अरुसित भिक मागेको खाएर युद्ध जितिन्न : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी का महासचिव विप्लव सीले  राष्ट्रको वास्तविक स्वतन्त्रता, समृद्धि र परिवर्तनका लागि आत्मनिर्भरता अनिवार्य शर्त भएको बताएका छन ।

काठमाडौंमा आयोजित १५६औं लेनिन जयन्ती र नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा नेकपा केन्द्रीय समितिले बृहत ध्रुवीकरण कार्यक्रममा बोल्दै महासचिव विप्लवले परनिर्भर मानसिकता र विदेशी सहायता माथिको आश्रित प्रणालीले देशलाई कमजोर बनाएको धारणा राखे। उनले भने, “अरुसित भिख मागेको खाएर युद्ध जितिन्न। युद्ध जित्नलाई त आफैमा आत्मनिर्भर र सक्षम हुन आवश्यक छ।”

उनले आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रको समुन्नतिका लागि नेपाली जनताले अब परनिर्भरताको परम्परा त्याग्नुपर्ने आवश्यकता औंल्याए। विप्लवले थप भने, “अरु देश वा राष्ट्रसँग मागेर खाने परम्परा गलत हो। अब हामी आफै गरेर खान सिक्नुपर्छ।”

महासचिव विप्लवले आत्मनिर्भर अर्थतन्त्र, स्वदेशी उत्पादन र श्रमको सम्मानमा आधारित समाज निर्माण गर्नुपर्नेमा जोड दिए। उनले नेपालजस्तो समृद्ध प्राकृतिक स्रोत साधन भएको देशले आफ्नो आवश्यकता आफैं पूरा गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताए।

उनले राजनीतिक क्रान्तिको लक्ष्य पूर्ण रुपमा तब मात्र सार्थक हुने उल्लेख गरे जब जनता आर्थिक र वैचारिक हिसाबले पनि स्वतन्त्र र सक्षम बन्छन्। विप्लवले नेपाली जनतालाई स्वाभिमानी, उत्पादक र सिर्जनशील बन्न आह्वान गर्दै वैदेशिक अनुदानमा टेकेर बाँच्ने प्रवृत्तिको विरोध गरे।

कार्यक्रमको सहजीकरण नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड सीले गरेका थिए। उनले पार्टीको ऐतिहासिक पृष्ठभूमि, लेनिनको योगदान र आजको सन्दर्भमा कम्युनिस्ट आन्दोलनको भूमिकामाथि प्रकाश पार्दै लेनिनको सिद्धान्त र विचारमा आधारित राष्ट्रिय मोडेल आवश्यक रहेको बताउँदै नेपाली जनताले आत्मनिर्भर समाज निर्माणको बाटो समात्नुपर्ने बताएका छन ।

कार्यक्रममा ध्रुवीकरण भएका कमरेडहरुले समेत आत्मनिर्भरताको बाटो समाउने र स्वदेशमै रोजगारी र उत्पादन प्रणाली विकास गर्नुपर्नेमा सहमति जनाएका थिए।

कार्यक्रममा विभिन्न स्थरका नेताहरू, कार्यकर्ताहरू र बुद्धिजीवीहरुको उल्लेखनीय उपस्थिति थियो भने २ दर्जन भन्दा बढी नेता कार्यकर्ताहरु नेकपामा समाहित भएका थिए

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार