पुल निर्माणमा ढिलाइ हुँदा सास्ती

चितवन । हुलाकी सडक अन्तर्गत माडीमा निर्माणाधीन १० वटा पुलको निर्माणमा ढिलाइ भएको छ । विभिन्न समयमा ठेक्का सम्झौता भई काम थालिएकामा म्याद सकिन लाग्दा समेत कामले गति लिन सकेको छैन । पुल निर्माण नहुँदा यस सडकमा यात्रा गर्ने माडी र ठोरीवासी प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । माडी नगरपालिकामा खहरे खोला नागबेली भएर घुमेका छन् । वर्षासँगै ती खोला उर्लिएपछि यातायातका साधन सञ्चालन हुन नसक्ने अवस्था देखिएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका अनुसार माडी क्षेत्रमा निर्माणाधीन ११ वटा पुलमध्ये एउटाको मात्रै निर्माण सम्पन्न भएको छ भने अधिकांशको निर्माण काम १५ देखि ७० प्रतिशतसम्म मात्र सम्पन्न भएको छ ।

कार्यालयका इञ्जिनीयर सञ्जय ठाकुरका अनुसार विसं २०७४ मा सम्झौता भएर पुल निर्माणको ठेक्का पाएका व्यवसायीले विभिन्न समयमा म्याद थप गर्दासमेत निर्माण सम्पन्न गर्न नसकेको हो । विसं  २०७४ चैत २८ गते सम्झौता भएको रिखोलाको पुल हालसम्म पनि सम्पन्न हुनसकेको छैन । विसं २०७७ असोज २७ गते सम्पन्न गर्नुपर्ने गरिएको सम्झौता पटकपटक म्याद थप हुँदासमेत काम हुनसकेको छैन । पछिल्लो पटक विसं २०७८ माघ २३ गतेसम्मका लागि म्याद थप भएको छ ।

रु १३ करोड ४२ लाख ६२ हजार ५३४ मा निर्माण सम्झौता भएको २५४ दशमलब ७५ मिटर लामो उक्त पुलको काम अहिलेसम्म २७ प्रतिशत मात्र सम्पन्न भएको इञ्जिनीयर ठाकुरले जानकारी दिए । यो पुल निर्माणका लागि लुम्बिनी प्रकृति जेभी काठमाडौँले ठेक्का सम्झौता गरेको छ ।

यो खोला माडी नगरपालिका–९ स्थित चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पुल निर्माणका लागि निकुञ्जले अवरोध गर्दै आएको उहाँको दाबी छ ।  बगाइ खोला पुलको निर्माण पनि ४५ प्रतिशत मात्र सम्पन्न भएको छ । सपना लोहनी जेभी काठमाडौँले विसं २०७४ असार २८ गते रु ८ करोड २४ लाख ९९ हजारमा ठेक्का सम्झौता गरेको भए पनि काम सम्पन्न हुनसकेको छैन ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार