काठमाडौँ । अख्तियारले गत बुधबार अध्यागमन कार्यालयका प्रमुख सह-सचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि गृहमन्त्री रमेश लेखकसमेत ‘भिजिट भिसा’ प्रकरणमा मुछिएको कुरा बाहिर आएको थियो।
यसै बिषयलाई लिएर गृह मन्त्री रमेश लेखकले आफु यस बिषयमा सामेल नभएको र भएको खण्डमा राजनीतिबाट सदाका लागि बाहिरिने अभिव्यक्ति राखे। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका थिए ।
गृहको जिम्मा लेखकलाई सुम्पिएपछि तीर्थराज भट्टराई अध्यागमन कार्यालयमा तानिएका थिए।
यसै बिषयको चर्चा चुलिएपछि मन्त्रिले आजै बिज्ञप्ति निकाल्ने जानकारी दिएका थिए। झट्ट प्रेस विज्ञप्ति हेर्दा घटनाप्रति मन्त्रालय जिम्मेवारीबाट पन्छिन खोजेको देखिन्छ।
प्रेस विज्ञप्तिमा के लेखिएको छ?
विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवम् क्रियाप्रतिक्रिया प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।
यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएको प्रति मन्त्रालय दुःख व्यक्त गर्दछ। यस्ता कुनैपनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं। साथै, विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सवैमा अनुरोध गर्दछौ।
मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको छ। मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यहरू समेत गर्दै आइरहेको छ।
पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीका सम्वन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने नै छ। आयोगबाट हुने छानविन तथा अनुसन्धान सम्वन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ।