कविता : नाइँ

कवि अनुपा रिजाल

मेरा कलिला अबोध हातबाट
एकाएक लुटिएका थिए मेरा खुसीहरु

खोसिएको थियो
उमङ्गसाथ खेल्ने चुङ्गी
कल्पनामा रमाउने पुतली
र छुटेको थियो जिन्दगीबाट एउटा जिन्दगी

जब बाबाले भन्नुभयो
‘अब सकियो छोरी तेरा भाँडाकुटी खेल्ने दिन’
टिलपिल टिलपिल गर्दै थिए
मेरा आँखामा मोतीका दाना

नारीमुक्तिका किताबहरु
मलाई टुलुटुलु हेर्दै थिए

म सात वर्षकी थिएँ
जब जानीनजानी पोतेकी थिएँ घरको आँगनमा
जिन्दगीको एउटा रङ

मेरै हातले स्वर्गझैं सिँगारिएको मेरै घरमा
मेरै विदाइको कुरा हुँदै गर्दा
म सत्र पूरा भएर अठार मात्र टेकेकी थिएँ
विच्छीले झैं डस्ने प्रश्नसँगै आमाले सुनाउनुभएथ्यो
‘भोलि टिकाटालोको सुर गरियो’

बाबाले आँगन पोलेर
विदाइको हात हल्लाउँदै कर्मघर पठाइदिएको दिन
‘बाबाको इज्जतमा दाग लाग्छ रे’ भनेको सुनेकै कारण
सपनाहरुले झस्काइरहँदा पनि
विवाह मण्डप छाडेर भाग्न सकिनँ

आज
समयको पल्लो किनारामा छु
र, सोच्दैछु
मेरी छोरीको आँखामा खेल्दै गरेका सपना
किन फूल बनेर फुल्न सकिरहेको छैन !

मेरी छोरी,
तिम्रो जिन्दगीको निर्णय अरु कसैले गर्न खोज्यो भने
सशक्त ‘नाइँ’ भन्नू है !

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार