काठमाडौँ । धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्ग निर्माण ९० प्रतिशत सम्पन्न भएको छ । भारतीय अनुदान सहयोगमा निर्माणाधीन सो रेलमार्गको मुख्य पूर्वाधारको काम सकिएको छ भने ‘रेल्वे टेलिकम्युनिकेशसन’ काम मात्रै बाँकी छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रेलमार्ग तयार भएर रेल सञ्चालन गर्ने तयारी भइरहँदा त्यसभन्दा अघिको खण्डमा निर्माण थोरै मात्रै बाँकी छ ।
भारतीय पक्षले ‘बिजलपुरासम्मको निर्माण चाँडो सकाउँछु’ भन्दै आएको रेल विभागका महानिर्देशक दिपककुमार भट्टराईले बताए । उनका अनुसार यो समयसम्म सक्छु भनेर मिति नभनेपनि उसले चाँडो सक्छौँ भन्दै आएको छ । वर्षाभन्दा पहिले निर्माणस्थलमा काम भइरहेको थियो भने अहिले कामदार निर्माणस्थलमा छैनन् । उनले भने, “हामीले उनीहरुसँग कुराकानी गरिरहेका छौँ र चाँडो गर्ने भनेको छ ।”
कुर्थासम्म रेलको लाइन पुरानो नै भएकाले जग्गाको ठूलो समस्या नभएको महानिर्देशक भट्टराईले बताए । त्यो ठाउँमा पुरानो लाइनलाई विस्तार मात्रै गरिएको थियो । बिजलपुरादेखि बर्दिवाससम्म नयाँ बनाउनुपर्ने भएकाले जग्गाको समस्या हुनसक्ने उनले बताए । यस खण्डमा पूर्वाधारको काम शुरु नभएको उनको भनाइ छ । उहाँका अनुसार जग्गाको विवादका कारणले लामो समयसम्म पनि मुआब्जा वितरण हुन सकेन । अहिले धनुषा र महोत्तरीमा मुआब्जा निर्धारण भएकाले एउटा प्रक्रिया सकिएको उनले बताए । अहिले मुआब्जाकै प्रक्रियामा सम्बन्धित जग्गाधनीले उजूरी गर्ने समय बाँकीे छ । उनले भने, “त्यो सकिएपछि नै थप काम अघि बढ्न सक्नेछ ।”
भारतीय पक्षले पहिले रेलमार्ग भएकै ठाउँमा पहिलेको सबै पूर्वाधार हटाएर नयाँ निर्माण शुरु गरेको थियो । पहिले ‘न्यारो गेज’ मा निर्माण भएकामा अहिले ‘ब्रोड गेज’ मा निर्माण अघि बढाइएको हो । यो रेलमार्ग निर्माणमा प्राविधिक र आर्थिक दुबै पक्ष भारतीयले गरिरहेको छ । जयनगरबाट जनकपुर, कुर्था, बिजलपुरा हुँदै सो रेलमार्ग बर्दिवाससम्म पुग्नेछ । नेपाल सरकार आफैँले निर्माण अघि बढाइरहेको पूर्व–पश्चिम रेलमार्ग पनि बर्दिवास नै भएर अघि बढ्नेछ । यी दुबै रेलमार्ग बर्दिवास नै भटिने गरी योजना बनाइएको छ ।
पहिलो खण्डमा कुर्थासम्मको निर्माण सकिएपछि नै बिजुलपुरासम्मको निर्माण अघि बढाइएको छ । यो खण्ड सकिएपछि बिजुलपुराबाट बर्दिवाससम्मको निर्माण अघि बढाइने विभागले जनाएको छ । लामो समयसम्म जग्गा विवादकै कारण कुर्था–बिजुलपुरा रेलमार्ग निर्माण अघि बढ्नसकेको थिएन भने अहिले पनि कहिलेसम्म सकिन्छ भन्ने टुङ्गो छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणका क्रममा दुई देशको सीमा जिल्ला जोड्ने गरी पाँच ठाउँमा रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । भारत सरकारको अनुदान सहयोगमा पाँच स्थानमा रेल निर्माण गर्ने भनिए पनि एउटा यो र अर्काे बथनाहादेखि विराटनगरको रेलमार्गमा मात्रै निर्माण भइरहेको छ । बथनाहादेखि विराटनगरमा १८ किमीमध्ये १० किमी निर्माण भइसकेको छ । अरु तीन स्थानमा भने सुरु नै हुन सकेको छैन । नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । त्यो बन्द भएको लामो समयपछि त्योभन्दा नयाँ प्रविधिको रेलमार्ग निर्माण गरिएको छ ।
जयनगर–कुर्था रेल सञ्चालनकै लागि सरकारले गत वर्ष असोज २ मा दुई सेट रेल खरिद गरेको थियो । रेल सञ्चालनका लागि जनशक्ति, कार्यालयलगायत तयारी पूरा भए पनि सेवा शुरु भइसकेको छैन । कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण झण्डै दुई वर्ष पहिले नै सकिएको थियो । जयनगरदेखि कुर्थासम्मको लम्बाइ हाल ३५ किमी छ । कुर्थादेखि बिजुलपुरासम्म रेलमार्ग १७ किमी रहेको छ भने बिजुलपुराबाट बर्दिवाससम्म थप १७ किमी निर्माण हुनेछ । सबै खण्डमा निर्माण सकिँदा यो रेलमार्गको जम्मा लम्बाई झण्डै ७० किमी लम्बाइको हुने बताइएको छ ।
– रासस