‘क्रान्तिको झण्डा ढलेको बेला क्रान्तिको झण्डा उठाएको दिन मंसिर ८’

नेपाल कम्युनिष्ट पार्टीले आफ्नो ११ औं पार्टी पुनर्गठन दिवस मंसिर ८ गते देशभर भव्य रुपमा मनाईदैछ । यता नेपाल कम्युनिष्ट पार्टी कालिकोटले पनि पार्टी पुनर्गठन दिवस एउटा उत्सवको रुपमा मनाउन लागेको छ । जिल्लाको आरसीपी बजारमा भव्य जनसभाको आयोजना गरेको छ । जनयुद्ध र एकीकृत जनक्रान्तिको आधार क्षेत्र कालिकोट जिल्लामा पार्टी पुनर्गठन दिवस मनाउदै गर्दा जनतामा नयाँ उत्साह थपिएको छ ।
खासगरी शान्ति प्रक्रियापछि माओवादीको मुख्य नेतृत्वमा विचलन देखिएको भन्दै बैद्य र विप्लवले प्रचण्डवाट २०६९ सालमा पहिलो पटक पार्टी पुर्नगठन गरेका थिए । त्यसपछि बैद्यवाट पनि सोचे जस्तो नभएपछि विप्लवले २०७१ साल मंंसिर ८ गते दोस्रो पटक पार्टी पुनर्गठन गर्नु भयो । पार्टीको आठौं महाधिवेशनवाट पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्नु भयो । आज यो दिनलाई नेकपाले उत्सवको रुपमा मनाउन थालेको हो । तर पार्टी विभाजनको दिनलाई उत्सवकै रुपमा किन मनाउनु पर्यो ? कतिपयको प्रश्नपनि छ ।
आखिर जे भएपनि यो पार्टी पुनर्गठन भएको १० बर्ष पुरा भएर ११ वर्ष प्रवेशमा छ । यो पार्टी पुनर्गठनले नेपाली कम्युनिष्ट आन्दोलनमा कस्तो प्रभाव पर्यो त ? १० बर्षमा यो पार्टीका राम्रा र नराम्रा पक्ष केकति रहे ? आदि समसामयिक विषयमा नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्लाका इन्चार्ज विवेक सीसंग पत्रकार वसन्त विकले लिएको अन्तरवार्ता यहाँ प्रस्तुत गरेका छौ ।

तपाई नेकपाको केन्द्रीय सदस्य तथा कालिकोट जिल्लाको इन्चार्ज हुनुहुन्छ, कालिकोटमा मंसिर ८ गतेको पार्टी पुनर्गठन दिवस कसरी मनाईरहनु भएको छ ?

कालिकोटमा नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक ११ औं पुनर्गठन दिवस भव्य र सान्दार रुपमा मनाउदै छौ । जसमा मंसिर १ गते देखि जिल्लाका सबै गाउँ नगर र वडासम्म प्रचार प्रसार गरेका छौ । भित्ते लेखन गर्ने, पोष्टर पम्पलेट टाँस्ने, सामुहिक तथा व्यक्तिगत घरदैलो गरेर प्रचार प्रसार पनि गरेका छौ । जसका कारण जनताहरु उत्साहित भएर ८ गते रास्कोटको आरसीपी बजारमा गर्न लागिएको जनसभामा सहभागी हुन लालहित छन । पुनर्गठन दिवस मनाउन प्रत्येक वडा तथा गाउँमा स्थानीय कलाकारहरुले आफ्ना झाँकी र देउडाहरु तयारी गरेका छन । पन्चेवाजा सहित झण्डा र व्यानरका साथ र्रयाली निकालेर जनसभामा सहभागी हुने तयारी छ । जिल्लाभरीको जनशक्ति केन्द्रीत भएको छ । अन्य राजनीतिक दलका नेताहरुलाई पनि पत्र मार्फत निम्तो दिएका छौ । यसरी जनसभाको भव्य तयारी सहित शुभकामना आदान प्रदान गरेर मनाउदैछौ ।

यो दिवसलाई कालिकोटे जनताले कुन रुपमा लिएका छन ?

