नेकपा नेता माईला सीको चेतावनी: ‘एमसीए प्रमुख विष्टको हिसाबकिताब जनताले गर्नेछन’

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य माईला सीले एमसीसी अन्तरगत एमसीए नेपालका प्रमुख खड्गवहादुर विष्टसंग नेपाली जनताले एकदिन हिसावकिताव गर्ने चेतावनी दिनु भएको छ ।

काठमाडौमा एमसीसी विरुद्ध निकालिएको विरोध प्रदर्शन पछिको कोणसभालाई शुक्रवार सम्बोधन गर्दै नेता माईला सीले एमसीए नेपालका प्रमुख खड्गवहादुर विष्टसंग नेपाली जनताले एकदिन हिसाबकिताव गर्ने चेतावनी दिनु भएको हो ।

उहाँले भन्नुभयो, ‘एमसीए प्रमुख खड्गबहादुर विष्टको हिसाब किताब नेपाली जनताले एक दिन गर्नेछन् । त्यसले भयंकर मृत्यु मर्नुपर्ने छ । त्यो दिन पनि आउँछ । इन्डियामा लेण्डुप दोर्जेको अवस्था कस्तो भएको थियो । संसारमा आफ्नो स्वार्थको लागि मुलुकलाई दाउमा राखेर सत्ताको निम्ति मरिहत्ते गर्ने मान्छेको अवस्था कस्तो भएको थियोे । नेपालका शासकहरूको पनि त्यो दिन आउँछ । त्यसैले हाम्रो च्यालेन्ज छ एमसीसीलाई जबर्जस्ती नेपालीहरू माथि लाद्न सकिदैन ।’

नेता माइला सीले नेपालका दलाल नेताहरुले विदेशीलाई खुसी पार्न एमसीसी पारित गरेको जिकिर गर्नु भयो । उहाँले नेपालका नेताहरू साम्राज्यवादको गोटी हुँदा मुलुक भयंकर खतरामा धकेलिएको आरोप पनि लगाउनु भयो ।

नेता माईलाले हिन्द प्रशान्त सैन्य रणनीति अनुसार नेपालमा एमसीसी लाद्न खोजेको भन्दै यदि एमसीसी कार्यान्वयन भए नेपाल युक्रेनको जस्तो हालतमा पुग्ने दावी गर्नुभयो ।

‘आज युक्रेन किन विश्वका हतियारहरूको परिक्षण केन्द्र बन्दैछ ? युक्रेन जसरी बर्वाद भएको छ,दशकौंसम्म उठ्न गाह्रो हुन्छ । संसार जसरी एक ध्रुवीय विश्वमा थियो ।अहिले त्यो टुटेको छ, हटेको छ । अमेरिकी दादागिरी अन्त्य भएको छ । विश्व बहुध्रुवीय शक्ति सन्तुलनमा तिर छ’ नेता माईलाले भन्नु भयो ।

उहाँले अमेरिकनहरूले जतापनि टोक्दै गएको भन्दै भन्नु भयो ‘युक्रेनलाई खरानी बनाएको छ । लिवियाको हालत पनि हामीले देखेकै छौं । सिरियाको दर्दनाक कथा हामीले नपढेको हैन ।’

उहाँले नालायक नेता र एजेन्डाहरूले देशलाई भयावह खतरामा धकेलेको भन्दै संसारभरीको मानवअधिकारको ठेक्का लिएको अमेरिकाले प्यालेस्टाइनलाई गरेको ब्यवहार पनि सबैले हेरेको बताउनु भयो ।

“नाबालकहरूलाई बमले उढाएको, खाना खान लाइन बसेका माथि बमले उढाएको अमेरिकाको डेमोक्रेटी कता हरायो ?” उहाँले प्रश्न गर्नु भयो ।

उहाँले अमेरिका एउटा बहुलाह कुकुरले टुक्दै हिडे जस्तै आतंक मचाउदै हिडेको टिप्पणी गर्नु भयो ।

नेता माईलाले भन्नु भयो ‘आज उसको लागि रसिया भन्दा पनि चाइना खतरा भन्दै गएको छ । त्यसैले चीनलाई घेरा हाल्न सैन्य रणनीतिका साथ नेपालको भूभाग प्रयोग गर्न खोजेको हो । नेपाल एउटा यस्तो अनुकूल भूगोल हो, जहाँबाट चीनलाई घेरा हाल्न सकिन्छ भन्ने नीतिसहित अमेरिका नेपाल पसेको छ ।’

नेता माईलाले एमसीसी लागु भएका देशमा पनि कसैलाई सुख शान्ति नदिएको भन्दै विकासको नाममा नेपाललाई पनि विनास गर्न एमसीसी आएको ठोकुवा गर्नु भयो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार