बागलुङ । यतिबेला पर्यटकको आगमनले दिप्त छ ढोरपाटन। बर्खाको समयमा बढी चहलपहल हुने बुकी क्षेत्र हिउँदमा भने सुनसान हुन्छ ।
बर्खायाममा बुकी पुग्ने पर्यटकले हरियाली उच्च पहाड, पाटन, खर्क, दर्जनौँ हिमशृङ्खलाको दृश्यावलोकन गर्न सक्छन् भने नजिकबाट गोठालाको जनजीवन अनुभूति गर्न सक्छन् ।
एक दशक अगाडिसम्म ढोरपाटन घुम्न पुग्ने पर्यटक निकै कम थिए। जनैपूर्णिमामा ढोरबहार मन्दिरमा पूजा गर्न आउने भक्तजनबाहेक अन्य पर्यटक कमै पुग्ने स्थानियले बताए।
दर्शनका लागि पुगेको भक्तजनलाई फाँटैभरी फूलेको वनफूलले छुनै सकेको थिएन।
तर पछिल्लो समय ढोरपाटन पुग्ने पर्यटक रङ्गीचङ्गी वनफूलसँग पिरती नगाँसी फर्किनन्।
खासगरी बर्खाको समयमा ढोरपाटन बढी रमणीय देखिन्छ।
अझ पाटनभरी फूलेका वनफूलले यहाँको सुन्दरतालाई बढाएको छ।
सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको प्रचारले वनफुलसँग तस्बिर र भिडियो खिच्न आउने पर्यटक बढी रहेका छन्।
यो बर्ष २५००० भन्दा बढी पर्यटकको आगमन भएको एक स्थानियले बताए।
