सूर्य प्रसाद दुलालका तीन गजल

सूर्य प्रसाद दुलाल

१.
गगनको कालो बादल फाट्यो अनि घाम लाग्यो
मोलमोलाइको तमाशामा फेरि कति दाम लाग्यो

भन्ने गर्छौ सुख छोडी दुःखमा नै बाँच्न सक्छु
फालिएको ढुङ्गा पनि आज किन काम लाग्यो

भगवान पुज्नु छैन मनभित्र नै ईश्वर हुन्छ
तिम्रो विचार उच्च थियो आखिर किन धाम लाग्यो

टुटेको र फुटेको यो धुजाधुजा जिन्दगीमा
परिश्रमका बिज रोप्दा किन होला डाम लाग्यो

असल विचार अँगाल्नलाई सिकाउँदैन जो कोहीले
चिट्ठै चिट्ठाबीचबाट फेरि अर्को नाम लाग्यो ।

२.
पैसा नै हो सर्वेसर्वा भन्ने सोचाइ छोड अब
मिहेनतमा मोती फल्छ त्यतै बाटो मोड अब

जताततै नूतन फूल फुल्दै गए ढकमक्क
झलमल्ल उज्यालो भो आलस्य छोड अब

कल्पनामा सजाएका खुसीका ती तरङ्गलाई
सहजताले हुर्काउन मलजलले गोड अब

अवनति छोडी अब उन्नतिमा रमाउनु छ
अबै अघि बढ्ने बेला अल्छीपना छोड अब

अग्रसर सबै छन् है शिखरलाई आफैं चुम्न
सफलताको सूचीभित्र नयाँ नाम जोड अब ।

३.
किन होला अन्धकारमा उज्यालो नै छरौं लाग्छ
सबै काम पन्छाएर सिर्जनामै मरौं लाग्छ

मेटिंदैनन् कहिल्यै पनि अमरताका पाठहरू
असीमित ज्ञान भण्डारमा अझै केही भरौं लाग्छ

नयाँ बिहान सूर्यसँगै जगमगाउँदै चियाउँछ रे
सधैं अल्छी बस्नुभन्दा नौलो केही गरौं लाग्छ

भोलिका ती दिनहरू कस्ता हुन्छन् कसलाई थाहा
जमानाको चाल बुझ्न आजै कतै सरौं लाग्छ

ज्ञान कहिल्यै मर्दैन रे युगौं युगको अन्त्यमा नि
अज्ञानतालाई हटाएर ज्ञानकै शरण परौं लाग्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार