काठमाडौं । एउटा पदमा उम्मेदवारी दिएका व्यक्तिको नाम अर्कै पदमा राखेर नामावली सार्वजनिक भएपछि अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चयन प्रक्रिया विवादित भएको छ ।
अखिल क्रान्तिकारीको महासचिव पदमा उम्मेदवारी दिएका रोशन खड्काको नाम उपाध्यक्षमा राखेर नामावली सार्वजनिक भएपछि विवाद भएको हो ।
निर्वाचन आयोगले धाँधली गर्न खोजेको विद्यार्थीहरुको आरोप छ । अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चयन गर्नका लागि अनलाइनमार्फत् उम्मेदवारी दर्ता माघ ८ गतेदेखि सुरु गरिएको थियो । गएराति प्रकाशित नामावलीमा महासचिवमा उम्मेदवारी दिएका खड्काको नाम खुला उपाध्यक्षमा देखिएको छ ।
आज अन्तिम नामावली प्रकाशित हुने र भोलि नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गर्ने तालिका छ ।
अखिल क्रान्तिकारीको अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा प्रचण्ड पक्ष निकट विजयप्रकाश शर्मा सापकोटा, जनार्दन शर्मा निकट हेमन्त राई, वर्षमान पुन निकट सुदीन पौडेल, नारायणकाजी श्रेष्ठ निकट उपदेशकुमार यादव, देव गुरुङ निकट विश्वमणि थापा र कृष्णबहादुर महरा निकट योगन्द्रबहादुर बुढा उम्मेदवार छन् । उनीहरुले पदाधिकारीमा अघोषित प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन ।