उमेरले सानो तर व्यवहारमा परिपक्व ! कर्ममा विश्वास गर्ने कर्मयोद्धा । ‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने भावना राख्ने युवा हुन् वर्ष २१ का केपी खनाल । उनको घर अछाम हो भने हाल उनी कैलाली बस्छन् । बाल्यकालदेखि नै उनी विभिन्न अभियान र सामाजिक कामहरुमा संलग्न हुँदै आए । उनी नेपालका कान्छा अभियन्ता हुन् भनेर बालबालिका, युवा र वयस्कहरु उनलाई चिन्छन् । उनको अभियान र अनुभव बारे कृष्ण बि.कले गरेको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छः
सानै उमेरमा सामाजिक सेवामा लाग्न तपाइँलाई के कुराले प्रेरणा मिल्यो ?
म के कुराले र कसरी प्रभावित भएँ भन्दा पनि म समाजबाट नै प्रेरित भएको हुँ । समाजमा अस्वस्थता छ, अशिक्षा छ, गरिवी छ, समृद्धि छैन भनेर कति दिन गुनासो मात्र गर्ने ? कति दिन मेरो ठाउँमा यो विकास भएन भन्ने वा कति दिन गुनासो मात्रै गर्ने ? मलाई लाग्यो अब आफैँबाट सुरुवात गर्नु जरुरी छ । कति दिन आफ्नो समाज, गाउँ, जिल्ला दुर्गम छ भनेर बस्ने ? दुर्गमलाई सहर नै बनाउन नसकिएला तर सुगम र समृद्ध बनाउन आफैँबाट सुरुवात गर्ने कि भनेर कर्म गर्न म आफ्नै समाजबाट नै प्रेरित भएको भन्नु चाहन्छु ।
तपाइँ पहिलो पटक आउँदा काठमाडौं कस्तो लागेको थियो ?
पहिले म आफ्नै गाउँठाउँमा सामाजिक कामहरु गर्थें । हाम्रो सामाजिक काम र सफाई अभियान आफ्नै क्षेत्रमा मात्रै सीमित थियो । उच्च शिक्षाको लागि काठमाडौं जानुपर्छ म भनेर काठमाडाआएँ । काठमाडौंले धेरैलाई बस्न दिएको रहेछ तर काठमाडौंलाई काठमाडौं रहन धेरैले नदिएका रहेछन् भन्ने सोच जाग्यो ।
काठमाडौं गएर राजनीतिमा लाग्छु भन्ने युवाहरूको सोच हुन्छ । राजनीतिक दलहरूसँग चिनजान ग-यो भने सजिलो हुन्छ, विद्यार्थी संगठनमा लाग्नुपर्छ वा उनीहरुलाई चिन्यो भने पढ्न र छात्रावृत्ति पाउन सहज हुन्छ भन्ने धेरै मानिसको सोच हुन्छ । नढाँटी भन्नुपर्दा मेरो पनि त्यही सोच थियो । गाउँ–ठाउँमा सामाजिक काम गर्ने गर्थें नै तर काठमाडौं गएपछि सामाजिक काम गर्न निकै अफ्ठ्यारो छ भन्ने सुन्थेँ, तर कुनै राजनीतिक संगठनमा लाग्न र विद्यार्थी संगठनमा लागेर सडकमा उत्रेर टायर बाल्न र राजनीतिमा प्रवेश गर्न सजिलो हुन्छ भनेर काठमाडौँं छिरेको तर काठमाडौंको गल्लि छिर्दा त स्थिति विकराल रहेछ्, मलाई के लाग्यो भने राजनीति र राजनीतिक झण्डाभन्दा देशको फोहोर सफा गर्नुपर्ने रहेछ भन्ने लाग्यो।
जसरी म तस्विर, किताबका पानाहरूका तस्विरमा देख्थेँ, टेलिभिजनमा देख्ने गर्थेँ यहाँको सुन्दरता, मठमन्दिर अनि यहाँका इतिहास । जसरी पढेका थियौँ त्यस्तो कदापि रहेनछ काठमाडौं ! निकै फरक रहेछ वास्तविकतामा र यथार्थमा काठमाडौं ।
तपाइँ कान्छो सामाजिक अभियन्ता भनेर पनि चिनिनुहुन्छ, कस्तो लाग्छ ?
यो प्रश्न धेरैले सोध्नुहुन्छ । म अक्मकाउँछु, कस्तो लाग्छ भनेर जवाफ दिने भनेर अनि फेरि यो सोच्छु कि मलाई कर्मले चिनाएको हो । म कर्मप्रेमी हुँ । अनि साथमा कर्म गरेर नेपाल आमाको सफाइ र उनको शुद्धता निरन्तर बचाउन सहयोग गर्ने सहयोगी । नेपाल र नेपालीलाई असाध्यै माया गर्ने, जन्मभूमिको विछट्टै माया लाग्ने देशप्रेमी नागरिक हुँ जस्तो लाग्छ ।
‘म बदलिन्छु र मेरो देश बदलिन्छ’ भन्ने मर्म बोकेर हिँड्नु भएको छ । यो विषयमा केही बताइदिनुस् न !
हामी जबसम्म ‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने भावना राख्छौँ तब मात्र हामी सफल हुन्छौँ । प्रत्येक नागरिकले मेरो देश पहिलो र म दोस्रो हुँ भनेर बुझ्न जरुरी छ । तर विडम्बना हामी नेपालीको सोचमा म पहिले अनि मात्र देश आउँछ । म मात्र राम्रो, म मात्रै प्रगति गरुँ भन्ने भावनाले देश प्रगति नभएको म बुझ्दछु । भन्न खोजेको के भन्दा नागरिकले नै हो देश बचाउने, देश बनाउने ।
सफाइ अभियानमा धेरै मानिस यो भन्ने गर्छन् कि एकदिन गरेर के हुन्छ ! तर त्यही व्यक्तिको एक सोच, एक सुरुवात नै हो समाज र राष्ट्र परिवर्तन गर्न सक्ने पाइला अनि सकिन्छ समृद्धि ल्याउन । यो देशमा त्यस्ता व्यक्तिको खाँचो छ ।
हरेक क्षण सफाइ अभियानमा संलग्न भई राष्ट्र नै सफा राख्ने अभियानमा लागेँ । प्रकृतिले निःशुल्क दिएको उपहारलाई बचाई भावी सन्तति र सन्तानका लागि पनि हाम्रो वातावरण स्वच्छ र सफा राख्नु हामी सबैको साझा दायित्व हो ।
अभिभावकविहीन बालबालिकाका लागि आश्रम निर्माण गर्न थाल्नुभएको अभियान के हुँदैछ ?
हामीले मैनादेवी फाउण्डेसन निर्माण गर्दा नेपाली दाजुभाइ तथा दिदीबहिनीको अथाह प्रेम, सद्भाव, विश्वास र सहयोगले आश्रम निर्माण गर्न सफल भयौँ । जम्मा ५ जना बालबालिकाबाट सुरु गरेको हाम्रो आश्रम आजको दिनसम्म आइपुग्दा १८ जना बालबालिकाका लागि सेवा दिन पाएका छौँ । साथमा, हाम्रो संस्थामा १ लाख स्वयम्सेवक विभिन्न क्षेत्रमा सक्रिय हुनुहुन्छ । हाम्रो अभियान भनेको विपन्न र अभिभावकविहीन बालबालिकाले कुनै पनि बाहनामा उनीहरूको अधिकारबाट बञ्चित हुन नपरोस् भन्ने नै हो । आश्रम अभियान निरन्तर र दिगो बनाउन लागिरहेका छौँ । यसमा नेपाललाई माया गर्ने सहयोगी मनहरूको देन छ । उहाँहरूको विश्वासको धरोहर हो मैनादेवी फाउण्डेसन ।
किन तपाइँले बाजुरा नै रोज्नुभयो यो आश्रम निर्माणका लागि ?
सबै व्यक्ति सुगम र सहर नै रोज्छन् । तर मलाई दुर्गमका भु-भागलाई पनि केही योगदान दिउँ भन्ने लाग्यो । दुर्गमका भु–भागको स्वरुप परिवर्तनमा एउटा बलियो र विश्वासिलो इँटा थप्ने सानो प्रयास हो । विकास निर्माणमा टेवा दिनुका साथै दुर्गममा पनि सम्भावना छ र गर्न जरुरी छ भनेर बाजुरा रोजाइमा परेको हो ।
तपाइँले आश्रम निर्माणका लागि खर्च कसरी जुटाउनु भएको छ ?
मैनादेवी फाउण्डेसन बाजुरामा स्थापना गर्नुको पछाडि मेरो बाल्यकालदेखिको सोच नै प्रमुख छ । बाल्यकालमा चञ्चले स्वभाव भएको मान्छे म र त्यतिबेला नै हामी गाउँघरमा सरसफाइ गथ्र्यौं । अभिभावकविहीन र सहाराविहीन बालबालिकाका लागि बाजुरामा आश्रम निर्माण गर्ने सपना देखेका थियौँ । नेपाली दाजुभाइ, दिदीबैनीको सहयोगमार्फत रकम संकलन गरी मैनादेवी फाउण्डेसन आश्रम निर्माण कार्य सम्पन्न भएको हो ।
हामीले गाउँलाई सहर बनाउन त सक्दैनौँ तर विकटलाई निकट बनाउन सक्छौँ । यदि तपाइँमा काम गर्ने इच्छाशक्ति छ भने सहयोग वा पैसा ठूलो कुरा हुँदैन । थुप्रै नेपाली दाजुभाइ–दिदीबैनी नेपाली मनहरूले विभिन्न माध्यमबाट सहयोग अभियान सञ्चालन गरि रकम संकलन गरि सहयोग गर्नु हुन्छ । त्यसैले नै हाम्रो मैनादेवी फाउण्डेसनको खर्च जुटिरहेको छ।
तपाइँजस्तै युवा सामाजिक गतिविधिमा संलग्न हुन चाहनुहुन्छ भने र अन्य क्षेत्रमा लाग्न चाहने युवाहरूलाई पनि के भन्न चाहनुहुन्छ ?
युवालाई अरुले केही गरिदिने होइन । युवा स्वयम् नै आफ्नो कर्मले आफू र आफ्नो क्षमता अभिबृद्धि गर्दै समाज परिवर्तन गर्न अदम्य साहस राख्ने बलियो पुर्वाधार हो । युवा शब्दलाई उल्टाएर हेर्नुभयो/पढ्नुभयो भने ‘वायु’ हुन्छ । ‘वायु’ भन्नाले चैतमासको वायु जस्तो होइन कि सदावहार एकनासले वहने यस्तो सकारात्मक वायु जसले शुद्धता र सकारात्मक परिवर्तन ल्याउँछ र सुन्दर समाज निर्माणमा जीवन दिन्छ ।
सबैले सामाजिक काम नै गर्नुपर्छ भन्ने छैन । कोही कृषि क्षेत्रमा, कोही स्वास्थ्य क्षेत्रमा, कोही शिक्षा क्षेत्रमा त कोही खेलकुदका क्षेत्रमा त कोही आ–आफ्नै विशेषता, इच्छा र विचार अनुरुप वायु बनेर निरन्तर कर्म गरी समुन्नत समाज निर्माणमा योगदान दिन सक्छन् । ‘वायु’ बनेर समाज परिवर्तनका खुड्किलाहरू पार लगाउन सक्छन् युवा । तपाइँ आफ्नो कर्ममा निरन्तर लाग्नूस र सपना पूरा गर्ने भोक निरन्तर जगाउनूस् भन्न चाहन्छु ।