाल कम्युनिष्ट पार्टी को उत्पादन नीति अन्तर्गत नेकपा गण्डकी प्रदेशले ४५ रोपनी जग्गामा धान रोपेको छ ।
गोरखाको पालुङटार नगरपालिका–३, तल्लो शेरामा गोरखा र लमजुङ जिल्लाको संयुक्त आयोजनामा नेकपा गण्डकी प्रदेश इन्चार्ज उमा सी को नेतृत्वमा कञ्चन जातको धान रोपिएको नेकपा गण्डकीले बताएको हो ।
नेकपाका नेता कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो । केन्द्रिय सदस्यहरू विकिरण, कपिल, काजी, प्रसिद्ध र लमजुङ जिल्ला सेक्रेटरी रविन्द्र लगाएत स्थानिय नेता कार्यकर्ता र शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।

सीले भने “म्याग्दीमा रोपाइँ सकेका छौँ, आज गोर्खा र लमजुङको हुँदैछ, अब गण्डकीका अन्य जिल्लाहरूमा तयारी भइरहेको छ, नेकपाले यस वर्ष गण्डकीभर करिब २०० भन्दा धेरै रोपनी जग्गामा धान रोप्न लक्ष्य लिएको छ र त्यसका लागि असार १० गतेदेखि एक महिनासम्म सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई उत्पादनमा लाग्न विशेष आग्रह गरिएको उनले बताए ।”
उत्पादनमा नेकपाका नेता कार्यकर्तासँगै आम मानिसहरु पनि उत्साहका साथ सहभागी थिए । उत्पादनसँगै पार्टी अगाडि बढाइरहेको नेकपाले समृद्धिको आधार कृषि र उत्पादन नै हो भन्ने कुरा नितिगत रुपमा सन्देश प्रवाह गरिरहेको छ । नेकपाले कृषि, सहकार्य र श्रम सन्देशसहित पार्टी नेता कार्यकर्ता र आम जनतालाई समेत उत्पादनमा जोडिरहेको छ ।”
