काठमाडौं । नक्कली नोट र लागुऔषध अफिम जस्तो देखिने वस्तु सहित पक्राउ परेका जनगर्जन मिडिया नेटवर्क प्रालिका संचालक मनवहादुर सहकारीलाई विप्लव नेतृत्वको नेकपाले एक बर्षअघि नै कार्वाही गरेको पाईएको छ ।
नेकपाको कपिलवस्तु जिल्ला सदस्य रहेका मनवहादुरलाई २०८१ साल माघ २४ गते नेकपा कपिलवस्तुले पार्टीबाट अनिश्चितकालका लागि कार्वाही गरेको पाईएको हो ।
मनवहादुरले पार्टी नीति विपरित पहिलेदेखि काम गरिरहेको भन्दै तत्कालिन नेकपा कपिलवस्तुका जिल्ला सेक्रेटरी सन्देस सीले कार्वाही गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेकपा कपिलवस्तुले जारी गरेको विज्ञप्तिमा मनवहादुरलाई अनिश्चितकालका लागि कार्वाही गरिएको र उनीवाट संचालित “जन गर्जन नेटवर्क प्रा. लि. “ संग पार्टीको कुनै साइनो –सम्बन्ध हिजो पनि नभएको र अब पनि नरहने भनि स्पष्ट पारिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘पार्टी परिवारलाई परिचालन गर्ने शिलशिलामा जिल्ला पार्टी सदस्य क. मनवहादुर सहकारी (विश्वास सी) ले पार्टी नीति विपरित काम गरेकाले उहाँलाई आजको मितिदेखी लागू हुने गरि अनिश्चितकालका लागि जिल्ला सदस्यको जिम्मेवारीवाट निलम्बन गरिएको विषय यसै विज्ञप्ति मार्फत सम्बन्धीत सबैलाई जानकारी गराउदछौ । साथै क. मनवहादुर सहकारी ( विश्वास सी) द्वारा संचालित “जन गर्जन नेटवर्क प्रा. लि.” संग हाम्रो पार्टीको कुनै साइनो –सम्बन्ध हिजो पनि थिएन र अब पनि नरहने व्यवहोरा अवगत गराउन चाहान्छौं ।’
नेकपाले यसरी १ बर्ष अघि नै आफ्नो पार्टीबाट कार्वाही गरेका मनवहादुर नक्कली नोट र लागु औषध कारोवारको आरोपमा असार ३२ गते कोहलपुरमा पक्राउ गरेका थिए ।
उनी पक्राउ परे लगत्तै उनको नामसंग नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड र नेता चिरन पुनको नाम जोडेर रातोमसी अनलाईन पत्रिकाले समाचार लेखेको भन्दै नेकपाले आपत्ति प्रकट गरेको छ ।
नेकपाका प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवादीका गोटी तथा दलाल मिडियाहरुले पार्टीको लोकप्रियतालाई कमजोर बनाउन गलत तथा भ्रामक समाचार लेखेको भन्दै निन्दा गर्नु भयो ।
नेकपाका प्रवक्ता प्रकाण्डका कठोर आलोचक तथा विप्लव नेकपाबाटै भागेका पत्रकार जन्मदेव जैसीले सम्पादक रहेको मिडिया ‘रातोमसी’ नामक अनलाईन पत्रिकाले नेताहरुको नाम जोडेर गलत सन्देश जानेगरी समाचार लेखेकोमा नेकपाका प्रवक्ता प्रकाण्ड सीले गलत तथा भ्रामक समाचार लेखेको भन्दै निन्दा गर्नु भएको हो ।
नेकपाले यो विषयलाई पार्टीले गम्भीर रुपमा लिएको पनि जनाएको छ । पत्रकार जन्मदेव जैसी कालिकोट जिल्ला शान्नित्रिवेणी गाउँपालिका रकु घर भएका पत्रकार हुन ।
उनी वेला वेला पार्टी बदल्ने र विवादमा तानिने पत्रकार पनि हुन । पत्रकार जैसी अहिले नेकपा माओवादी केन्द्रमा संगठित भएपनि उनी माओवादी केन्द्र र उसको प्रेस सेन्टरबाट समेत असन्तुष्ट छन । जसका कारण उनले श्रमजीवी पत्रकार संगठन भनेर छुट्टै पत्रकार संगठन समेत खोलेका छन ।
