काठमाडौं । प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई जना उपप्रधानमन्त्रीलाई संसदको रोस्टमबाट सरापेका छन ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सत्तारुढ कांग्रेस सांसद तामाङले उपप्रधान तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंह र अर्थमन्त्री विष्णु पौडेललाई आगामी निर्वाचनबाट संसद्मा नआऊन् भन्दै सरापेका हुन ।
बजेट विनियोजनमा सिंह र पौडेलले मन्त्रालयगत आयोजना वितरण गर्दा आ–आफ्ना निर्वाचन क्षेत्र र जिल्लालाई मात्रै केन्द्रित गरेको उनको आरोप छ। सिंहले काठमाडौं र पौडेलले रुपन्देहीमा मात्रै बजेट केन्द्रित गरको तामाङको भनाइ थियो। ‘२०८४ को चुनावमा यी दुईवटै उपप्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा बुद्ध भगवान र पशुपितिनाथसँग प्रार्थना गर्छु,’, सराप्दै भनेका छन् ।
‘यहाँहरूले ३ करोडभन्दा मुनीको बजेट विनियोजन नगर्ने भन्नुभएको होइन, उपप्रधानमन्त्रीहरूलेरु आज काठमाडौं जिल्लामा २ लाखदेखि २ करोडसम्मका १५० योजना छन् । रुपन्देहीमा ७९ वटा हाल्ने ? यसरी चल्छ ?’, उनले सोधे। सिंहले सहरी विकास मन्त्रालयका २०७ योजना काठमाडौं जिल्लामा मात्रै राखेको र अन्य जिल्लामा वितरण नगरेको उनको आरोप छ। सिंह र तामाङ दुवै कांग्रेसका सांसद हुन्।
सिंहविरुद्ध पार्टीको आगामी महाधिवेशनमा प्रश्न उठाउने पनि तामाङको भनाइ छ। ‘तपाईं प्रधानमन्त्रीको लाइनमा रहेको मान्छे अब के हुनुहुन्छ ? राजनीतिमा कहाँ जानुहुन्छ ? यस्तै तरिकाले ७७ जिल्लाको, हामी हो नि महाधिवेशन भएर १५ औँमा आउने। त्यतिबेला नाराजुलुस गरिदियो भने तपाईंको इज्जत कहाँ पुग्छ ? तपाईंले काठमाडौं जिल्लालाई मात्रै देख्ने ? ‘१५औँ महाधिवेशनमा तपाईंसँग छलफल हुन्छ,’ उनले थपे, ‘हामी पनि चुनाव त जितेर आउँला नि। तपाईंलाई मैले दलमा भन्ने कुरा गर्न लागेको थिए, दलले बैठक राखेन।’
७७ वटै जिल्ला र १६५ निर्वाचन क्षेत्रमा योजनाको विनियोजन नगरेकोप्रति उपप्रधानमन्त्रीहरूप्रति सत्तारुढ दलका सांसदले आपत्ति जनाएका हुन्। ‘यो तरिकाले तपाईंको राजनीति सप्रिन्छ ? प्रधानमन्त्री र पार्टी सभापति हुने आशा गरेको थिए, यो तरिकाले देश चल्दैन, डुब्छ। कांग्रेसहरू डुबिसक्यो’, उनले भने।