बाँके । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले राजनीति क्रान्ति संगसंगै आर्थिक क्रान्ति नहुदा नेपालमा समस्या आएको बताउनु भएको छ ।
उद्योग वाणिज्य संघ नेपालगंजले आईतवार नेपालगंजमा आयोजना गरेको ‘विप्लवसंग उत्पादनमुलक व्यावसाय’ विषयक छलफल कार्यक्रमलाई महासचिव विप्लव सीले सम्वोधन गर्दै राजनीति क्रान्ति संगसंगै आर्थिक क्रान्ति नहुदा नेपालमा समस्या आएको बताउनु भएको हो ।
महासचिव विप्लवले राजनीति क्रान्तिसंगै आर्थिक क्रान्ति नहुदा नेपालको राजनीति अलमलिएको टिप्पणी गर्नु भयो ।
उहाँले भन्नु भयो ‘राजनीति क्रान्तिसंग सुस्पष्ट आर्थिक क्रान्ति नहुदा नेपालको राजनीति अलमलियो, आर्थिक क्षेत्रमा परिवर्तन आएन, व्यवसायीहरु, युवाहरु र समग्र नेपाली श्रमशक्ति नेपालको अर्थराजनीतिबाट सन्तुष्टि हुन सकेन ।’
महासचिव विप्लवले २००७ सालदेखिको राजनीति क्रान्ति आंसिक रुपमा सफल भएपनि आर्थिक क्रान्ति भने सुस्पष्ट आर्थिक दृष्टिकोण नहुदा सफल हुन नसकेको बताउनु भयो ।
उहाँले सबै राजनीति पार्टी,सरकार र जनताको साँझा आर्थिक दृष्टिकोण हुनुपर्ने भन्दै त्यो हुन नसक्दा नेपाल एकपछि अर्को आर्थिक संकटमा धकेलिएको बताउनु भयो ।
नेकपाले राजनीति क्रान्ति भित्रको अधुरो पक्ष आर्थिक क्रान्तिलाई राजनीति क्रान्तिसंग जोड्न उत्पादन कार्यमा पार्टीलाई लगाएको उहाँले जिकिर गर्नु भयो ।
‘प्रतिबन्धको वेला नेकपालाई आर्थिक दृष्टिकोणवारे ठुलो अध्ययन गर्ने अवसर मिल्यो, नेपालका पार्टीहरु सत्तामा हुनेहरुले कमिशन र भ्रष्टाचार गरेर टिक्ने र वाहिर हुनेहरुले चन्दा उठाएर टिक्ने प्रवृति देखियो’ महासचिव विप्लवले भन्नु भयो, ‘यसलाई तोडन सकिएन भने नेपाल आत्मनिर्भर हुन सक्दैन भन्ने लाग्यो । त्यसपछि हामीले उत्पादनको क्रान्तिलाई अगाडि बढायौ । यो देखावटी होईन । भित्रैबाट नयाँ आर्थिक मार्गको संश्लेषण गर्यौ । एकीकृत स्वामित्वबाट विश्व कम्युनिष्ट आन्दोलनमा देखिएको आर्थिक दृष्टिकाणको समस्या समाधान गर्ने विचार लियौ । अहिले हाम्रो पार्टी त्यही दृष्टिकोणबाट उत्पादनमा छ । ३ बर्ष भनेपनि २ बर्षमै खान र वस्नका लागि हामीले कसैबाट चन्दा माग्नु पर्ने ठाँउमा छैनौ । हामीले पार्टीलाई ३ बर्षमा चन्दा मुक्त गर्ने भनेका छौ । चन्दा मागेर अबको राजनीति चल्न सक्दैन ।’
उहाँले देश र जनतालाई आत्मनिर्भर बनाउन श्रम गर्नुपर्छ भन्ने संस्कार सिकाउन नसकिएको औल्याउदै श्रम र समयलाई सबैले प्रयोग गरे देश समृद्धि हुने विचार राख्नु भयो ।
विप्लवले भन्नु भयो ‘आर्थिक उत्पादनमा नलाग्ने पार्टीहरु दलालमा परिणत हुन्छन, भ्रष्टाचार गर्न वाध्य हुन्छन, एरपोर्ट काण्ड बुझनु भएको छ । ५० लाख दैनिक व्यक्तिको कोषमा जाने कुरा आउछ । हामीले सुविधा भोग पनि गर्ने तर उत्पादन र श्रममा नलाग्ने कुरा सहि होईन । यसलाई बदल्नु पर्छ । राज्यसंग सुस्पष्ट आर्थिक सोच चाहिन्छ । पार्टीहरुका आफ्नै राजनीतिक विचार भएपनि देशको समृद्धिका लागि सबैको साझा आर्थिक दृष्टिकोण चाहिन्छ, अनिमात्र देश आत्मनिर्भर हुन्छ ।’
महासचिव विप्लवले नेपालमा भ्रष्टाचार महारोगको रुपमा व्यक्त भईरहेको बताउनु भयो ।
उहाँले श्रम र उत्पादन नगर्ने पार्टी कि त दलाल र भ्रष्टाचारी हुने कित सकिने ठाउँमा पुग्ने ठोकुवा गर्नु भयो ।
उहाँले खान र वस्नका लागि हरेक नागरिकले श्रम गर्नु पर्ने अनिवार्य भएको बताउनु भयो ।
महासचिव विप्लवले आफ्नो पार्टीले गर्ने कृषि उत्पादनले विस्तारै पार्टी आत्मनिर्भर हुदै गएको भन्दै यो बर्ष मात्र कृषि उत्पादनमा ५० प्रतिशतले वृद्धि हुने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले देशभर नेकपाले झण्डै ८० देखि १ करोड सम्मको धान उत्पादन गर्ने पनि खुलासा गर्दै आउने बर्षबाट उद्योगतिर पनि नेकपा जाने बताउनु भयो ।
व्यवसायीहरुलाई ढुक्क भएर लागानी गर्न अपिल गर्दै उहाँले नेकपाको उत्पादन कार्यमा सहकार्य गर्न आग्रह गर्नु भयो ।
महासचिव विप्लवले भन्नु भयो ‘नेकपाले नेपाली जनतालाई पैसा कमाउने ज्ञान दिन तयार छ, व्यवसायीहरुले पनि ढुक्क भएर लगानी गर्नुहोस । आफ्नै देशमा श्रम गर्ने वानी बसालौं । विदेशीको गुलामी भएर हुदैन । बरु श्रमको मुल्य पनि कम लियौ र वस्तुपनि सस्तो हुने गरी जनतामा दियौ । यसले आत्मनिर्भरतिर लिन्छ ।’
उहाँले पसिना बगाएर पैसा कमाउनु शोषण नभएको भन्दै मिटर व्याजमा पैसा लगाएर जनतालाई दुख दिनु र बैङ्कहरुले चर्को व्याजमा व्यवसायीको उठ्ठीवास गर्नु शोषण भएको जिकिर गर्नु भयो ।
महासचिव विप्लवले एक पटक देशलाई नयाँ बनाउने नेकपाको चाहान भएको भन्दै सबैलाई साथ दिन अपिल गर्नु भयो । उहाँले नेपालका कम्युनिष्ट समाजवादी शक्तिसंग नेकपा समाजवादी अर्थतन्त्र र समाजवादका लागि सहकार्य र एकता गर्न तयार भएको पनि
बताउनु भयो ।