काठमाडौँ । २५ वर्षभन्दा अगाडि सन् १९९० मा विश्वस्तरीय, समग्र र सस्तो स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ओम नर्सिङ होमको नामबाट सुरु भएको हो। सुरुमा ८ शैया र ३ डाक्टरसहित ओम नर्सिङ होम सञ्चालनमा ल्याएको हस्पिटलले पछिल्लो समय सेवाग्राहीबाट बिश्वास गुमाउदै गएको छ।
चाबहिलस्थित ओम अस्पतालको लापरवाहीका कारण ३२ दिने नाबालकको ज्यान लिएको छ। लामो इतिहास बोकेको अस्पतालबाट चरम लापरबाही हुनु भनेको स्वास्थ्य क्षेत्रमा ओम अस्पताल प्रति बिश्वास गुम्दै जानु हो ।
मृतक बालकको बुबाले भने, ‘म एक पिता जसले आज आफ्नै आँखा अगाडि निको हुँदै गरेको आफ्नो सन्तानलाई अस्पतालको अक्षम्य लापरवाहीका कारण गुमाउनु परेको छ। चाबहिलस्थित ओम अस्पतालमा मेरो ३२ दिनको छोराको उपचारका क्रममा भएको घोर लापरवाही र गैरजिम्मेवारीपनका विरुद्ध यो वक्तव्य जारी गर्दैछु।’
घटनाको यथार्थ:
मेरो छोराको जन्म यसै ओम अस्पतालमा भएको थियो। जन्मिएलगत्तै श्वासप्रश्वासमा समस्या (आरडिएस) देखिएपछि हामीले एनआइसीयूमा भर्ना गरेका थियौँ। ३२ दिनसम्मको निरन्तर उपचार र हाम्रो ठुलो आर्थिक लगानीपछि बच्चाको स्वास्थ्यमा निकै सुधार आएको थियो। उपचारमा संलग्न चिकित्सकहरूले समेत बच्चाको अवस्था राम्रो भएको र ३ हप्ताभित्रै घर लैजान सकिने आश्वासन दिनुभएको थियो। हामीले बच्चालाई ‘कंगारु मदर केयर’ समेत सुरु गरिसकेका थियौँ र छोरालाई घर लैजाने सपना बुनिरहेका थियौँ। तर, एनआइसीयूमा कार्यरत स्टाफको चरम लापरवाहीले मेरो संसार उजाड बनाइदियो। पूर्ण रूपमा स्वस्थ हुँदै गएको र डिस्चार्जको तयारीमा रहेको मेरो बच्चालाई दूध खुवाउने क्रममा न्यूनतम सावधानी समेत नअपनाउँदा दूध सर्केर (फ़िडिङ्ग शक) उसको मृत्यु भयो। निको भइरहेको बच्चालाई दूध सार्काएर मार्नु भनेको लापरवाही मात्र होइन, यो सीधा हत्या हो।
पिडित पक्षको माग:
३२ दिनसम्म अस्पतालको महँगो शुल्क तिरेर बच्चा निको बनायौँ, तर अन्त्यमा अस्पतालका कर्मचारीको सानो गल्तीले मेरो बच्चाको ज्यान लियो। यस घटनामा म र मेरो परिवार निम्न मागहरू राख्दछौँ:
१. एनआइसीयूमा कार्यरत ती लापरवाही गर्ने स्टाफ र अस्पताल प्रशासनमाथि तत्काल निष्पक्ष छानबिन गरी कानुनी कारबाही गरियोस्।
२. अस्पतालले आफ्नो गल्ती सार्वजनिक रूपमा स्वीकार गरोस्।
३. यस्तो संवेदनशील ठाउँमा दक्ष जनशक्ति राखेर बिरामीको ज्यान लिने ओम अस्पतालको व्यवस्थापनमाथि छानबिन होस्।
पिडित पक्षको अपिल:
उपचार गर्ने ठाउँ नै मृत्युको घर बनेपछि हामी सर्वसाधारणले कहाँ विश्वास गर्ने? मेरो बच्चा त गयो, तर अरू कसैको सन्तानले यसरी अस्पतालको लापरवाहीका कारण ज्यान गुमाउनु नपरोस्। म न्यायका लागि सबै सञ्चारमाध्यम, मानवअधिकारकर्मी र आम नागरिकसँग सहयोगको अपिल गर्दछौ।