आकाशको एक्लो खुर्पे चन्द्रमालाई सोध्छु
किन मुस्कुराउँदैन सगरमाथा अचेल ?
किन रुन्छन् खुम्बु र लाङ्टाङ् ?
लालीगुराँसका थुङ्गाहरुबाट एकाएक कता बिलायो मुस्कानको रङ् ?
खैँजडी , मुर्चुङ्गा र बिनायोको धून किन सुनिदैनन् बस्तीहरुमा अचेल ?
किन गाईंदैँनन् सालैजु भाकाहरु ?
किन शून्यशून्य छन् रोधीघरहरु ?
किन भेटिँदैनन् घाटुलीहरु ?
किन बज्दैनन् खर्कमा चरिरहेका चौँंंरीका सिन्द्रीहरु ?
तिनै फाँटमा नाच्ने डाँफे चरी ,
कुहुकुहु आवाजमा वनै गुन्जाउने कोइली चरी ,
किन गाउँछन् विरहका गीत ?
किन मलिन छन् तिनका अनुहार ?
चन्द्रमाकाे मौनव्रत यथावत छ ।
बिहान लाली चढ्दै गर्दाको सूर्यलाई सोध्छु
खोइ गाइने दाजु ?
सारङ्गीको भाका नसुनेको पनि कत्ति भइसक्यो ,
पर खारखोला पारिको भीरमा
एैँसेलु र काफल किन बोटमै रहन्छन् ?
कता हराए,
सालको पातको सुसेलीमा वनै गुञ्जाउने गोठालाहरु ?
खोइ ती नानीहरुलाई ताते गराउने हात ?
खोइ जिम्मलबाको घरमा देखिने रौनक ?
किन चौतारीमा धुम्धुम्ती टोलाई बस्छन् जिम्मलबा ?
उदाउँदा–उदाउँदै बादलमा बेरिएको सूर्य मौन छ ।
सूर्यास्तपछि क्षितिजमा टिलपिलाउने ताराहरुलाई सोध्छु
किन गाउँघरमा औँसीमात्र हुन्छ अचेल ?
किन लागिरहन्छ सूर्यग्रहण ?
किन मुस्कुराउँदैन गाउँवस्ती ?
किन बढ्दैछ नदीहरुमा आँसुको अनुपात ?
कालो बादलभित्र हराउँदै गरेका ताराहरु पनि मौन छन् ।
हिजो विमानस्थलको गेटबाट धपाउँदै गर्दा
राज्यनिर्माणका जनशक्ति
रेमिट्यान्सको आशामा फिस्स मुस्कुराउँथ्यो
र गर्व गथ्र्यो आफ्नो व्यापारमा,
ऊ पनि चुहाइरहेको थियो गोहीको आँसु
म सोध्छु ,
किन महाशय यो विलाप ?
जतिबेला मेरो मनमा प्रश्नका हज्जारौँ सन्तानहरु जन्मिदै थिए ,
ठिक त्यतिबेला
उत्तरको हुँकार मडारिएर आउँदै थियो
नेपाली वायुसेवाको विमानबाट
काठको बाकसमा ।