नेपाल कम्युनिष्ट पार्टीको पार्टी पूनर्गठन दिवस मंसिर ८ गते आईपुग्दैछ । देशभर नेकपाले मंसिर ८ गतेलाई उत्सवको रुपमा मनाउने तयारी गरेको छ । माओवादी शान्ति प्रक्रियामा आईसकेपछि त्यसको नेतृत्व जनयुद्धको लक्ष्य र उद्देश्यबाट विचलनतिर गएको मत राख्दै मोहन बैद्य (किरण) र विप्लवको विशेष पहलमा २०६९ साल असारमा पहिलो पटक माओवादी क्रान्तिकारीहरुको पूनर्गठन गरेर पार्टीको नाम नेकपा – माओवादी राखिएको थियो । त्यसपछि बैद्यको नेतृत्वमा क्रान्ति अगाडि जाहोस भन्ने चाहाना विप्लवको थियो । तर बैद्यसंगको अपेक्षा पनि पुरा नहुने देखेर विप्लवले आफ्नै नेतृत्वमा २०७१ साल मंसिर ८ गते (जनमुक्ति सेना घोषणा दिवस) पारेर नेकपा –माओवादीलाई पूनर्गठन गरे । पार्टीको आठौं महाधिवेशनसम्म पुग्दा पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ मात्र राखेर एकीकृत जनक्रान्तिको नेतृत्व गरे । आज यो पार्टी पूनर्गठन भएको १० बर्ष पुरा भएको छ । अब ११ वर्ष प्रवेशमा जादैछ । यो पार्टी पूनर्गठनको दिनलाई नेकपाका नेताहरुले कसरी सम्झिदैछन ? १० बर्षसम्म यो पार्टीले के कस्ता सफलता प्राप्त गर्यो ? भनेर नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सी ‘रणवीर’ संग पत्रकार बसन्त विकले गरेको समसामयिक अन्तरवार्ता यहाँ प्रस्तुत गरेका छौ ।
तपाई नेकपाको स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेशको इन्चार्ज हुनुहुन्छ, मंसिर ८ गतेको पार्टी पूनर्गठनको दिनलाई कसरी सम्झिनु हुन्छ ?
धन्यवाद ! अनपेक्षित क्रान्तिले निरन्तरता पाएको दिनको रुपमा मंसिर ८ लाई सम्झिनु पर्छ । अनपेक्षित यसकारण कि संसारमा नेतृत्वको यो तहबाट क्रान्तिले निरन्ंतरता पाएको प्रायः देखिदैन ।
पार्टी पूनर्गठनको आवश्यकता र औचित्य पुष्टि भएन कि भन्नेहरु पनि छन् यसलाई कसरी पुष्टि गर्नु हुन्छ ?
पार्टी पूनर्गठनको आवश्यकता र औचित्य शानदार रूपमा पुष्टि भएको छ । बरु यसमा २ तथ्य र तर्क छन । पहिलो, पुरानो सत्ता र शासक असफल भएका छन । परिणामतः संविधान संशोधनको बहस छ । दोस्रो, वैकल्पिक विचार – व्यबहार (उत्पादन ) सहित नेकपा स्थापित भएको छ र एकपटक विप्लवलाई हेरौं भन्नेमा जनता छन ।
पार्टी पूनर्गठन भएको यहि मंसिर ८ गते १० बर्ष पुरा भएर ११ बर्ष प्रवेश हुदैछ, यो अवधिमा पार्टीका खास उपलव्धी के के हुन ?
