वेस्टइन्डिजका प्रसिद्ध क्रिकेटर ब्रायन लारा आज नेपाल आएका छन ।बिशेषत उनी राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को अवलोकनका लागि नेपाल आएका हुन् ।
लारा नेपाल आइपुग्ने बिषयबारे नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गर्दै बताएको थियो । क्यानका अनुसार उनी शुक्रबार बिहान ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन।
आफ्नो असाधारण ब्याटिङ अनि ठूलो स्कोर बनाउने क्षमताले संसारभर चर्चित क्रिकेटर लारालाई क्यानले निम्तो पठाएको थियो। सन् १९९६ देखि २००७ सम्म क्रिकेट खेलेका उनको नाममा कैयौँ विश्व रेकर्ड छन् । सन् १९६९ मा ट्रिनिडाड टुबागोमा जन्मेका बायाँहाते ब्याटरले डिसेम्बर १९९० मा पाकिस्तानविरुद्ध टेस्ट डेब्यु गरेका थिए ।
सोही वर्ष नोभेम्बरमा पाकिस्तानविरुद्ध ओडीआईमा डेब्यु गरेका उनले १ सय ३१ टेस्टमा ११ हजार ९ सय ५३ रन बनाएका छन् ।
यसमा ३४ शतक, ४८ अर्धशतक र ४ सय उच्च स्कोर सामेल छ । सन् १९९४ मा डरहमविरुद्ध वार्विकशायरका लागि नटआउट ५ सय १ रन बनाएको उनको यो रेकर्ड कसैले तोड्न सकेको छैन ।
उनले १० अप्रिल २००४ मा इंग्ल्यान्डविरुद्धको खेलमा अविजित ४०० रनको विशाल स्कोर बनाएका थिए । यो रेकर्ड पनि अहिलेसम्म कसैले तोड्न सकेको छैन । लाराले २ सय ९९ ओडीआईमा १० हजार ४ सय ५ रन बनाएका छन् । यसमा १९ शतक, ६३ अर्धशतक र १ सय ६९ उच्च स्कोर समावेश छ ।