जुन पार्टीमा लागेपनि असन्तुष्टिका पोका पोख्ने पत्रकार जैसीले विप्लव नेतृत्वको नेकपामा हुदा पत्रकार संगठनको अध्यक्ष हुन निकै प्रयास गरेका थिए ।
तर पार्टीले नवनाएपछि असन्तुष्ट भएर उनी पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनै पत्रकार जैसीले पूर्वाग्रहको पोकोका आधारले नेकपाका नेताहरुको नामहरु र फोटोहरु मनवहादुरसंग जोडेर समाचार लेखेको भन्दै नेकपाले आपत्ति जनाएको हो ।
समाचारमा कथित भ्रामक र कपोकल्पित विषय उठाएर पार्टी नेता र पार्टीलाई बदनाम गर्न खोजिएको नेकपाको दाबी छ ।
पत्रकार जैसी सम्पादक रहेको रातोमसी अनलाईन पत्रिकाले ‘विप्लवका पत्रकारको नक्कली नोट र लागु औषधको गोदाम’ भन्ने शिर्षकको समाचार असार ३२ गते छापेको थियो ।
समाचारमा पत्रकार मनवहादुरको महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर बिक र नेता चिरन पुनलगायतका नेताहरुसँग राम्रो सम्बन्ध रहेको भनेर लेखिएको छ ।
यस्तै रातोमसीले लेखेको समाचरमा केही दिनअघि मात्रै प्रवक्ता खड्गबहादुर बिक जनगर्जनको कार्यालयमा समेत पुगेको भनेर भ्रामक समाचार पनि लेखिएको छ ।
नेकपाले यो समाचार तथ्यहिन र कपोकल्पित भएको भन्दै कडा खण्डन गरेको छ । नेकपाका प्रवक्ता प्रकाण्ड सी बाँकेको खजुरामा पार्टीको केन्द्रीय उत्पादनको धान रोप्नको लागि असार २८ गते राती बाँके पुग्नु भएको थियो ।
तर उहाँ पार्टीको उत्पादनको काम र पार्टीको आन्तरिक भेटघाटमा व्यस्त भएको बेला जनगर्जनको कार्यालयमा पुगेको भनेर समाचार लेख्नु कथित साम्राज्यवादी डिजाईन अन्तरगत भएको प्रवक्ता प्रकाण्डले बताउनु भएको छ ।
पत्रकार मनवहादुर पार्टीले कार्वाही गर्नु पूर्व जनपत्रकार संगठन नेपालको केन्द्रीय सदस्य भएपनि पार्टीको कार्वाही पछि उहाँ स्वत जनपत्रकार संगठन नेपालको केन्द्रीय सदस्यबाट पदमुक्त भएको जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरवहादुर विश्वकर्माले बताउनु भएको छ ।
पार्टी संगठन र पत्रकार संगठन भित्र नभएको बेला पक्राउ परेका मनवहादुरको नामसंग नेकपाका नेताहरुको नाम जोडेर फोटो सहित समाचार छापिनु पार्टी र नेतामाथिको मानमर्दन भएको अध्यक्ष शेरवहादुरले प्रतिक्रिया दिनु भयो ।
प्रहरीले मनवहादुरको कोहलपुरमा रहेको जन गर्जन मिडियाको कार्यालयबाट १९ केजी अफिम जस्तो देखिने वस्तु र ५१ हजार नक्कली नोट सहित मनवहादुरलाई पक्राउ गरेको सार्वजनिक गरेको थियो ।
मनवहादुरलाई सुर्खेत पुर्याएर थप जाजरकोट कुशे गाउँपालिका—५, की २२ वर्षीय दिलमाया सिंह ठकुरी, सोही ठाउँका ३३ वर्षीय रामबहादुर सिंह, कुशे गाउँपालिका—७, समकोट घर भई हाल भेरीगंगा नगरपालिका—१२, ठकुरी टोलस्थित डेरामा बस्दै आएका ३५ वर्षीय कृष्णबहादुर वली, सोही ठाउँका ३८ वर्षीय प्रेमबहादुर विकलाई १३ लाख नक्कली नोट र ३० केजी अफिम जस्तो देखिने वस्तु सहित सार्वजनिक गरेको थियो । सो क्रममा मिडियाको कार्यलयमा भेटिएका कम्प्युटर,प्रिन्टर र क्यामेरा पनि सार्वजनिक गरिएकाे थियाे।