बानेश्वरमा विपक्षी दलको बैठक जारी

काठमाडौं ।  संसद्‌मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको बैठक शुरू भएको  छ ।

विपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष, संसद् भवन नयाँ बानेश्वरमा बैठक जारी छ ।

बैठकमा प्रतिपक्षी दल राप्रपा भने सहभागी छैन । संविधान र गणतन्त्र पक्षधर संसद्‌मा प्रतिनिधित्व गर्ने प्रतिपक्षीबीच मात्र छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।
यसअघि सभामुखसँग भएको छलफलमा विपक्षी दल आबद्ध प्रमुख सचेतकहरू बैठकपछि निर्णय गर्ने भन्दै उठेका थिए ।
दुई हप्तादेखि प्रतिनिधिसभा बैठक बस्न नसकेपछि खुलाउने पहलका लागि सभामुख देवराज घिमिरेले एमालेका मुख्य सचेतक महेश बर्तौला, कांग्रेसमा प्रमुख सचेतक श्याम घिमिरे र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन ।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले विपक्षीले भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको मागमा कुरा नमिलेको बताए ।  ‘उहाँहरूको माग नै छानबिन समिति गठन गरौं भन्ने छ । तर, हामीले त्यो हुन सक्दैन भनेपछि बैठक धेरै बेर बसेन,’ घिमिरेले भने, ‘लामो समय भयो बैठक चलाउने वातावरण बनाइदिनुस् भनेका छौं । उहाँहरूले विपक्षीको बैठकबाट निर्णय गर्छौं भन्नुभएको छ ।’

संसद् बैठकअघि विपक्षी नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपाको बैठक जारी छ । यही बैठकबाट संसद्को अवरोधबारे निर्णय गर्ने तयारी विपक्षीको छ ।

तर, सत्ता पक्षले आज जसरी पनि बैठक बस्ने र कार्यसूचीमा प्रवेश गर्ने दाबी गरेको छ । ‘सधैं बैठक रोक्दा सदनका धेरै काम प्रभावित भइसके,’ घिमिरेले भने, ‘उहाँहरूले पनि निर्णय गर्छु भन्नुभएको छ । अब सदन चलाएर आजै कार्यसूचीमा प्रवेश गर्नुपर्छ भन्नेमा हामी छौं ।’

यसअघि गृहमन्त्री रमेश लेखकको राजीनामालाई विपक्षीले मुख्य माग बनाएका थिए । तर, अख्तियारले नै यो प्रकरणमा छानबिन गरेपछि विपक्षी ब्याक भएका छन् । तर, उनीहरूले समिति गठनको माग गर्दै संसद् चल्न दिएका छैनन् ।

अख्तियारले छानबिन गरेको विषयमा उसको निचोडलाई पर्खिनुपर्ने सत्तारुढ दलको अडान छ । ​

यसैबीच, शनिबार प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग उनकै निवासमा पुगेर भेट गरेका थिए । संसद्को गतिरोध अन्त्यको लागि दुई नेताबीच भेट भएको बताइएको छ ।

सो बैठकमा प्रचण्डले छानबिन समिति गठनको माग गरेका थिए । तर, देउवाले अख्तियारले गरेको छानबिनमा अर्को समिति आवश्यक नभएको बताएको बुझिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार