पुर्ण पौडेलको स्मरणमा `बेपत्ता पारिएका २३ बर्ष´ बिषयक् कार्यक्रम सम्पन्न 

पोखरा ।  अखिल नेपाल विद्यार्थी युनियन( क्रान्तिकारी)का तत्कालीन महासचिव पुर्ण पौडेललाई बेपत्ता पारिएको २३ औं बर्षको सन्दर्भमा अन्तर्कृया सम्पन्न भएको छ। पुर्ण पौडेल प्रतिष्ठानले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रमका बक्ताहरुले महान सहिद पौडेलको क्रान्तिकारी स्वभाव, निष्ठा र लक्ष्यप्रतिको इमानदारीता जस्ता गुणहरु अनुकरणीय रहेको स्मरण गर्दै बेपत्ता पारिएकाहरुको स्थिति सार्वजनिक गर्ने काममा राज्य गैरजिम्मेवार र उदासिन रहेको आरोप लगाए ।

बेपत्ता परिवार समाजका अध्यक्ष एवम् बरिस्ठ अधिबक्ता एकराज भण्डारीले पुर्ण पौडेल जुझारु र अत्यन्तै प्रतिभावान लिडर भएको भन्दै बेपत्ता योद्धा सार्वजनिक गर्ने विषय राजनीतिक विषय भएकोले यसबारे राज्य र सरकार गम्भीर हुनुपर्नेमा उल्टै सरकार उदासिन मात्र होइन उक्त बिषयलाई टुङ्ग्याउन नचाहेको बताए।उनले संविधानमा बेपत्ता योद्धाको स्थिति सार्वजनिक गर्ने र पीडितलाई न्याय दिनेदेखि दोषीलाई कारबाही गर्ने प्रावधान भएको तर त्यसको कार्यान्वन नभएको र नहुने स्थिति रहेको तर्क गर्दै अब राजनीतिक दलहरूले दलाल पुँजीवादको विकल्पमा समाजवादको कार्यान्वयनलाई अघि बढाउनु पर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले आफू २०५१ सालमा पृथ्वी नारायण क्याम्पसमा स्वबियु सभापति हुँदा सहकार्य भएको स्मरण गर्दै पुर्ण पौडेल अत्यन्तै हिम्मतिलो विद्यार्थी नेता भएको बताए ।मन्तव्यको क्रममा उनले संकटकालमा आफू एमाले भए पनि जनयुद्धमा सहयोग गरेको उल्लेख गर्दै अब सबै कम्युनिस्टहरु एक ठाउँमा आएर सामाजिक परिवर्तनको यात्रा अघि बढाउनुपर्ने बताए ।

माओवादी केन्द्रका कास्की इन्चार्ज नेत्रनाथ अधिकारी ( हिमाल) ले धौलागिरी र कास्कीमा रहँदा पुर्णसंग लामो सहकार्य गरेको ,कास्कीमा पुर्ण , बिजय ढकाल लगायत नेता भएको भए माओवादी आन्दोलन धेरै माथि पुग्ने भन्दै सहिद बेपत्ताको सपना पुरा गर्न सबै इमानदार हुनुपर्ने बताए ।

त्यस्तै नेकपा पोलिटब्युरो सदस्य राजन सीले आफूले पुर्ण पौडेलसङ्ग गरेको सहकार्यलाई सम्झदै बिगतमा उनले विद्यार्थी मात्र होईन सेना र युवाको समेत गरी समग्र भुमिका खेलेको भन्दै अहिले प्रतिगमनकारीहरु सल्बलाउन खोजेको स्थितिमा पश्चगमन होइन अग्रगमनको पक्षमा सबै एक ठाउँमा उभिनु पर्ने बेला आएको बताए ।

त्यस्तै सहिद परिवार तथा बामपंथी नेता शिव खनालले २०४६/०४७ देखि नै आफूले पुर्ण र उनको परिवारसंग सहकार्य गरेको भन्दै जनयुद्ध सुरु हुनुअघि र जनयुद्ध माथि उठाउनेमा उहाँहरुको महत्वपूर्ण भुमिका भएको बताए ।

सहिद बिजय ढकालकी बहिनी सृजना ढकालले

पुर्ण दाइ र बिजय दाइ एकदम मिल्ने साथि भएको, उहाँहरु घर आउँदा पटकपटक भेटघाट भएको र आन्दोलनमा समेत संगै होमिएको स्मरण गर्दै भावुक भएर मन्तव्य राखेकी थिइन् ।

बेपत्ता योद्धा पुर्ण पौडेलकी जीवनसाथी एवम् नेकपा पोलिटब्युरो सदस्य साबित्रा सी ( आस्था )ले २०५० सालमा पिएन क्याम्पसबाट पुर्णसङ्ग सहकार्यको यात्रा सुरु भएको, क्रान्तिकारी आन्दोलन र बैचारिक राजनीतिक उदेश्यको आधारमा आफूहरुबिच प्रेम र बिबाह भएको स्मरण गर्दै भावुक भएकी थिइन् ।मन्तव्यको क्रममा उनले पुर्ण पौडेल अत्यन्तै दुख र अफ्ट्यारो स्थितिमा पनि पार्टी र क्रान्तिप्रति सधै समर्पित ,सरल, इमानदार , साहसी र बहुप्रतिभाशाली रहेको भन्दै सहिद र बेपत्ता परिवारको सपना पुरा गर्न निरन्तर यात्रामा अगि बढिरहेको बताइन् ।

कार्यक्रममा पुर्ण पौडेलका स्कुल , क्याम्पसका सहपाठी, धौलागिरी , गण्डकी र विद्यार्थी महासचिव हुँदा सहकार्य गरेका राजनीतिककर्मीहरुले विभिन्न कालखण्डमा काम गर्दाको अनुभूति राख्दै परिचर्चा गरेका थिए भने कार्यक्रममा पुर्णसंग जनयुद्धमा सहकार्य गर्नुहुने राम विवससले `तिमि नहुँदा´ भन्ने शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो ।

माओवादी आन्दोलनमा सहभागी नेताकार्यकर्ता , पौडेलकी आमा मोती माया लगायत परिवार तथा आफन्तजनको बाक्लो उपस्तिथि भएको उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष केदार पौडेलले गरेका थिए भने बेपत्ता योद्धा चमनलाल बरालकी छोरी संगिता बरालले मन्तव्यद्वारा स्वागत गरेको कार्यक्रमको सञ्चालन पुर्ण पौडेलकी बहिनी, नेकपा (माओवादी केन्द्र) नेतृ तेजकुमारी पौडेलले गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार