काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ स्थित पासीकोटमा नेपाल कम्युनिष्ट पार्टीद्वारा आफ्नै उत्पादनमा सुरु गरिएको सी व्यापार केन्द्रको उद्घाटन पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गरेका छन।
सी व्यापार केन्द्रमा पुगेका अन्य पार्टीका दर्जनौ नेता नेकपाको प्रसंसा गरेर थाकेनन् नेताहरु ! कैचीले रिबन काटेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, महासचिव विप्लव सीले सी व्यापार केन्द्रको उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्वप्रधानमन्त्री नेपालले विप्लवले गरेको उत्पादनबाट सबैले सिकून् भन्ने शुभकामना व्यक्त गरे । उनले नेपाल कम्युनिष्ट पार्टीले उत्पादनसंगै सी व्यापार केन्द्रको नयाँ यात्रा सुरु गरेकोमा धन्यवाद दिदै सफलताको शुभकामना व्यक्त गरे पूर्वप्रधानमन्त्री नेपालले कम्युनिष्ट पार्टीका नेताहरुमा श्रम संस्कृतिसहित देश बनाउने चिन्ता नहुदा सत्ताको दुरुपयोग गर्ने प्रवृति हावी भएको टिप्पणी गरे ।
उनले भने, ‘नेकपाको श्रम संस्कृति सबैलाई शिक्षा लिन लायक छ, नेपालमा धेरै कम्युनिष्ट नेता प्रधानमन्त्रीहरु भए । कम्युनिष्ट पार्टीका नेताहरुमा देश बनाउने चिन्तन भएन । प्रधानमन्त्रीमा सत्ताको दुरुपयोग गर्ने प्रवृति हावी भयो । कम्युनिष्ट नेताहरु सत्ताको दुरुपयोगबाट बाहिर जानुपर्छ । श्रम संस्कृतिसंग नजोडिएसम्म देश बन्दैन ।’
पूर्वप्रधानमन्त्री नेपालले एउटा कम्युनिष्ट पार्टीको नेता आफै उत्पादनमा संलग्न हुँदै श्रमसंग उत्साहित भएर नेता कार्यकर्तालाई उत्पादनमा लगाउनु आफैमा नयाँ काम भएको भन्दै यो जीवनयापनसंगै राष्ट्रिय उत्पादनसंग जोडिएको कुरा हो भने । ‘केही नयाँ काम गरौं, आवश्यक छ भन्ने विप्लवको विचार र पहल सकारात्मक हो’ उनले भने, ‘मैले विप्लवले गरेको उत्पादन, उत्पादन गर्ने नेता कार्यकर्तालाई मात्र वितरण गर्ने र बचेको पार्टीको आम्दानी गर्ने हो कि सोचेको थिए । तर यो जनतासम्म लिने रहेछ, सी व्यापार केन्द्रले नयाँ सन्देश दिएको छ । यसले क्वालिटी देहोस्, जनतालाई जोडन सकोस् । सबै कम्युनिष्टहरुले यसबाट सिक्नु पर्छ, विदेशीने युवा शक्ति पनि नेपालमा रोक्नुपछ ।’
उनले नेपालको राज्यले नेपालको श्रोत साधनहरुलाई जनताको हितमा प्रयोग गर्न सके कुनै पनि नेपाली विदेश पलायन हुनु नपर्ने र नेपाल विश्वको धनी देश बन्न सक्ने विश्वास व्यक्त गरे । सी व्यापार केन्द्रमा नेकपाले उत्पादन गरेको अर्गानीक चामल, दाल, तेल, मह, चिया, लगायतका विभिन्न खाद्य सामग्रीदेखि सरसफाई सम्बन्धि विभिन्न सामग्रीहरु राखिएको छ । नेकपाको सी व्यापार केन्द्रले सस्तो र क्वालिटी वस्तु उपभोक्ताको चुलोसम्म पुर्याउने प्रतिबद्धता जनाएको छ ।
उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु नेकपाका अध्यक्ष ऋषिराम कट्टेल, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, नेपाल समाजवादी पार्टीका सह(अध्यक्ष गंगानारायण श्रेष्ठ लगायतले बोल्दै विप्लवको कृषि क्रान्ति सबैले अनुकरण गर्न लायकको भएको भन्दै प्रसंसा गर्दै सफलताको शुभकमना दिएका छन ।
नेकपाका महासचिव विप्लव सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्ड सी, नेकपाका अन्य स्थायी समिति सदस्य, केन्द्रीय नेता, कार्यकर्ता, सहिद परिवार, वेपत्ता परिवारसहित उल्लेख्य जनताहरुको सहभागिता रहेको थियो । सी व्यापार केन्द्र एउटा कम्युनिष्ट आन्दोलनमा नेकपाले सुरु गरेको नयाँ मोडेल भएको र यसले देशको अर्थतन्त्रमा पनि योगदान पुर्याउन सक्ने अनुमान गरिएको छ ।