१० वर्षको उपलब्धिलाई हामीले गहिरो गरी बुझ्नु पर्छ । यसलाई बुँदागत रुपमा भन्दा यसरी भन्न सकिन्छ–
१) एकीकृत जनक्रान्तिको संश्लेषण हो । जसले विश्वमा समाजवादी सत्ता र नेपालमा जनयुद्धले खाएको धक्काबाट सिक्दै क्रान्तिको सफलता र समाजवादी सत्ताको निरन्तरताको सापेक्ष निश्चितता गर्छ ।
२) नेकपा वैकल्पिक राजनीतिक शक्तिको रूपमा स्थापित भएको छ ।
३) नेतृत्वको संकटबाट गुज्रिएको हाम्रो देशमा त्यसको हल दिनेगरी विप्लवको नेतृत्व स्थापित भएको छ ।
४) झन्डै १०० वर्षको नेपाली क्रान्तिको इतिहासमा भाग लिएका र योगदान गरेका क्रान्तिकारीहरुको आशा मर्न दिएको छैन र आशावाद जगाएको छ ।
५) भन्ने मात्रै हैन गर्ने पार्टीको रूपमा पहिलोपटक उत्पादन कार्यमा योजनाबद्ध प्रवेश गर्दै आत्मनिर्भर र स्वाधीन हुन प्रेरित गर्न सफल भएको छ ।
यो अवधिमा पार्टीले लिएको लाईन, संश्लेषण गरेका विचार र विकास गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा जनतासम्म पुग्न सकेन कि, जसले गर्दा नेकपाप्रति जनलहर अझै आकर्षित हुन सकेन कि भन्ने प्रश्नहरु उठेका छन नि ! के भन्नु हुन्छ ?
राजनीतिक परिवर्तनका एजेन्डासहित जनतामा पुग्ने पार्टी नेकपा नै हो र अहिले जनताको आकर्षण पनि छ । जहाँसम्म वस्तुगत आवश्यकताको तहमा पुगेको छैन कि भन्ने सवाल छ त्यसमा निराशा खेल्न दिनुहुन्न कि बरु एकीकृत सचेत प्रयत्नलाई अघि बढाउनुपर्छ ।
पार्टी पूनर्गठन दिवस सुदूरपश्चिम प्रदेशमा कसरी मनाउने तयारी छ ?
भ्रष्टाचारको विरुद्ध र रोजगारको पक्षमा धनगढीमा युवा मार्चको मुख्य कार्यक्रम गर्दैछौ । यो सहित सबैतिर दिपावली गर्दै सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा पार्टी पूकनर्गठन दिवस मनाउदैछौ । यो एउटा उत्सवको रुपमा मनाउने हो ।
६) पार्टी पूनर्गठन दिवस उत्सव तथा पर्वको रुपमा मनाउनु पर्छ पार्टीले भन्दै गर्दा यो आम श्रमजीवी जनता सबैको पर्व कसरी हुन सक्ला ?
क्रान्तिहरु जनताको लागि उत्सवहरु हुन भनेर कार्ल मार्क्सले भनेको कुरा बिर्सनु हुदैन । आगामी मंसिर ८ गते उत्सवकै रूपमा पार्टी पूनर्गठन दिवस मनाउदैछौ । तर यो पनि सहि हो कि अधुरो क्रान्तिले आम जनताको पर्वको रुप लिसकेको हुदैन । आज नेपाल यहीँ स्थितिबाट गुज्रिएको छ ।
अन्तमा, पार्टी पूनर्गठन दिवसका अवसरमा आम नेपाली श्रमजीवी जनता, पार्टी नेता तथा कार्यकर्ता र नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिलाई के भन्न चाहानु हुन्छ ?
नेपालमा कम्युनिस्ट– समाजवादी जनमतको रक्षा गर्न र अनावश्यक वैदेशिक हस्तक्षेपबाट देशको रक्षा गर्न देशभक्त परिवर्तनकारी सबै नेपाली एक हुन आवश्यक छ । त्यसको लागि पार्टीको सीमा भन्दा माथि उठेर सोचौं । यो सन्दर्भमा विप्लवले अघि सारेको एकीकृत विचार चार मित्र बर्ग (किसान, मजदुर,मध्यमवर्ग र राष्ट्रिय पुँजीपतिवर्ग) चार मित्र शक्ति (कम्युनिष्ट, समाजवादी, देशभक्त र लोकतान्त्रिक गणतन्त्रवादी) अनि छ मित्र समूदाय (खस आर्य, जनजाति, मधेसी, श्रमिक समूदाय, महिला र मुश्लिम) को प्रस्तावबारे सबैको ध्यानाकर्षण गराउन चाहान्छु । यो संगै पार्टीको ११ औं पूनर्गठन दिवसका अवसरमा सबैमा हार्दिक शुभकामना दिन चाहान्छु । ज्वाला खवर डट्कमबाट