काठमाडौं – शैक्षिक कन्सल्टेन्सीलाई विदेशी विश्वविद्यालय तथा कलेजको ट्युसन फि बुझाउने विद्यार्थीको भविष्य अनिश्चित बनेको छ । नेपाली शैक्षिक कन्सल्टेन्सीलाई ट्युसन फि बुझाएर अस्ट्रेलिया र बेलायतका विश्वविद्यालय तथा कलेजहरुमा अध्ययनका लागि जाने विद्यार्थीको भविष्य अनिश्चित बनेको हो ।
केही महिना अघि अस्ट्रेलिया र बेलायतमा अध्ययनका लागि गएका विद्यार्थीहरुले ट्युसन फि र स्वास्थ्य इन्स्योरेन्सबापतको रकम सस्तो पर्ने लोभमा कन्सल्टेन्सीलाई बुझाएर भिसा आवेदन दिएका थिए । भिसा लागेर अध्ययनका लागि अस्ट्रेलिया र बेलायत गएका विद्यार्थीहरुको ट्युसन फि र इन्स्योरेन्सबापतको रकम फिर्ता भएपछि विद्यार्थीको भविष्य अनिश्चित बनेको शैक्षिक परामर्श व्यवसायीको भनाई छ ।
पैसा बचाउने लोभमा कन्सल्टेन्सीलाई पैसा दिएर गएका विद्यार्थीको ट्युसन फि फिर्ता भएको छ । ह्याकरहरुको समूहले अमेरिकाको ‘अमेरिकन एक्सप्रेस’ नामको क्रेडिट कार्ड ह्याक गरेर नेपाली विद्यार्थीको ट्यसन फि र इन्स्योरेन्स बापतको रकम तिरिदिएका थिए । ह्याकरको समूहमा रहेका नेपालीहरुले नेपालका शैक्षिक कन्सल्टेन्सीहरुलाई प्रलोभनमा पारी विद्यार्थीको ट्युसन फि र इन्स्योरेन्सबापतको रकम क्रेडिट कार्डको प्रयोग गरी तिरिदिएका थिए ।
ह्याकरहरुको समूहले नेपालमा अवैध धन्दा चलाइरहेको एलिएन्स इन्स्योरेन्सका प्रतिनिधिमार्फत शैक्षिक कन्सल्टेन्सी व्यवसायीलाई सम्पर्क गरेका थिए । अस्ट्रेलिया केन्द्रीय कार्यालय रहेको एलियन्स इन्स्योरेन्सले नेपालका तीन कम्पनीलाई मास्टर एजेण्टको लाइसेन्स दिएको छ । उनीहरुमध्ये अस्ट्रेलियन इन्स्योरेन्स सर्भिस एलायन्स (आईसा)ले नेपालमा कार्यालय खोलेर सेवा दिइरहेको छ भने कोन्जिले भारतमार्फत नेपालमा काम गरिरहेको छ । अर्को मास्टर एजेण्ट ग्रेस इन्टरनेशनल एजुकेशनले आफ्ना विद्यार्थीहरुका लागि मात्र एलायन्सको प्रोडक्ट बेचिरहेको छ । अवैध कार्डमार्फत विद्यार्थीको ट्युसन फि र इन्स्योरेन्सको पोलिसिबापतको रकम तिरिदिने एजेण्टहरु को थिए भनेर पत्ता लागेको छैन ।
एलायन्स इन्स्योरेन्सको केन्द्रीय कार्यालयले नेपाली विद्यार्थीको १५ करोेड नेपाली रुपैयाँ फिर्ता भएको जनाएको छ । ‘अवैध माध्यमबाट प्रिमियम तिरेका विद्यार्थीको इन्स्यारेरेन्सबापतको रकम फिर्ता भएको छ ।’, शैक्षिक कन्सल्टेन्सीलाई एलायन्सले पठाएको इमेलमा भनिएको छ, ‘तपाईंहरुको विद्यार्थीको पैसा समयमै बुझाउनु होला ।’ एलायन्सले उक्त इमले विद्यार्थीलाई समेत गरेको परामर्श व्यवसायीको भनाई छ । अस्ट्रेलिया र बेलायतका कलेज तथा विश्वविद्यालयले अबैध कार्डमार्फत जम्मा भएको रकम फिर्ता भएको भन्दै विद्यार्थी र कन्सल्टेन्सीलाई इमले गरेका छन् । उनीहरुले विद्यार्थीका लागि छोटो समय दिएर पैसा जम्मा गर्न अपिल गरेको अस्ट्रेलियाबाट सम्पर्कमा आएको एक विद्यार्थीले बताए ।
यता एलायन्सको नेपालीस्थित कार्यालयले अवैध रुपमा काम गरिरहेका व्यक्तिहरुका कारण समस्या उत्पन्न भइको जनाएको छ । ‘नेपालमा हामीले विद्यार्थीलाई इन्स्योरेन्सबापतको रकम कन्सल्टेन्सीलाई नदिन सतर्क गराएका छौं ।’, अस्ट्रेलियन इन्स्योरेन्स सर्भिस एलायन्स (आईसा)की प्रमुख सिपा रेग्मीले भनिन्, ‘कन्सल्टेन्सीलाई क्यास बुझाउनु सरासर गलत हो । यसलाई कम्पनीले अवैध मान्छ । क्यास बुझाउँदा कम्पनी जिम्मेवारी बन्दैन । त्यही भएर हामीले क्यास नबुझाउनुहोस् भनेर विद्यार्थीलाई सचेत गराएका छौं ।’
‘हामीले नेपालका चार वटा बैंक मार्फत इन्स्योरेन्सबापतको रकम भुक्तानी गर्न कन्सल्टेन्सीमार्फत विद्यार्थीलाई सर्कुलर गरेका छौं ।’, उनले भनिन्, ‘हामीले कुमारी बैंक, एनएमवि बैंक, माछापुच्छ्रे बैंक र सिटिजन बैंकमार्फट रकम भुक्तानी गर्न भनेका छौं । बैंकले मागेको डकुमेन्ट बुझाउँदा विद्यार्थीको सजिलै पैसा ट्रान्सफर गरिदिन्छ ।’
मोटिभेट न्यूजसँगको भेटमा उनले आफूहरुले पनि यो विषय अनुसन्धान गरिरहेको रेग्मीको भनाई छ । ‘हामी पनि ह्याकरको समूहलाई खोजिरहेका छौं । तपाईंहरुले पत्ता लगाउनु भयो भने हामीलाई भन्नुहोला ।’, उनले भनिन्, ‘नेपालमा एउटा गुप्त समूहले यस्तो खालको धन्दा चलाइरहेको छ । यसलाई रोक्नपर्छ ।’ उनले मोटिभेट न्यूजसँग गुप्त समूहले डलरको धन्दा चलाएको बताएपनि व्यवसायीहरुसँग भने यसलाई सेटल गर्ने तयारीमा रहेको बताउने गरेकी छन् ।
एक व्यवसायीले दिएको जानकारी अनुसार रेग्मीले १० मिलियन रुपैयाँसम्म अर्थात एक करोड रुपैयाँ ह्याण्डल आफू एक्लैले गर्न सक्ने क्षमता भएको बताउने गरेकी छन् । ‘हामी १० मिलियनसम्म हेण्डल गर्न सक्छौं । तर १५० मिलियन भएर समस्या भयो ।’, रेग्मीको भनाई उदृढ गर्दै एक व्यवसायीले भने, ‘उनीहरु भित्रभित्रै यो केसलाई सेटल गर्ने तयारीमा छन् । उनीहरुले ५० प्रतिशत सेटल गरिसकेको बताउने गरेका छन् ।