दशैँको पन्ध्र दिन पछि सुरु हुने चाड हो तिहार। रमाईलो पनि छुट्टै अनि रौनक नै अर्कै हुने गर्छ। घरै पिच्छे झिलिमिली र पुष्पगुच्साले शोभायमान देखिन्छ। पछिल्लो समय टिकटक होस् या फेसबुक सामाजिक संजालमा बालबालिकाले खेलेको देउसीको राम्रै चर्चा चल्न थालेको छ। बिबिध प्रसङ्गमा भाइरल भईरहेको भिडियो जस्तै: अङ्कल चाहिँ ल्वाठं, आन्टी चाहिँ च्वाकं। चिप्लो घर, चिप्लो बाटो। दिने भए छिट्टो देउ, नदिने भए बिदा देउ बिबिध बिषयहरु सामाजिक संजालमा भाइरल बने।
पछिल्लो समय कोक, पेप्सी, मिरिण्डा लगायतका बिर्कोबाट बनाईने देउसीबाजाको प्रयोग कम भएको छ, हुन त कम्पनीले नै सिसाको भाडोको उत्पादन अघिल्ला बर्षको भन्दा कम उत्पादन गरेको देखिन्छ। देउसीको मौलिक मान्यता अर्कै छ, रातभरी भट्याउने अनि बिहानीपख सक्ने भेटि र खान्कीले सम्मानसत्कार गर्ने प्रचलन पहिले थियो तर पछिल्लो समय खैजेडि भजन लगायत अन्य बाध्यबादनको प्रयोग कम हुदै गएको छ।
स्पिकरले पनि बाजाको युगलाई अलि पछाडी धकेलेको देखिन्छ। लक्ष्मी पूजा गरेसँगै देउसी-भैलोको टोली प्रस्थान गरी रमाइलो गर्ने चलन नेपाली समाजमा छ् । अब चर्चा गरौ बलीराजा प्रसँगको, विशेषगरी देउसी भैलो खेल्ने क्रममा बलिराजाको चर्चा हुन्छ । जुन टोली आएपनी “बलिराजाले पठाको” भन्ने शब्द आउछ। बलिराजाले पठाएर आएको भन्दै गर्वका साथ भट्याइन्छ, ‘देउसिरे’।
देउसी भैलोमा स–साना नानीबाबुहरू पनि यो शब्दलाई प्रेमपूर्वक प्रयोग गर्दछन् । सबैलाई कण्ठस्थ पनि छ । सानाको त् कुरा छोडौ ठुला नै आक्मकिए ! मेरो प्रश्न थियो, यो बलिराजा भन्या चाँही को हो? १-२ जनाले त पैसा दिए भईगो नि, किन सोधिरहनु, थाहा भए भन्नु पनि भने । प्रसँग थियो बलिराजाको ऐतिहासिकताबारे। ‘हामी त्यसै आएनौं, बलिराजाले पठाको …’ भन्दै भट्याइने बलिराजासँग जोडिएका केहि ऐतिहासिक तथा सांस्कृतिक प्रसंगहरू यस्ता छन्।
बलिराजा भनेको हिरण्यकशिपुका पनाति, प्रह्लादका नाति र विरोचनका पुत्र थिए । यिनी अत्यन्तै दानवीर, ज्ञानी र परोपकारी असुर राजा थिए । हिन्दू वाङ्मयमा यिनलाई दैत्यराज भनी उल्लेख गरेको भेटिन्छ। आफ्ना सैनिक तथा जनताले यिनलाई ‘स्वर्गको समेत राजा हुन सक्नुहुन्छ’ भन्ने सल्लाह दिए । सोहीअनुसार, बलिराजाले देवतासँग युद्ध गरे, जसलाई देवासुर सङ्ग्राम भनिन्छ । यस युद्धमा देवताको हार भयो । स्वर्गका राजा इन्द्र आफ्नो राजगद्दी त्यागेर भागे । देवताहरू हारगुहार गर्दै विष्णुकहाँ सहयोग माग्न पुगे । विष्णुलाई ठूलो समस्या पर्यो, किनभने हिरण्यकशिपु मात्र होइन, उनका पनाति बलि पनि विष्णुभक्त थिए । त्यसैले उनले युद्द गरेर होईन जुक्ती निकालेर देवतालाई बचाउने प्रयत्न गरे । बलिराजाले स्वर्गमा अश्वमेध यज्ञ गरिसकेका बेला वामन रूपमा ब्राह्मण भेषधारी विष्णु उपस्थित भए । वामनलाई देखेर बलिराजाले विनम्रतापूर्वक स्वागत गर्दै आफूकहाँ आउनुको कारण सोधे । यस्तो आग्रह सुनेर वामनले आफूलाई तीन पाउ जमिन चाहिएकाले माग्न आएको खुलासा गरे । दानवीर बलिराजाले यो कुरा सहजै स्वीकार गरे । अन्ततः विष्णुले विशाल रूप धारण गरेर एक पाउले पृथ्वी र अर्को पाउले आकाश ढाकिदिए । बाँकी एक पाउ दानका लागि राजा बलिले आफ्नो शिर दिए । दुई पाउलाई ठाउँ पुग्यो, अब अर्को पाउका लागि ‘देऊ शिर’ भन्दै शिर मागेको हुँदा ‘देऊ शिर’ बाट देउसिरे भएको हो भन्ने भनाई रहेको छ । वामनदेवको पाइताले बलिराजाको शिर पातालमा धसिएको थियो । त्यसपछि पाताल भासिएका बलिराजाले विष्णुलाई म मत्र्यलोक जान चाहन्छु भनी माग गरे । विष्णुले यमपञ्चकको पाँच दिन उनलाई मत्र्यलोक आउन पाउने अनुमति दिए । उनी मत्र्यलोक आउने भनेपछि पाँच दिन सम्म मत्र्यलोकलाई झकिझकाउ बनाउँदै नाचगान गरी देउसी–भैलो खेल्ने चलन सुरु भएको हो भन्ने किम्बदन्ती पाइन्छ ।
बलिराजा सम्बन्धमा अर्को जुम्ली इतिहास पनि छ । जसअनुसार, बलिराजा कल्यालवंशी राजाहरूको प्रथम राजा थिए । खस राज्यको पतन भएपछि कल्यालवंशी शासनको सुरुवात यिनै बलिराजाले गरेका थिए । उनले संयुक्त र एकल गरी वि.सं. १४५५ देखि वि.सं. १५०२ सम्म शासन सञ्चालन गरेका थिए । उनको पूरा नाम बलिराज रावल हो । उनले वि.सं. १४५५ मा बडेराजा मलय बर्माका छोरा मेदिनी बर्मासँग मिलेर जुम्लामा संयुक्त शासन सञ्चालन गरेका थिए । पछि बलिराज रावलले एक्लै शासन गरेका थिए भने उनीपछि राजा वत्स (वक्षराज शाही), विशेषराज शाही, विजयराज, विशेषराज, मणिराज, सिलिम शाही, बहादुर शाही, वीरभद्र शाही, सुदर्शन शाही, सूर्यमान शाही, पृथ्वीनारायण शाही, नरनारायण शाही, नरेन्द्रबहादुर शाह, धीरेन्द्रबहादुर शाह आदिले जुम्ला राज्यको शासन सञ्चालन गरेका थिए । बलिराजाले जुम्लामा शासन सञ्चालन गरेको समयसम्म जुम्ला राज्यको खस समाजमा दासदासी प्रथा चलिरहेको थियो । उक्त प्रथा अनुसार पैसा हुनेले गरिबका छोराछोरी किनेर मन्दिरमा बलि दिने गरिन्थ्यो । पछि मानब बलि प्रथालाई हटाईयो । मानब बलीको सट्टा बालबालिकालाई मन्दिरमा त्यत्तिकै छाड्न थालियो । जसलाई देवादासी नामाकरण गरियो । बच्ची मन्दिरमा चढाउनेहरूको संख्या यति धेरै थियो कि मन्दिरमा चढाईएको चढावाले उक्त मन्दिरमा आश्रीत देवदासीहरूलाई खान पुग्न छोड्यो । जसले चरम गरिबीको सिर्जना भयो र बाच्नको लागि जिउ बेच्ने परम्पराको शुरुवात भयो । त्यसैले बलिराजाले उनीहरूको जीविकोपार्जनलाई सहज बनाउनको लागि ती देवदासीलाई लक्ष्मीपूजाको दिनदेखि भिक्षा माग्न घर–घर जान अनुमति दिएका थिए । अनि उनीहरू घर घर आउदा, सबै जनतालाई भिक्षा दिन उर्दी जारी गरेका थिए । ती देवदासीले विशेषतः औँसीको दिन मात्र भैली खेल्ने गर्दथे । भैलीको अर्थ भलो होस् भन्ने हो । उनीहरूले आफू आएको जानकारी दिने क्रममा ‘देवदासी’ भन्दाभन्दै त्यसैको अपभ्रंश भई ‘देउसिरे’ भएको हो भन्ने भनाइ पनि देखिन्छ ।
