आज दोरम्बा हत्याकाण्ड स्मृति दिवस: विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं ।  तत्कालीन जनयुद्धको समयमा भएका थुप्रै सामुहिक हत्याकाण्ड मध्ये एउटा घटना थियो दोरम्बा हत्याकाण्ड ।रामेछापको दोरम्बामा भएको उक्त हत्याकाण्डमा ज्यान गुमाउने २१ जना योद्धाहरुको सम्मानमा आज विभिन्न कार्यक्रम गरी स्मरण गरिदै छ।माओवादी घटक सम्बद्ध विभिन्न मोर्चा र निकायहरुले दोरम्बा हत्याकाण्डको स्मृतिमा रचनात्मक कार्यक्रम गरी स्मरण गर्ने गरेका छन् ।

सरकार र माओवादीबिच बार्ता चलिरहेको बेला २०६० साल साउन ३२ गते रामेछाप दोरम्बाको डाँडाकटेरीमा तत्कालीन शाही सेनाले रामेछाप जनसरकार प्रमुख बाबुराम लामा (पुष्प), अम्बिका दाहाल (ललिका), उमा कार्की (सहारा), विष्णुमाया थापामगर (बिमा), विमला, उषा, रक्तिम, हर्कबहादुर तामाङ (यथार्थ), रवि चौहान (समीर), श्याम तामाङ (इन्क्लाब), पदमराज गिरी (असल), ठूलोराम तामाङ (छोक्पा), सानोराम तामाङ (तारा), लक्ष्मण तामाङ (छायाँ), जमिन, सोम, युवराज मोक्तान, लीला मोक्तान, टेकबहादुर थापामगर (विवेक), चतुर्मान थामी (समर) सहित २१ जनाको विभत्स र बर्बरतापूर्वक हत्या गरेको थियो ।

तत्कालीन शाही सत्ताको सैनिक मेजर राममणि पोखरेल नेतृत्वमा खटिएको टोलिले सरकार–माओवादीबीच दाङको हापुरेमा शान्तिवार्ता चलिरहेको अवस्थामा गरिएको यो हत्याकाण्ड तत्कालीन शाही सत्ताले घटाएको कुख्यात हत्याकाण्डको रुपमा चर्चित छ । निहत्था र निर्दोष माओवादी नेताकार्यकर्तालाई नियन्त्रणमा लिएर आँखामा पट्टी बाँधी हात बाँधेर घिस्याउँदै लाम लगाएर बीभत्स र क्रूर तरिकाले उक्त हत्याकक्ण्ड गरिएको थियो।

उक्त घटनालाई लिएर हापुरे वार्ता भंग भएको थियो । युद्धविरामको बेला भएको त्यस घटनालाई सेनाले दोहोरो भिडन्तमा मारिएका भनेको थियो । तर नियन्त्रणमा लिएर मारेको भन्दै सर्वत्र निन्दा भएपछि सरकारले बनाएको छानबिन आयोगले सेनाले दोरम्बामा नियन्त्रणमा लिएर डाँडाकटेरीमा पुर्‍याई हत्या गरेको निष्कर्षसहितको प्रतिवेदन समेत बुझाएको थियो ।

तत्कालीन सरकारी वार्ता टोली र माओवादी वार्ता टोलीबीच दाङको हापुरेमा शान्ति वार्ता चलिरहेको बेला सरकारी वार्ता टोलीको नेतृत्व डा. प्रकाशचन्द्र लोहनीले गरेका थिए भने माओवादी वार्ता टोलीको नेतृत्व डा. बाबुराम भट्टराईले गरेका थिए । हापुरेमा वार्ता चलिरहेकै बेला हत्याकाण्डको खबर फैलिए सङ्गै दोस्रो चरणको बार्ता भाँडिएर देश पुनः युद्धको स्थितिमा फर्केको थियो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार