काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले जापानमाथि ९ विकेटको सहज जित निकालेको छ ।
मंगलबार मलेसियाको जाफर ओभरमा जापानले दिएको ८१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १४ ओभर २ बलमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि शिवान्स बजगाइले सर्वाधिक ३८ रन बनाए । त्यस्तै प्रसिद्ध जैशीले ३३ रन बनाए ।
जापानका लागि कैशी कोबायासी दोगेटले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले ३४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८० रन बनाएको थियो ।
जापानका लागि कप्तान चार्ली हराहिन्जेले सर्वाधिक ३६ रन बनाए । गब्बी हराहिन्जे १३ रन बनाउन बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ नेपालका लागि शुभम खनालले सर्वाधिक ५ विकेट लिए । अभय यादवले २ विकेट लिँदा सुशील रावल र कप्तान विपिन शर्माको नाममा एक–एक विकेट रह्यो ।
जितसँगै नेपालले समूह ए मा दुई खेलबाट ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । समूह ए मा नेपालसँगै जापान, सिंगापुर, भुटान र इन्डोनेसिया रहेका छन् ।