त्यसैगरी अर्को भनाइ अनुसार, जुम्ली राजा बलिराजाकै पालामा भारततिरबाट प्रवेश गरेको मुसलमान लडाकुको फौजसँग युद्ध गर्नुपरेका कारण राज्य आर्थिक रूपमा कमजोर हुन पुग्यो । त्यसैले जनताबाट कर उठाएर राज्यको आर्थिक स्थिति मजबुत बनाउन बलिराजले देउसी–भैलो खेल्न लगाएर आर्थिक संकलन गरेको हुँदा त्यही समयदेखि देउसी–भैली सुरु भएको हो भन्ने भनाइ पनि भेटिन्छ । तर यो त्यति तर्कसंगत देखिंदैन ।
बलिराजालाई चिनाउने अर्को विवरण अनुसार, बलि (बलिहाङ) राजा इशाको १४औँ शताब्दीतिरका वर्तमान पाल्पा जिल्लामा पर्ने बल्ढेङ्गी गाविसमा पर्ने बलिहाङ रानामगरले स–साना मगर राज्यलाई एकीकरण गरी शक्तिशाली मगर राज्यको स्थापना गरेका थिए । उनको राज्य वर्तमान नेपालको मगरातदेखि भारतको गोरखासम्म फैलिएको मानिन्छ । मगर राजा बलिहाङ अत्यन्तै न्यायप्रेमी, धर्मात्मा तथा प्रजाभक्त थिए । उनलाई आफ्ना जनताले असाध्यै माया र सम्मान गर्दथे । एक दिन बलिराजालाई सपनामा कार्तिक औँसीको रातमा उनको मृत्यु हुने भविष्यवाणी भयो । त्यसपछि उनले आफ्ना सबै जनतालाई बोलाएर उक्त भविष्यवाणी सुनाए । त्यो सुनेर सारा जनता शोकमग्न भएर रुँदै, कराउँदै आफ्ना प्रिय राजालाई बचाउने उपायको खोजीमा लागे । अन्तमा सबै जनताले स्वयं राजालाई भेटेर बिन्ती गरे, ‘के गर्दा हामीले तपाईंलाई बचाउन सक्छौँ ?’ यो सुनेर राजाले उपाय बताए, ‘कार्तिक औँसीका दिन मलाई लिन काल आउँदा सबैको घरमा उज्यालो बालेर उनलाई अनुरोध गर्न सके म बाँच्न सक्छु ।’ त्यो सुनेपछि सबै जनताले कार्तिक औँसीको दिन राजाले भनेजस्तै सबैले घरघरमा बत्ती बालेर झिलीमिली पारेर रातभरि ‘फाइलो–फाइलो’ (मगरभाषामा बचाऔँ बचाआँ) भन्दै रात कटाए । यसरी राजाप्रति जनताहरूको अगाध माया देखेर कालले राजालाई प्राणदान दिएर फर्के । यसरी जनताको अगाध मायाका कारण आफू बाँचेको हुनाले बलिराजाले तीन दिनसम्म खुसियाली मनाउन आदेश दिए । जनताहरू त्यही खुसियाली मनाउँदै घरघरमा भेला भएर नाचगान, हाँसखेल गर्दै हिँड्न थाले । यसरी घरघरै मनोरञ्जन गर्दै, नाचगान गर्दै हिँड्ने क्रममा ‘हामी त्यसै आएको होइन, बलिराजाले पठाएको’ भन्दै देउसी–भैलोको सुरुवात भएको हो भन्ने भनाइ मगर समुदायमा भेटिन्छ ।
अतः नेपालमा बलिराजा सम्बन्धमा मुख्य तीन प्रकारको विवरण पाइन्छ । पहिलो विवरण अनुसार, बलिराजा दैत्यराजा हिरण्यकशिपुका पनाति, दोस्रो विवरण अनुसार जुम्लाको पहिलो कन्यालवंशी राजा बलिराज रावल र तेस्रो विवरण अनुसार, बल्ढेङ्गी पाल्पाली मगर राजा बलिहाङ ।
बलिराजासम्बन्धी यी तीनै प्रकारको विवरणहरूसँग देउसी–भैलोको प्रसङ्ग जोडिएको पाइन्छ । तसर्थ यी सबै कुराहरू पढ्दा के बुझिन्छ भने तिहार पर्व सनातनी हिन्दू मगर लगायतका जातजातिहरू र किराँतको संयुक्त पर्व हो । यस पर्वको इतिहास हिन्दू र किराँत दुबैसँग जोडिएको देख्न सकिन्छ ।