५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ दिनको अन्तरमा दुई जनालाई डडेलधुरा अस्पताल विकास समितिको अध्यक्षको नियुक्तिपत्र दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २३ गतेबाट लागु हुने गरी तीन वर्षका लागि लक्ष्मण सिंहलाई अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेका थिए । प्रधानमन्त्री प्रचण्डले १७ वैशाखमा मन्त्रिस्तरीय निर्णय गरेका हुन् ।त्यसको तीन दिनपछि २० वैशाखमा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत स्वास्थ्यमन्त्री भए । त्यसको ६ दिनपछि मन्त्रालयले डडेलधुरा अस्पताललाई समेत बोधार्थ दिएर सिंहलाई अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेको पत्र दिएको थियो ।
तर त्यसको ९ दिनपछि स्वास्थ्यमन्त्री बस्नेतले ३ जेठमा करुणाकर ओझालाई अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरे । मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्री बस्नेतकै जोडबलमा प्रधानमन्त्रीको निर्णय बदर गरेर नयाँ नियुक्ति दिइएको हो ।मन्त्रालयकी जनस्वास्थ्य अधिकृत रोजिना ताण्डुकारको हस्ताक्षर रहेको पत्रमा ‘तपाईंलाई अस्पताल विकास समिति गठन आदेश २०७६ को दफा ३ को उपदफा (२) क बमोजिम डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा ३ वर्ष पदावधि रहने गरी मनोनित गरिएको व्यहोरा जानकारी गराएको छु’ भन्ने उल्लेख छ ।
मन्त्रालयले सिंहको नियुक्ति भने ३ जेठदेखि नै बदर हुने पत्र समेत पठाएको छ ।जबकी अस्पताल विकास गठन आदेश–२०७६ मा अध्यक्ष तथा सदस्यहरुको समयावधि तीन वर्ष हुने भनिएको छ ।
राजीनामा दिएमा, पदावधि पूरा भएमा, मृत्यु भएमा र नेपालको कानुन विपरीत भएमा वा गैह्रकानुनी काममा संलग्न भएको पुष्टि भएमा मात्र पद रिक्त हुने भनिएको छ । दफा ३ को उपदफा ४ मा उपदफा मन्त्रीलाई अध्यक्ष तथा सदस्य हटाउ सक्ने अधिकार दिइएको छ । तर हटाउनु पुर्व स्पष्टीकरणको मौका पनि दिनुपर्ने र हटाउन प्रमाणित कारण उल्लेख गर्नुपर्ने भनिएको छ ।
तर स्वास्थ्यमन्त्री बस्नेतले भने गठन आदेशअनुसार सफाइको मौका नै नदिई सिंहलाई अध्यक्षबाट हटाएर हतारमा मनपरी रूपमा नयाँ अध्यक्ष नियुक्त गरेका हुन् ।