काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा देशको वर्तमान अवस्था र विकसित राजनीतिक घटनाक्रमका विषयमा गम्भीर छलफल भएको बताइएको छ ।
प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री ओलीबीच भएको भेटवार्तामा तत्कालिन केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमति लागू गर्ने विषयमा समेत छलफल भएको र ३ बुँदे सहमति कार्यन्वयन गर्न थप गृहकार्य अगाडि बढाउने समझदारी समेत भएको बताइएको छ । यसैगरी भेटवार्तामा जनपहल, जनसंघर्ष र जनपरिचालनको माध्यमबाट परिवर्तनको दिशालाई अगाडि बढाउने समझदारी समेत भएको बताइएको छ ।
स्मरणीय छ, २०७७ फाल्गुन २१ गते तत्कालिन केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमतिमा दुवै पक्ष–नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरु वार्ता तथा सम्वादबाट समाधान गर्न, नेपाल कम्युनिष्ट पार्टी आफ्ना सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा संचालन गर्न र नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको थियो । यो सहमतिको नेपाल कम्युनिस्ट पार्टीले अक्षरश : पालना गरेपनि सरकारले भने पूर्णरुपमा कार्यान्वयन गरेको छैन ।