यो दिवसलाई कालिकोटे जनताले उत्सवको रुपमा लिएका छन । जनताका लागि हर्ष र उत्लासको दिन हो । किन भने कालिकोट जिल्ला सामाजिक दलाल व्यवस्थावाट उत्पीडनमा परेको जिल्ला हो । राज्यका हरेक गलत रवैयाका विरुद्ध प्रतिवाद गर्दै, विद्रोह गर्दै र लड्दै आएको जिल्ला हो । त्यसैले हरेक न्यायपूर्ण आन्दोलनमा कालिकोटले अहम भूमिका निर्वाह गर्दै आएको छ । त्यसैले यो दिवस पनि नेपाल र नेपाली जनताको न्याय र स्वतन्त्रताको दिन (मंसिर ८) भएकाले हर्ष र उत्लासको रुपमा हेरिरहेका छन र मनाउने तयारी गरिहेका छन ।

तपाईले व्यक्तिगत रुपमा मंसिर ८ गतेलाई कुन रुपमा सम्झिनु हुन्छ ?

मंसिर ८ गते भनेको निरंकुश राजतन्त्रको अन्त्य गर्ने जनमुक्ति सेनाको नाम घोषणा गरिएको दिन हो । दलाल पुँजीवादी गणतन्त्र अन्त्य गरी नेपालमा वैज्ञानिक समाजवाद हुदै साम्यवादसम्म पुग्ने महान उद्देश्यका साथ यहि दिनमा क्रान्तिकारी पार्टी पुनर्गठन भएको दिन हो । पछिल्लो समय जनक्रान्तिका विरुद्ध जन्मेको प्रतिक्रान्तिका विरुद्धमा विद्रोह गरी एकीकृत जनक्रान्तिको कार्यादिशालाई विस्तार गरेको दिन मंसिर ८ हो । जनयुद्ध,जनआन्दोलन,मधेश आन्दोलन,सबै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको पुरकको रुपमा मंसिर ८ लाई बुझेको छु । मंसिर ८ गतेको ऐतिहासिक निर्णयले श्रमजीवी जनताको लागि नयाँ भविष्य कोरेको छ । यो दिन नेपालमा नेपाली विशेषताको समाजवाद तथा बैज्ञानिक समाजवाद स्थापना गरी छाड्ने एउटा मार्गदर्शकको दिनको रुपमा बुझेको छु ।

यो पार्टी पुनर्गठन भएको १० बर्ष भयो,यसका सफल पक्ष र दुर्वल पक्ष औल्याउदा कसरी समिक्षा गर्नु हुन्छ ?

पार्टी पुनर्गठनको सफल पक्ष र दुर्वलपक्षलाई समिक्षा गर्दा यो पार्टीका सफलपक्ष धेरै छन् । म यहाँ सफल पक्षको यसरी समिक्षा गर्न चाहान्छु ।
(क) विश्वमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई साम्राज्यवादले तिव्र दमन गरिरहेको अवस्थामा नेपालमा पनि त्यसको असर परेको थियो । नेपालका कम्युनिष्ट पार्टीहरुले त्यसको सामना गरी देश र जनताको न्याय र मुक्तिका निम्ति क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई जीवित राख्नुको साँटो उल्टै साम्राज्यवाद सामु घुडा टेकेर क्रान्तिलाई रक्षात्मक अवस्थामा पुर्याएको बेला नेपाल कम्युनिष्ट पार्टीले साहसका साथ साम्राज्यवाद र त्यसका दलालहरुका विरुद्ध क.. विप्लव सीको नेतृत्वमा मंसिर ८ गते जन्मियो । अहिले नेपाली जनतामा आसा र भरोसाको किरण जगाएको छ । साम्राज्यवाद र त्यसका दलाल नोकरहरु डरले थुर थुर काँपेका छन ।
(ख) नेपालमा पुँजीवादी सामाजिक दलाल राज्यसत्ताले नेपाली जनतामाथि राष्ट्रघात,हत्या,लुटपाट, आतंक,भ्रष्टाचार,तष्करी गरिरहेको सर्वविदितै छ । त्यसको विरुद्धमा राष्ट्रिय स्वाधीनताको पक्षमा नेकपाले सशक्त आन्दोलन गर्यो । एमसीसी, एसपीपी विरुद्धको आन्दोलनले पार्टी स्थापित भयो । राज्यको करछलि गर्ने एनसेल जस्ता दलाल कम्पनीहरु विरुद्ध कार्वाही गर्दा पार्टी माथि २ बर्ष प्रतिबन्ध समेत लाग्यो । यसले पार्टीलाई अझै स्थापित गर्यो । जसका कारण नेपाली जनताले नेकपावाट आसा अपेक्षा सहित राहत र न्यायको अनुभूति गरेका छन । यो सफल पक्ष हो ।
(ग) सामान्तवादी सोचले समाजमा जातीय,क्षेत्रिय र लैङगिक विभेद सृजना गरेको थियो । त्यो विभेदलाई जनयुद्धले केही कमी गरेको थियो । जनयुद्धको स्प्रिडलाई निरन्तरता दिदै जनयुद्धको वाकी कार्याभार पुरा गर्ने लक्ष्य उद्देश्य राखेर मंसिर ८ गतेको पार्टी पुनर्गठनको सर्वोउत्कृत निर्णय भयो । पार्टीले आत्मनिभर अर्थतन्त्रलाई सहित समाजवादी क्रान्तिाको कुरा गरेको छ । दलाल र भ्रष्टहरु विरुद्ध कार्वाही गरेको छ । यी तमाम कामले नेकपा बैकल्पिक शक्तिमा स्थापित भएको छ । यो आफैमा सफल पक्ष हो । नेपाली क्रान्ति र कम्युनिष्ट आन्दोलनको रक्षा र विकासको निम्ति मंसिर ८ आफैमा अत्यन्तै सफल निर्णय हो ।
यहाँ दुर्वल पक्षको जहाँसम्म कुरा छ, मेरो अध्ययनमा सैद्धान्तिक रुपमा फुट भन्ने शव्द तितो रुखो र नमिठो हुन्छ । त्यसैले जनतामा अलि पुनर्गठनको आवश्यकता नबुझदा केही समय माओवादी आन्दोलनमा निरासा पैदा गरायो । यत्तै नै यसको दुर्वल पक्ष हो । कुरा बुझदै जाँदा त्यो पनि दुर भयो ।

पार्टीका संश्लेशित विचारहरु,एकीकृत जनक्रान्तिको कार्यदिशा जनतासंग नजोडिदा नेकपाप्रति हुनु पर्ने जनआकर्षण पैदा नहुदा रवि वालेनहरु जन्मिएका हुन भनिन्छ नि ! के हो ?

पार्टीका संश्लेशित विचारहरु जनतासंग नजोडिदा जनआकर्षण भएन भन्ने कुरा वाहिर चर्चामा आएजति होईन । तर पनि केही अभाव रहेका छन । तीनलाई पुरा गर्नुपर्छ । हामी अपुग कुरा पुरा गर्ने स्प्रिडमा छौ । जनआकर्षण अरु पार्टी भन्दा हाम्रो पार्टीमा छ । किन भने हाम्रो पार्टी नेकपा यो देशको वैकल्पिक उदयमान शक्ति हो । किनकी यो उत्पादन सहितको समाजवादी क्रान्तिमा छ । यसप्रति जनताको माया छ । जहाँसम्म रवि र वालेनको कुरा छ, ति हाम्रो पार्टीका कारणले भएका होईनन् । कारण त दलाल नालायक राज्यसत्ताका संचालकहरु र साम्राज्यवादको कारणले हो । अनि जनताको यो व्यवस्थाप्रतिको उकुस मुकुसको आपतकालिन अवतरण हो । अब जनताले रवि र वालेनलाई बुझिसकेका छन । आउने ०८४ को चुनावमा फरक परिणाम आउनेछ ।

अनि माओवादीहरु बेला –बेला टुटफुट हुने कुराको निरन्तरता मंसिर ८ पनि भयो, यसलाई कसरी उत्सवको दिन मान्न सकिन्छ ? भन्नेहरु छन कसरी जवाफ दिनु हुन्छ ?

