भाद्र २५, काठमाण्डौं । सत्तारुढ दलको बैठकमा उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा कुरा उठेको छ । सोमबार साँझ प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा उनलाई हटाउने विषयमा कुरा उठेको हो । “उक्त विषय प्रधानमन्त्री केपी ओलीले नै उठाएका थिए । तत्काल हटाउने वा के गर्ने भन्ने विषयमा निर्णय नभएको कांग्रेस निकट नेताले भने ” । एमाले निकट नेताहरुको बढी जोड रहेको र यस विषयमा सदनमा समेत कुरा उठेको र सेलाएको कांग्रेस नेताले बताए ।
रास्वपाबाट उपसभामुख बनेकी इन्दिराबारे प्रश्न उठेको र उनलाई हटाएर संवैधानिक परिषद्मा सत्तापक्षलाई बलियो बनाउने एमालेको रणनीति छ ।
संवैधानिक परिषदमा निर्णय गर्न बहुमत सदस्य चाहिन्छ। जसअनुसार प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।
तर सत्ता समीकरणअनुसार प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना सरकारको विपक्षमा रहनेछन । यसो हुँदा दुवैतिर ५०/५० प्रतिशत हुने र निर्णय गर्न कठिन हुने भन्दै एमालेले उपसभामुखलाई निशाना बनाउन खोजेको देखिन्छ ।