चीनले दियो नेपालमा बाढी आउने सुचना, सिन्धुपाल्चोक र काभ्रेमा अलर्ट

काठमाडौं । चिनियाँ अधिकारीहरूले नेपालसँग जोडिएको सीमा क्षेत्रमा ‘अत्यधिक वर्षा’को सम्भावना रहेको जानकारी दिँदै सतर्कता अपनाउन नेपाली अधिकारीहरूलाई भनेका छन ।

सो सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र काभ्रेले सतर्कता अपनाएका छन ।

सिन्धुपाल्चोक प्रशासनले विज्ञप्ति जारी गरेर असार ७ गतेसम्म सतर्कता अपनाउन जिल्लावासीलाई अनुरोध गरेको छ । सिन्धुपाल्चोक प्रशासनले जारी गरेको सूचनामा तिब्बत क्षेत्रमा ‘अत्यधिक वर्षा’ हुन सक्ने सम्भावना रहेकाले भोटेकोशी र सुनकोशी नदी आसपासका ६ वटा पालिकाका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ ।

‘भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशीरसुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकाले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरूमा सतर्कता अपनाउन अनुरोध छ’ सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले आज जारी गरेको सूचनामा लेखिएको छ ।यसैगरी काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले पनि सूचना जारी गरी भुम्लु, तेमाल र रोशी गाउँपालिकाका तटीय क्षेत्रका बस्ती जोखिममा पर्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।

कसरी प्राप्त भयो यो सूचना :

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले चिनियाँ सुरक्षाकर्मीहरूबाट पाएको जानकारीको आधारमा आफूहरूले पनि सूचना जारी गरेको बताए ।

‘तातोपानी बोर्डर क्षेत्रमा खटिएका चिनियाँ सुरक्षाकर्मीले दिएको जानकारीको आधारमा हामीले यो सूचना जारी गरेका हौं,’ प्रमुख जिल्ला अधिकारी थापाले अनलाइनखबरसँग भने, ‘सीमा क्षेत्रमा एकअर्कालाई सूचना आदान प्रदान गर्ने भन्ने हुन्छ । सोही अनुसार चिनियाँ पक्षबाट अत्यधिक पानी पर्दैछ है भनेर हाम्रो सशस्त्र प्रहरीलाई र सशस्त्र प्रहरीले जिल्ला प्रशासन कार्यालयलाई सूचना दिएको थियो ।’

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार