वर्ष १९ की प्रेक्षा धामी मर्यादित महिनावारी अभियन्ता हुन् । उनको घर दार्चुला हो । हाल उनको बसोबास धनगढीमा छ । उनी पोखरा विश्वविद्यालयबाट जनस्वास्थ्य विषयमा स्नातक प्रथम बर्षमा अध्ययनरत छिन्। कक्षा ८ मा पढ्दा देखि नै उनले महिनावारीको सम्बन्धमा समाजमा भएका कुरीति, कुसंस्कार हटाउनु पर्छ भन्ने बुझिन् । अन्धविश्वासको जालो देखेर, भोगेर आएकी उनले आफ्नै घरबाट नै सकारात्मक तरीकाले परिवर्तन सुरु गर्न लागिपरिन् ।
विस्तारै उनले छाउपडी अन्त्य गर्ने अभियान नै सञ्चालन गरिन् । कलिलै उमेरमा अभियन्ताको रुपमा समाज रुपान्तरणका लागि उभिएकी प्रेक्षा धामीसँग पवित्रा भट्टराईले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः
तपाईँको विचारमा महिनावारी भनेको के हो?
महिनावारी प्राकृतिक प्रक्रिया हो । एक उत्सव हो जहाँ महिलाहरु परिपक्व हुन्छिन्। महिलाहरु आमा बन्न सक्षम हुँदैछिन् भन्ने प्राकृतिक सुचना हो ।
मर्यादित महिनावारी अभियान कहिलेबाट सुरुवात गर्नुभयो ?
अभियान त कक्षा ८ पढ्दै घरदेखि नै सुरु गरेको हो तर कक्षा १२ पछि निरन्तर लागिरहेको छु। महिनावारी बार्ने कारण लैङ्गिक समानता हुँदैन । भेदभाव हुने कुराले बालिका/महिलाको मानसिकता कमजोर बनाउन सक्छ । उनीहरुमा केही पनि गर्न सक्दिनँ भन्ने भावना विकास हुनसक्छ । महिलाहरुलाई त्यहाँ नछोऊ, मन्दिर नजाऊ भनिएको सुनेर नै म छाउपडी अन्त्य गर्ने अभियानमा लागेँ । म कक्षा छ मा पढदा पहिलो महिनावारी भएको थियो । म स्वयमले पनि धेरै समस्या भोग्नुप-यो । त्यसैले घरपरिवार र समाजको मानसिकता परिवर्तन गर्न आफैँ लागिपरेँ।
हामीले सुन्ने गरेका छौँ, अछाम छाउपडीले परिचित ठाउँ हो, छाउगोठ भत्काएका खबर पनि सुन्छौँ । छाउगोठ सानो, साँघुरो, होचो र सास फेर्नै कठिन हुने खालका हुन्छन् ! मैले सानो भिडियो बनाउन छाउगोठ छिरेको थिएँ । राम्रोसँग उभिन र बस्न समेत गाह्रो भएको थियो ।त्यस्तो ठाउँमा महिलाहरु हरेक महिना ५\५ दिन कसरी कटाउँछन् होला, म त अचम्भित भएँ अनि झन् महिनावारीको विषयमा बोल्नुपर्ने कुरा प्रशस्तै रहेछन् भन्ने लाग्यो ।
अछाम जहाँ छाउगोठका विषयमा कुरा गर्न र भन्न समेत गाह्रो भइरहँदा तपाईँलाई निरन्तर अभियानमा लाग्न कत्तिको असहज भयो ?
छाउगोठहरु अधिकांश काठको, माटोको, जोखिमयुक्त र साँघुुरो हुने हुँदा महिनावारीको समयमा महिलाहरुले धेरै जोखिम मोल्नुपरेको हुन्छ । सर्पको टोकाइका कारण मृत्युवरण गरेका, बलात्कार तथा अन्य हिंसाको सिकार बनेका खबरहरु पत्रिकाको हेडलाइन र न्युज पोर्टलहरुमा पढ्नुपर्दा अत्यन्तै दुःख लाग्थ्यो । यस्ता समस्या हाम्रो पुस्ताले अन्त्य गर्नुपर्छ भनेर यो अभियानमा व्यक्तिगत रुपमा लागेँ ।
त्यहाँका मानिसमा महिनावारी सम्बन्धमा कस्तो चेतना छ ?
महिनावारी सरसफाइ र चेतना खासै नभएको पाइयो । यसलाई लाजको विषयका रुपमा हेर्ने र एउटै कपडा निरन्तर प्रयोग गर्ने पाइयो । स्थानीय सरकारको चासो छैन र देवीदेवताको पाप लाग्छ भन्ने अन्धविश्वास छ ।
महिनावारीको समयमा महिलाहरुको स्वास्थ्यलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
महिनावारीको समयमाम जोखिमका साथ–साथै सरसफाई र खानपानमा पनि खासै राम्रो नरहेको पाएँ ।
महिनावारीको विषयमा के कस्ता भ्रम र अन्धविश्वास पाउनु भएको छ ?
देवीदेवता रिसाउने, अनिष्ट हुने, घरमा अशान्ति हुने, महिनावारी हुदाँ दुध दही खान नहुने, महिनावारीका कुरा गर्न लाज मान्ने, महिनावारीको कपडा (टाला) घाममा सुकाउनुपर्छ भन्ने जस्ता अन्धविश्वास गर्ने गरेको पाएँ ।
अन्तमा?
यस अभियानलाई निरन्तरता दिन सामाजिक सञ्जालमार्फत निरन्तर प्रयास गरिरहेको छु र निरन्तरता पनि दिने छु । सबै ठाउँमा निरन्तर र अनिवार्य रुपमा महिनावारी चेतना जगाउनु अनिवार्य र अपरिहार्य छ । चर्चित हुन मात्रै नभएर सामाजिक उत्तरदायित्व निर्वाह गर्न हरेक तप्काबाट महिला हिंसा अन्त्य गर्न सबैले महिनावारी महिलाको मात्र विषय नभई पुरुषको पनि विषय बन्नु जरुरी छ । समतासहितको समानता हुनु जरुरी छ ।