कम्युनिष्ट पार्टीहरुको टुटफुट र विभाजनले जनतामा केही निरासा छाएको सहित हो । विश्वासको संकट पनि परेको छ । तर सबै पुनर्गठन निरासाजनक हुदैनन् । केही फुटहरु राम्रै भएका उदाहरणहरु छन । जस्तैः मोहनविक्रमवाट यदि मोटो मशालको रुपमा किरण प्रचण्डहरुले पार्टी नफुटाएको भए जनयुद्ध हुदैन थियो । नेपालमा अहिलेको पुँजीवादी गणतन्त्र आउदैन थियो र राजतन्त्र अन्त्य हुदैन थियो । यस्तै सबै एकतापनि राम्रा हुदैनन् यो कुरा पनि बुझनु पर्छ । जस्तैः प्रचण्डको माओवादी र केपी ओलीको एमाले एकताबद्ध भएका होईनन र ! के भयो ? खै आज कता पुग्यो एकता ? यो कुरा बुझन सक्नु पर्छ । त्यसैले हाम्रो पार्टी नितान्तै नयाँ भिजन ल्याएर देश र जनतालाई मुक्त गर्ने सपना बुनेर आएको छ । शान्ति प्रक्रिया पछि माओवादी आन्दोलनले खाएको धोकाबाट माथि उठेर अधुरो क्रान्ति पुरा गर्नका लागि पुनर्गठन भएको हो । त्यसैले मंसिर ८ गते श्रमजीवी वर्गका लागि हर्ष उत्साहको दिन हो भने दलाल पुँजीपति वर्गका लागि मृत्युको दिन हो ।

खासमा विप्लवले सुरुमा प्रचण्ड र पछि वैद्यवाट पार्टी अलग गरेर नेकपा पुनर्गठन गर्नु भयो, यो गर्नैपर्ने अवस्था किन आयो ?

प्रचण्ड र वैद्यवाट पार्टी पुनर्गठन गर्नै पर्ने अवस्था हामीले यसअघि पनि धेरै सञ्चारका माध्यमवाट प्रष्ट पार्दै आएका छौ । कमरेड प्रचण्डले जनयुद्ध र जनआन्दोलनको मुख्य मुल्य मान्यतालाई त्यागी संसदीय व्यवस्थाकै रक्षा गर्ने लाईनमा फस्नु भयो । देश,जनता र पार्टी क्रान्तिलाई धोका दिनु भयो । अनि वैद्य कमरेडले क्रान्ति गर्न सक्नु भएन । त्यसैले विप्लवको नेतृत्वमा जनताको प्रतिनिधित्व गर्ने पार्टी नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन गर्नु पर्ने अवस्था आयो । अहिले छोटो रुपमा यति भन्न सकिन्छ ।

आखिर अहिले प्रचण्डसंग पार्टी एकताको कुरा चलिरहेको छ, के प्रचण्ड विगतमा विग्रिएको र अहिले एकाएक सुध्रिएको हो वा के भएको हो ?

कमरेड प्रचण्ड विगतमा धेरै विग्रिएको र अहिले एककाएक सुध्रिएको भन्दा पनि देश, काल र परिस्थितिको आवश्यकतालाई मध्यनजर गरेर साम्राज्यवादले नेपाललाई थिलो– थिलो पारेको बेला माओवादीहरुको रुपान्तरण सहितको एकताको आवश्यकता ठानिएको हो । यदि रुपान्तरण हुन सकेनन् भावी गर्ने काम कुराको पोजिसन अथवा निर्णय स्पष्ट हुन सकेन भने एकता नहुन पनि सक्छ । माओवादी केन्द्र मात्र होईन नेपालमा साँच्चीकै समाजवाद ल्याउने हो भने सबै कम्युनिष्टहरु एक हुनुपर्छ भन्ने हाम्रो पार्टीको धारणा छ । माओवादी घटकको हकमा पुरानो ठाउँवाट होईन नयाँ र रुपान्तरण सहितको एकताको कुरा चलेको हो । त्यो विना एकता असम्भव छ ।

पछिल्लो समय क.विप्लव पनि संसदीय राजनीतिमा आउन थाले पार्टी पुनर्गठनको औचित्य पुष्टि भएन भन्छन नि के भन्नु हुन्छ ?

कमरेड विप्लव संसदीय राजनीतिमा आउन थाले र पार्टी पुनर्गठनको पुष्टि हुन सकेन भन्ने कुरा विपक्षहरुको निराधार आरोप हो । जनताले यस्तो आरोप लगाएका छैनन् र लाउदैनन् पनि । किन भने कमरेड विप्लव बरु बलिदान गर्नु हुन्छ, संसदीय व्यवस्थामा कहिल्यै फर्किनु हुदैन यो हामीलाई पूर्ण विश्वास छ । यसलाई विप्लवका तमाम उदाहरणहरुले प्रष्ट्याएको छ । यसमा कोही भ्रमित छैनन । अहिले नेकपाले कम्युनिष्ट आन्दोलनमा खट्किएको विचारको हल दिएको छ । दर्शन,अर्थशास्त्र र बैज्ञानिक समाजवादका क्षेत्रमा नयाँ विचार संश्लेषण गरेको छ । सी संस्कृतिको सुरुवात गरेको छ । यो कम्युनिष्ट संस्कार हो । विश्वका कम्युनिष्टहरुले दिन नसकेको समाधान नेकपाले दिएको छ । यो कुराले पुनर्गठनको सान्दार पुष्टि गरेको छ ।
बरु बुझनेले बुझेका छन । हामीले १० बर्ष अघि नै संसदीय व्यवस्था फेल भयो यो व्यवस्थाले काम गर्दैन भनेका थियौ, त्यो आज पुष्टि भएको छ । हाम्रो पार्टी संसदीय व्यवस्थाको पूर्ण खिलाममा छ त्यो पुष्टि भएकै छ । अहिले यो दलाल व्यवस्थाको कार्यपालिका,न्यायपालिका र व्यवस्थापिका सबै फेल भएका छन । संकट बढदै गएको छ । व्यवस्थाको विकल्पको वहस हुन थालेको छ । यो भनेको हामीले भनेको कुरामा देश गइरहेको छ । जनतालाई हैरान परिसान पारिएको छ । दलालहरुले राष्ट्रघात गरेका छन । यहि त हो पुष्टि अरु पुष्टि खोज्न कहाँ जानु र ।

मंसिर ८ लाई नै पार्टी पुनर्गठन दिवस मनाएर नेकपाले दिन खोजेको वास्तविक सन्देश के हो ?

मंसिर ८ एउटा ऐतिहासिक दिन हो । जुन दिन नेपाली जनताको प्रतिनिधित्व गर्ने पार्टी बनेको दिन हो । जनयुद्धको धोकाले घाईते भएका जनता र क्रान्तिकारीहरुलाई आसा जगाउने र मुक्तिको बाटो देखाउने दिन हो । यो दिन निरंकुश राजतन्त्रलाई अन्त्य गर्ने अभियानमा जनयुद्ध लडेका जनसेनाहरुलाई जनमुक्ति सेनाको नाममा घोषणा गरिएको दिन पनि हो । क्रान्तिको झण्डा ढलेको बेला क्रान्तिको झण्डा उठाएको दिन पनि हो । आज भन्दा १० बर्ष अघि २०७१ साल मंसिर ८ गते हाम्रो पार्टीका आदरणीय महासचिव कमरेड विप्लवको नेतृत्वमा पार्टी पुनर्गठनको घोषणा भएको हो । जनताको मुक्तिको लागि पार्टी घोषणा भएको दिन भएकाले यसको आज पनि महत्व र भूमिकामा कुनै कमी छैन । त्यही भएर यो दिनलाई नेकपाले यही सन्देशको रुपमा दिन चाहान्छ ।

अन्तमा, कालिकोटे श्रमजीवी जनता र सबैलाई के भन्न चाहानु हुन्छ ?

कालिकोटका आम श्रमजीवी जनतालाई हामीले धेरै भन्नु त केही छैन,आफै दलाल व्यवस्थाको उत्पीडन भोगिरहेका छन । विद्रोह र क्रान्तिको अनुभव पनि भोगेका छन । क्रान्तिमा योगदान पनि त्यत्तिकै गरेका छन । यो दलाल संसदीय व्यवस्था रहेसम्म समाजमा शोषण,दमन, अन्याय, अत्याचार, जातीय,क्षेत्रीय, लैङगिक विभेद,राष्ट्रघात,जनघात र भ्रष्टाचार भइरहनेछ । यसवाट मुक्त हुनको लागि देशमा नेपाली विशेषताको वैज्ञानिक समाजवाद अनिवार्य भईसकेको छ । हामी सबै वैज्ञानिक समाजवाद स्थापनाका लागि एक पटक साहासका साथ जुटौं र लागौं भन्न चाहान्छु । साथै नेपाल कम्युनिष्ट पार्टीको ११ औं पुनर्गठन दिवसका अवसरमा पार्टीका आदरणीय महासचिव कमरेड विप्लव सी सहित सिंगो पार्टीको तर्फबाट कालिकोटे जनता,पत्रकार मित्र लगायत सबैमा हार्दिक न्यानो शुभकामना व्यक्त गर्न चाहान्छु । ज्वाला खवर डट्कमवाट

 

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार