काठमाडौँ । नागरिकलाई सरकारप्रति भरोसा जगाउन काठमाडौँ महानगरपालिकाले अहम् भूमिका खेलेको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बताए । आज टुँडिखेलमा आयोजना गरिएको ३० औँ महानगर दिवसको मुल समारोहमा बोल्दै, ‘जनस्स्वास्थ्य, वातावरणीय सुधार, सामुदायिक विद्यालयको शैक्षिक स्तरउन्नति, रोजगारी र आयसहित पूर्वाधार, आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा महानगरपालिकाकाले सम्पन्न गरेका काम काम र हासिल गरेका उपलब्धि अनुकरणीय, अनुसरणीय र सिकाइ योग्य रहेका छन् ।’
‘गएको आर्थिक बर्षदेखि महानगरपालिकाले कार्यान्वयनमा ल्याएका महानगर गौरवका योजनाले दिगो रणनीतिक विकास र सहजतामा टेवा पुग्ने ठानेको छु । स्वर्णिम योजनाबाट आम नागरिकसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य, शिक्षा, खेलकुद, सिप तथा क्षमता विकाससहित रोजगार प्रवर्धन, वातावरण सुधार र पूर्वाधार कार्यमा तत्काल लाभ प्राप्त हुन सक्ने ठानेको छु ।’ उपराष्ट्रपति यादवले बताए।
महानगरपालिकाका प्रमुख एवं दिवस मुल समारोह समितिका संयोजक बालेन्द्र शाह (बालेन) ले, महानगरपालिकाको संस्थागत विकास र सुशासनमा योगदान पुर्याउने सबैको योगदान कदर योग्य भएको बताए । ‘सफाइकर्मी, नगर प्रहरी, राष्ट्रसेवक कर्मचारीसहित काठमाडौँलाई काठमाडौँ महानगरपालिका बनाउने सबैप्रति आभार प्रकट गर्न चाहन्छु ।’
‘संघीय राजधानी सहर भएकोले यस सहरलाई सबैले आफ्नो भन्न सक्ने, बस्न योग्य, व्यवस्थित र सुरक्षित सांस्कृतिक सहर निर्माण गर्न क्षेत्रगत सहयोग निरन्तर प्राप्त भइरहने अपेक्षा गरेको छु ।’ प्रमुख शाहले भन्नुभयो, ‘इच्छुक सबै सहभागी हुन सक्ने गरी आज बेलुका सांगीतिक कार्यक्रम आयोजना हुन लागेको छ । काठमाडौँ भ्यु टावर र टुँडिखेलमै पनि पार्किङ् सुविधा उपलब्ध गराइएको छ । कार्यक्रममा सहभागी भइदिनु हुन सबैमा अनुरोध गर्दछु ।’ ‘काठमाडौँलाई वैवभशाली र पहुँचयुक्त सहर बनाउन क्षेत्रगत नीति, योजना र कार्यक्रममार्फत महानगरपालिकाले काम गरिरहेको छ ।’ नगर प्रमुख शाहले बताए।
कार्यक्रममा बोल्दै उपप्रमुख सुनिता डंगोलले, ‘सन्तुलित विकास निर्माण, विकास व्यवस्थापन तथा सहरी सेवा सुविधाको न्यायोचित उपयोगका लागि आवश्यक सबै अङ्गको सवलीकरणलाई एकीकृत र समन्वयात्मक पद्धतिबाट कार्यान्वयन गरिरहेका छौँ ।’ ‘नागरिकमैत्री, मितव्ययी, प्रभावकारी, नतिजामूलक, सहभागितामूलक र पारदर्शी सेवाका लागि सूचना प्रविधिको अधिकतम र प्रभावकारी प्रयोग गरिएको छ।’
सामाजिक उन्नयनका लागि विभिन्न क्षेत्रमा रहेर योगदान पुर्याउने १० जना व्यक्तित्वलाई समारोहमा सम्मान गरिएको थियो । उपराष्ट्रपति यादव, प्रमुख शाह र उपप्रमुख डंगोलले सम्मानित सबैलाई सम्मान गरेका थिए।
यसरी सम्मानित हुनेमा लोक गायनका क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा. अरुण सायमी, राजनीति र समाज सेवातर्फबाट महानगरपालिकाका पूर्व प्रमुख पि. एल. सिंह, कलाकारितामा चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के. सुन्दरलाई सम्मान भएका छन् । यस्तै खेल क्षेत्रतर्फ तेक्वान्दोबाट संगिना वैद्य, भलिवलबाट प्रतिभा माली र क्रिकेटबाट ज्ञानेन्द्र मल्ल सम्मानित भए। सम्मानित व्यक्तित्वहरुलाई नगद १ लाख ५० हजार रुपैयाँसहित दोसल्ला ओढाइएको थियो ।
समारोहमा सबै वडाबाट ल्याइएका सांस्कृतिक झाँकी, महानगर प्रहरी बलको कवाज, खेललगायत प्रदर्शन गरिएका थिए । महानगरपालिकाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गर्ने साधन तथा उपकरणहरुको प्रदर्शन गरिएको थियो । यस्ता साधन तथा उपकरणमा दमकल, एम्बुलेन्स, सडक सफा गर्ने ब्रुमर, फोहर संकलन गर्ने सवारी साधनहरु थिए ।
दिवसका अवसरमा हिजो राष्ट्रिय सभा गृहमा एक कार्यक्रम आयोजना गरेर २३६ जना परम्परागत बाजा गुरुहरुलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरेको छ । ज्यापु महागुथि नेपाः, येँ महानगर समितिबाट शिफारिस हुनुभएका परम्परागत ६३ टोलका ६३ जना मु–धिमे गुरु र ५४ जना दाफा खिं गुरु, गुंलाबाजं व्यवस्थापन व संरक्षण संघबाट सिफारिस हुनुभएका २५ टोलका एकएक जना गुरु, नेपाल खड्गी सेवा समितिबाट शिफारिस भएका ६९ टोलका एक एक जना नायःखिं बाजं गुरु, नेपाल राष्ट्रिय खड्गी समाजबाट ९ टोलबाट शिफारिस भएका १५ जना गुरु, केन्द्रीय मानन्धर संघबाट सिफारिस हुनुभएका ३ टोलका ३ जना र विभिन्न संघसंस्थाहरुबाट शिफारिस हुनुभएका ७ जना बाजा गुरु थिए ।
सोही कार्यक्रममा विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको थियो ।
आज विहान १० बजेदेखि टुँडिखेल मैदानमा मौलिक खाना र पेय पदार्थ र एक वडा एक नमूना उत्पादनअन्तर्गत उत्पादित वस्तु तथा सामग्रीको प्रदर्शनी सुरु भएको छ । यही ठाउँमा अपरान्ह सांगीतिक कार्यक्रम आयोजना हुनेछ । यसको सबै तयारी पूरा भइसकेको छ ।
कार्यक्रममा बाबुकृष्ण परियार, इन्द्रकला राई, उर्गेन दोङ्, सुगम पोखरेल एण्ड द बाजागाजा, केहर लिम्बू एण्ड जोय व्याण्ड, महेश काफ्ले, अस्मिता अधिकारी, कुमा सागर, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, रचना रिमाल, सुशान्त घिमिरे, सन्दिप विष्ट, चक्र बमसहित कलाकारको प्रस्तुति रहेको थियो।
१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । ०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।