भारतले गर्याे पाकिस्तान माथि मिसायल हमला ३० जनाको मृत्यु

काठमाडौं । पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेको छ ।

भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार भारतले आतंकवादीहरुलाई लक्षित गरी मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा एयरस्ट्राइक गर्दा ३० जनाको मृत्यु भएको जनाएको छ ।

यो आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ । भारत सरकारले जारी गरेको बयानमा भनिएको छ, ‘यस अपरेशनमा पाकिस्तान र पाकिस्तानद्वारा कब्जा गरिएको कश्मिरमा रहेका आतंकवादी संरचनालाई निशाना बनाइएको छ, जहाँबाट भारतमाथि आतंकवादी हमलाको योजना बनाएर कार्यान्वयनमा ल्याइएको थियो ।’

सञ्चार माध्यमका अनुसार पाकिस्तानका सीमावर्ती क्षेत्रहरुमा गोलाबारी र विष्फोटका रिपोर्टहरु आएका छन् ।

भारत र पाकिस्तानबीचको सम्बन्ध २२ अप्रिलमा जम्मु–कश्मिरको पहलगाममा पर्यटकहरूमाथि भएको हमलापछि तनावपूर्ण भएको छ । सो हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । सो आतंकवादी आक्रमणमा पाकिस्तानले सघाएको र युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप भारतले लगाएको छ ।

भारतले नौ स्थानमा आक्रमण गरेको भनिए पनि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाँच स्थानमा आक्रमण भएको एक्स अकाउन्टमा लेखेका छन । यसबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतले लगाएका आरोपहरुको खण्डन गर्दै भारतले गरेको आक्रमणको उचित जवाफ दिने बताएका छन ।

सामाजिक सन्जाल एक्स अकाउन्टमा उनले लेखेका छन्, ‘भारतले पाकिस्तानका पाँच स्थानमा कायरतापूर्वक आक्रमण गरेको छ । पाकिस्तानलाई यस युद्धकार्यको कडा जवाफ दिने पूरा अधिकार छ र जवाफ दिइँदैछ ।’ उनले पाकिस्तानका सम्पूर्ण जनता पाकिस्तानी सेनासँग एक भएर उभिएका र देशको मनोबल उच्च भएको पनि उल्लेख गरेका छन् ।

पाकिस्तानका प्रधानमन्त्रीले भनेका छन्, ‘पाकिस्तान र पाकिस्तानी सेनालाई थाहा छ कसरी दुश्मनसँग व्यवहार गर्नुपर्छ । हामी कहिल्यै पनि शत्रुलाई उसको उद्देश्यमा सफल हुन दिनेछैनौं ।’

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले आतंकवादी ठेगानामा आक्रमण गरेको प्रचार गरे पनि सर्वसाधारण नागरिकको बस्तीमा आक्रमण भएको बताएका छन् । भारतको आक्रमणबाट एक महिला र एक बच्चा समेत मारिएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय मिडियाहरुलाई घटनास्थलमा आएर हेर्न अनुरोध पनि गरेका छन् ।

उनले भनेका छन्, ‘उनीहरूले (भारतले) दाबी गरेका छन् कि आतंकवादी ठिकानाहरूलाई निशाना बनाएका छन् । म अन्तर्राष्ट्रिय मिडियालाई आग्रह गर्छु कि ती सबै स्थानहरू आफैं आएर हेर्नुहोस् ती आतंकवादी ठिकाना थिए वा नागरिक बस्ती । ती ठाउँहरूमा हाम्रो दुईवटा मस्जिद पनि थिए । एक बालक शहीद भएको छ, एक महिला शहीद भएकी छन् । मसँग हाल मृत्युसंख्या अपडेट छैन । तर यी सातवटा पुष्टि भएका टार्गेटमध्ये दुई कश्मीरमा र पाँच पाकिस्तानमा छन् । यी सबै निशाना नागरिक बस्तीमा थिए ।’

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले पाकिस्तानमा गरेको आक्रमणलाई ‘लाजमर्दो’ भनेर टिप्पणी गरेका छन् ।

‘हामीले यसबारे भर्खरै मात्रै थाहा पाएका हौं, जब हामी ओभल अफिसमा प्रवेश गर्दै थियौं,’ ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘केवल यति चाहन्छु, यो लाजमर्दो छ । यस्तो (लडाइँ) चाँडै सकियोस् ।’
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भारत र पाकिस्तान दुवैलाई संयमित हुन आह्वान गरेका छन् ।

नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाहीप्रति चिन्ता व्यक्त गर्दै उनले भनेका छन्, ‘महासचिवले दुवै देशलाई बढीभन्दा बढी संयम अपनाउन आह्वान गर्नुभएको छ । संसारले अर्को भारत–पाकिस्तान सैन्य टकरावको जोखिम उठाउन सक्दैन ।’

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार