बालापन निश्छल हुन्छ । निर्दोष हुन्छ । लाग्छ, उमेर फर्काउन पाए मानिसले बालापन नै फर्काउन चाहन्छ । आफ्नो बाल्यकाल सम्झिँदा जो कोहीलाई पनि रमाइलो लाग्छ नै । आफूले गरेका उपद्रोहरु सुनाउनलायक कथा लाग्छन् । अभिभावकलाई दुःख दिएका घटनाहरु रोमाञ्चक लाग्छन् । स्कूलमा भएका उट्पट्याङ कर्महरु त्यतिबेलाको पुरुषार्थ लाग्छन् । तीनै काम आफ्नै छोराछोरीले गरे भने चाहिँ असह्य हुन्छ । अमान्य हुन्छ । अस्वभाविक बन्छ । गर्नै नहुने कर्म बन्नपुग्छ । शिक्षक वा अभिभावक जे भएर हेर्दा पनि हामीमध्ये अधिकांशलाई बालबालिकाले गरेका कामहरु कत्ति पनि मन पर्दैनन् । हामीले हाम्रै दृष्टि, क्षमता र सोचका आधारमा बालबालिकाको मूल्याङ्कन गर्छौं । हामी बराबर उनीहरु कसरी हुनु ? हामी जस्तो सोच्छौं र जस्तो गर्न सक्छौं त्यस्तै उनीहरु हुन पर्ने किन ? स्वयम्लाई यस्ता प्रश्न नगरी हामी उनीहरुको कर्मलाई गलत घोषणा गर्छौं । सजायँका भागीदार मान्छौं र तयार भइहाल्छौं सजायँ दिन ।
हामी शासित भएर हुर्केका छौं । ठूलाबाट । बलियाबाट । अग्रजबाट । शासन गर्र्नु शक्तिशाली हुनु हो भन्ने छाप मनमा परेको हुन्छ । शक्ति प्रदर्शन गर्नु शानदार कुरा लागेको हुन्छ । त्यसका लागि सानै उमेरबाट आफूभन्दा साना र कमजोरमाथि प्रभुत्व जमाउन सिक्छौं । आफूले भनेका कुरा नै अन्तिम सत्य हो भन्ने बनाउन लागिपर्छौं । आफ्ना कुरा नमाने दण्ड दिने अभ्यास गर्न थाल्छौं । यसरी हामी सजायँ दिने संस्कार निर्माण गर्छौं ।
हृदयले आत्मसात नगरेसम्म जीवनमा लागू नहुने रहेछ । कुनै किताब पढेर जानेको भरमा सीप नसिकिने रहेछ । बालबालिकालाई दण्ड होइन माया र हौसला दिनुपर्छ भन्ने कुरा पढेर, छलफल गरेर, देखेर जाने पनि पालना गर्न कठिन भएको सत्य अहिले सम्झिरहेछु । एक वर्ष अवधिको शिक्षक तालिमबाट दीक्षित भएपछि मैले स्कूलको प्रिन्सिपलका रुपमा काम गरेँ । त्यसबखत सजायँ दिनुको विकल्प बारे कुरा गर्दा ‘अब केटाकेटीले हेपे’ भनेर प्रतिक्रिया सुन्नुपरेको थियो। जब कि मलाई भने विद्यार्थी मित्रवत लाग्थे । उनीहरुले आदर गरेकै अनुभूति म गर्थें । तर कुनै समय भने आत्मग्लानि हुने कर्म पनि गरियो । क्षमाप्रार्थी हुनुपर्ने गरी व्यवहार पनि गरियो । स्कूलमा सिक्न आएका बालबालिकालाई कडा बोलेर, छेडखान गरेर, घुरेर हेरेर, औंला ठड्याएर, पाइपको लौरा देखाएर, हत्केला रनन्न हुने गरी गालामा पड्काएर, ढाडमा आवाज आउने गरी बजाएर मै हुँ यहाँको राजा तिमीले मैले जे भन्यो त्यो मान्नुपर्छ भनेजसो व्यवहार गरियो । पदीय जिम्मवारीको कारण यसो गर्नुपर्ने दबाब आउँथ्यो । शिक्षक समुह, अभिभावक र प्रशासनिक सहकर्मीबाट । अनि मलाई कहिले त रुनु न हाँस्नु लाग्थ्यो । ‘फिलोसफी’लाई एकातिर लात मारेर जागिर खानुको पीडाबोध हुन्थ्यो कहिले त ।
अहिले सहजकर्ताको रुपमा केही स्कूलमा काम गर्दैगर्दा पनि सुन्छु, दण्ड नदिए बालबालिकाले टेर्दैनन् । भनेको मान्दैनन् । अनुशासित हुँदैनन् । मनलाग्दी गर्छन् । छाडा हुन्छन् । काम गर्दैनन् । यस्तै आरोप बालबालिकामाथि लाग्ने गर्दछ ।
ठूलाले जे भन्यो त्यो मान्नैपर्ने भन्ने हुन्छ र ? बालबालिकाले टेर्नुपर्ने हो कि जिम्मेवार बन्नुपर्ने हो ? अनुशासित हुनु भनेको लाटोसुधो हुनु हो कि ? के फूर्तिसाथ प्रश्न सोध्नु र आफुलाई चित्त नबुझेको कुरा प्रष्टसँग भन्नु अनुशासित नहुुनु हो ? आफ्नो रुचि लागेको काम गर्नु मनलाग्दी हुनु हो ? कुनै काम गर्न नसकेको खण्डमा आपराधिक हुने हो ? नजान्नु र नसक्नु दण्डनीय हुनु हो ? यी प्रश्नहरुमाथि घोत्लिनु जरुरी छ अनि बोध हुनेछ हामी कसरी बालबालिकालाई बाँधिरहेका छौं ।
हरेक साल बाल दिवस मनाइन्छ । बालबालिकाका पक्षमा नारा बन्छन् । कार्यक्रम गरिन्छन् । प्रतिबद्धताहरु गरिन्छन् । बाल दिवसका दिनमा गरेको वाचा भने एकै सातामा स्वाहा हुन्छन् । बालबालिकालाई शारिरीक वा मानसिक कुनै पनि किसिमको दण्ड सजायँ नदिने वाचा गरेका अनुहारले मलाई नै भनेको सम्झिन्छु, ‘कुट्न नपाउँने भए हामीलाई रिस नउठ्ने औषधि दिनूस् वा ती कामै नगर्ने केटाकेटीलाई काम गर्ने बनाइदिनूस् ।’ अनि आफ्नो विगत सम्झिन्छु ।
शिक्षकको भेषमा काम गर्दा ‘रामधुलाई’ पनि गरियो । कलिला मनको । जोसिला ज्यानको । यथार्थमा जसरी सिकेको त्यसरी नै काम गरेको हो । धुलाई गरे मन सफा बन्ला र मेहनतले कर्म गर्लान् भन्ने भ्रममा बाँचेको हाम्रो मनोविज्ञानलाई कठै भन्नुपर्ला । कुटेका कारण सुध्रेको एउटा पनि मानिस छैन र हुँदैन पनि । अन्तरचेतनाको ज्योति बलेको खण्डमा अरु केही जरुरत पर्दैन । त्यसका लागि सजायँले कत्ति पनि भूमिका निर्वाह गर्दैन । आज म र शिक्षा क्षेत्रका मेरा केही सहकर्मी साथीहरु आफूबाट भएका कमजोरीउपर आत्मसमीक्षा गर्दै बालमैत्री वातावरण र बालमैत्री व्यवहारका पक्षमा वकालत गरेर पाप कट्टी गर्दैछौं । कुनै पनि किसिमले बालबालिकालाई चोट पुग्ने काममा सहभागी नहुने बरु उनीहरुको पक्षमा बोलेर, केही काम गरेर लागिपर्ने वाचा गरेका छौं । क्षमायाचना गरेर लेखिरहेका छौं ।
बालबालिकाले सिक्ने क्रममा गरेका गल्तिलाई हामी दोष मानिदिन्छौं । त्यो उनीहरुको दोष नभएर सिक्ने प्रक्रियाको एउटा आवश्यक भूल हो । भूल गर्दै र प्रयत्न गर्दै बालबालिकाले ज्ञान निर्माण गर्छन् । सीप सिक्छन् । अब्बल बन्ने मार्गमा आत्मविश्वास निर्माण गर्छन् । यो कुरा बुझ्न भने हामीलाई समय लागिरहेछ । सजायँ दिएका कारण कोही ज्ञानी हुने भए, दण्ड दिएका कारण कोही सिपालु बन्ने भए, यातना दिएपछि कसैको प्रगति हुने भए संसारमा यातनागृहको पूजा हुन्थ्यो । ध्यानमार्ग र ज्ञानमार्गको खोजीमा किन मानिस भौतारिन पर्थ्याे । आजसम्म दण्डले सुधार भएको कुनै उदाहरण छ ? सजायँ दिएर प्रगति भएको कुनै घटना छ ? पक्कै छैन । त्यसो त सजायँ कसलाई दिइन्छ ? अपराधीलाई । अनि बालबालिकाले के अपराध गरेका हुन्छन् ? अपराधीलाई पनि सजायँ नदिइ काउन्सिलिङ् गर्ने बारे सोचिन्छ भने बालबालिकाका अबोध कर्म कसरी दण्डनीय सोच्न सकिन्छ ? जिज्ञासाले भरिएर गरेका क्रियाहरुलाई उदाहरण दिएर दण्ड दिनु अर्को अक्षम्य कर्म हो ।
बरु ठूलाको अनुसरण हुने सत्य ख्याल गर्ने हो भने हजुरबालाई भीरबाट खसाल्ने बेलामा छोराले बाबुलाई ‘त्यो डोको चाहिं नफाल्नूस् पछि तपाइँलाई फाल्नका लागि चाहिन्छ नि’ भनेको कथामा जस्तो हुन्छ यो सजायँ दिने परिपाटी । ठूलाले सानालाई दबाउने एउटा कृत्य हो यो । ठूलाले गरेको व्यवहार अरुमा प्रयोग गर्ने सन्दर्भमा कुटपिटमा हुर्केकोले सानालाई त्यस्तै व्यवहार गर्नसक्छ । यस्तो खतरनाक कुराको विकास भइरहेको कुरा त गम्भीर हो नि । यो पंक्तिकारले पनि कुटपिटको व्यवहार भोगेको थियो ।
गाउँमा भर्खरभर्खर टिभी ल्याइएको थियो । टिभी हेर्न भनेर कुनै घरमा गएको थिएँ । टिभी नहेर्नू, घर जानू भन्ने आदेश नमान्दा स्थानीय काकाले गाला रन्काएको अहिले नि याद आउँछ । बाटोमा हिंड्दै गर्दा किन आँखा तरिस् भनेर गाउँले दाजुले ‘किक’ दिएको पनि अस्ति हो जस्तो लाग्छ । स्कूल पढ्दाताका शिक्षकले दिमागै हल्लिने गरी गर्दनमा हानेको पनि हिजैजस्तो लागिराछ । कक्षा १ पढ्दादेखि नै साथीभाइसँग हिंस्रक भएर कुस्ती खेलेको पनि धेरै समय अघिजस्तो लाग्दैन । अहिले सम्झिन्छु, म त्यस्तो किन भएछु !
सजायँ शारीरिक मात्र हुँदैन । मनमा पुग्ने चोट झन् विषालु हुन्छ । भावनामा ठेस पुग्नु अझ धेरै दुख्ने घाउ हुनु हो । हामी गर्दैछौं हिंसा । गर्दैछौं आक्रमण । खासमा दण्ड सजायँ दिने भनेको त कुनै अपराधको दोषीलाई कानुनी वा सामाजिक रुपमा कारवाही गर्नु हो । तर सनकमा गरिने कुटपिटबाट पीडित भएका छन् बालबालिका । स्कूलमा, घरमा, समाजमा । हामी जानकारबाट पनि यस्तो भइरहेको हुन्छ । अवचेतन रुपमा । जानाजान पनि । अनावश्यक विषयमा प्रश्न सोधेर होस् वा जथाभावी रुपमा जिस्काएर हामी बालबालिकामाथि हिंसा गरिरहेका हुन्छौं । डर देखाएर, धम्क्याएर, तर्साएर, बेइज्जती गराएर, अरुसामुन्ने गाली गरेर उनीहरुलाई पीडा दिइरहेका हुन्छौं । हामीलाई त्यही व्यवहार अरुले गरे चाहिं अप्रिय लाग्छ। बालबालिकाको मनोबलमा कत्ति गिरावट आउँछ हाम्रै कारण, कहिल्यै विचार गर्दैनौं हामी । अनि हामी कल्पना गर्छौं सुन्दर र सभ्य समाजको । समृद्ध राष्ट्रको । यो बालबालिकामाथिको ठट्टा हो ।
दण्डसँग डर आउँछ । भय उत्पन्न हुन्छ । आत्मसम्मानमा ठेस पुग्छ । निको न नहुने गरी घाउ लाग्छ मनमा । बालबालिकाको प्रशंसा सबैका सामु गर्न सके उनीहरुको आत्मबल बृद्धि हुन्छ । केही बानी बारे टिप्पणी गर्नु परे एक्लै राखेर गर्न सके सुरक्षित हुन्छ । हामीले प्रयोग गर्ने भाषा शैली र शब्द चयनले पनि उनीहरुको जीवनमा अर्थ राख्छ भने हामीलाई चित्त नबुझेका खण्डमा आक्रामक भइहाल्छौं । के यसको दूरगामी असर कस्तो होला भनेर अनुमान गर्न सकौंला?
आफ्ना अग्रजको नाम ‘हिटलर’ राख्न कुनै बालकको रहर हुँदैन । यस्तै अरु केके जाति नामले हामीलाई सम्झिएको सुन्न हामीलाई पनि पक्कै मन छैन । बालबालिकाको हृदयमा सुन्दर नामले कुँदिनु भनेको ईश्वरको हृदयमा वास पाउँनु हो । अब आफैं निर्णय गर्नुस् तपाइँ आफ्नो नाम कस्तो होस् भन्ने चाहनुहुन्छ !