काठमाडौँ । काठमाडौँ महानगरपालिकासँगै देशकै पहिचान जोडिएको हनुमानढोका दरबार क्षेत्र र आसपासमा घुमघामसँग मनाइने येँयाः (इन्द्रजात्रा) का औपचारिक कार्यक्रहरु सुरु भइरहेको छ । जात्राअन्तर्गतका भदौ २० गते वन प्रस्थान, वृक्षकर्तन गरेर २१ गते यसिं भोटाहिटी ल्याईएको थियो । त्यस्तै भदौ २६ गते यसिं नगर प्रवेश गराएर हनुमानढोका कालभैरव ल्याइएको छ । भदौ ३० गते विहान ८ बजेर २६ मिनेटको शुभसाइतमा यसिं उठाइने जानकारी प्राप्त भएको छ । यसपछि जात्राका औपचारिक कार्यक्रम सुरु गरिने एक पधाधिकारीले बताए ।
जात्राको उल्लासलाई थप गर्न महानगरपालिकाले यस वर्ष केही कार्यक्रम थप गरेको छ । यसरी थपिएका कार्यक्रममध्ये भदौ ३० गते यःसिं उठाइसकेपछि शिव पार्वती डवलीमा मौलिक गायन, वादन तथा नृत्यसहितको सांस्कृतिक कार्यक्रम गर्दै ‘डवली पुनःस्थापना’ रिभाइभ दबु प्रवर्धनका लागि आयोजना हुने यो कार्यक्रममा स्थानीइ करिव १ सय जना कलाकारले सांस्कृतिक प्रस्तुति हुनेछ । कार्यक्रममा गर्जुको पल्टन र नेपाल प्रहरीको प्रस्तुति पनि देखाईने छ ।
रथ यात्रासम्बन्धी जानकारी दिनका लागि गएको वर्ष महानगरपालिकाले गल्ली म्याप्सको प्रयोग गरेको थियो । यस वर्ष पनि गएको वर्षको प्रयोगलाई सुधार गरेर प्रयोग गरिनेछ । यसअन्तर्गत श्री कुमारी, श्री गणेश र श्री भैरवको रथमा र लाखे आजु, पुलुकिसी र सव भकु देव नाचमा जिपिएस जडान हुनेछ । यसबाट रथ कुन ठाउँमा पुग्यो, लाखे, पुलुकिसी र सवभकुको नाच कुन ठाउँमा भइरहेको भन्ने सूचना प्रदान गर्नेछ । यसबाट रथयात्रा तथा नाच अवलोकन गर्ने श्रद्धालुहरुलाई सहभागी हुन र स्थानीयहरुलाई पूजाको तयारी व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
नियमित कार्यक्रमसँगै काठमाडौँ महानगरपालिकाले असोज ३ गते पूजासहितलाखे आजु, पुलकिसी, हलक चोक भैरव (सव भकु) र महाकाली नृत्य प्रदर्शन आयोजना गर्नेछ । यसको अवलोकनका लागि उपत्यकाका पालिकाहरुबाट जनप्रतिनिधिलाई निमन्त्रणा गरिनेछ ।
जात्राको गरिमालाई सभ्य र व्यवस्थित सञ्चालन गर्न इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा महानगरपालिकाले सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन, प्रवर्धनको काम गरिरहेको छ । शान्ति सुरक्षा, सरसफाइ, सम्पदाहरुको मर्मत सम्भार, रंगरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत महानगरपालिकाले सञ्चालन गरिरहेका मुख्य काम हुन् ।
यससँगै विगत वर्षमा जात्रा सञ्चालन गरेको र महानगरपालिकाले प्रदान गर्न बाँकी रकम निकासा दिने निर्णय गरिसकेका छौँ । यससँगै चालु आर्थिक बर्षको रकम पनि प्रदान गर्नेछौँ ।
जात्रामा राष्ट्र प्रमुखबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गर्ने परम्परा छ । यो चलन मल्ल राजा जयप्रकाशका पालादेखि चलेको विश्वाश गरिन्छ । त्यसबेला राजा आफैँ पनि कुमारीको रथ यात्रामा जान्थे भन्ने भनाइ पाइन्छ ।
लिच्छवीकालीन राजा गुणकामदेवका पालादेखि जात्रा चलिआएको मानिन्छ । जीवित देवी कुमारीको पूजा गर्ने र शाक्य थरकी कन्यालाई देवीका रुपमा पूजा गर्ने चलनलाई मल्ल कालसँग जोडेर हेर्ने गरिएको छ । तत्कालीन राजामा तान्त्रिक शक्ति भएकोले, उनले देवीसँगको नियमित भेट गर्ने गरेको, देवीसँगै खेल खेल्ने गरेको, भेटघाटका क्रममा राजाका मनमा भोग र वासना उब्जिएपछि देवीबाट श्राप प्राप्त गरेको कथा यससँग जोडिएको छ । यसपछि पाप र दोष कटाउन तथा शासन बचाउन सुरु गरिएको परम्पराका रुपमा जात्रालाई हेरिन्छ । यसैकारण पनि कुमारीको रथ यात्रा हुनु पूर्व गणेश, भैरव र कुमारीको दर्शन गर्न राष्ट्र प्रमुख उपस्थित हुने गरेको भनाइ छ ।
इन्द्र भगवानसँग सम्बन्धित जात्रा भएकोले इन्द्रका मूर्ति प्रदर्शन र श्रद्धापूर्वक हुने पूजा यसको अर्को महत्वपूर्ण पक्ष हो । यस अवधिमा काष्ठमण्डपसँगै गःकुति अगाडि, इन्द्रचोकमा आकाश भैरवको मन्दिर अगाडि, नरदेवी (न्यत) डवली, किलाघः, कुनांत्वा (कमलाछी) र ज्याठामा इन्द्रको मूर्ति प्रदर्शन गर्ने चलन छ । यसमध्ये काष्ठमण्डपसँगै करिब ३० फिट अग्ला ४ वटा खम्बा माथि खटमा विराजमान गराइने इन्द्रको मूर्ति विशेष देखिन्छ । आमाको ‘बसुन्धरा’ व्रतका लागि इन्द्र फूल चोर्न आउँदा यसै ठाउँ नजिक समातिएका थिए । समातेर उनलाई बाँधिएको थियो भन्ने कथासँग यो क्रियाकलाप सम्बन्धित छ ।
मानव सिर्जित सम्पदाको सुन्दरता र यी भौतिक सम्पदासँग जोडिएका अमूर्त सम्पदाको मिश्रण ‘येँया’ ले काठमाडौँको सभ्यतालाई समुन्नत बनाएको छ । जात्राको सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा सामाजिक पक्षको अन्तरघुलन अद्वितीय छ । धार्मिक सहअस्तित्व स्वीकार गरेर हिन्दू र बौद्ध धर्माबलम्बीले एउटै पर्वलाई आफ्ना—आफ्ना विधिबाट मनाउनुले दिएको सन्देश गहिरो छ ।
इन्द्र जात्रा पर्यटकीय सम्भावनाको आकर्षक क्षेत्र हो । यसको गरिमालाई देशभरि नै अपनत्व गराउन तथा यसको आकर्षणलाई अन्तरराष्ट्रिय स्तरमा प्रवर्धन गर्न काठमाडौँ महानगरपालिका देश विदेशमा रहनु भएका सम्पूर्ण महानुभावहरुलाई जीवित देवीदेवता श्रीकुमारी, श्रीगणेश र श्रीभैरबको रथारोहण, रथयात्रा, विभिन्न परम्परागत बाद्यबादन, गायन तथा नाच, परम्परागत भेषभूषाको अवलोकनका पाल्नुहुन निमन्त्रणा गर्दछौँ ।
भौतिक रुपमा उपस्थित हुन नसक्ने महानुभावहरुका लागि महानगरपालिकाका आधिकारिक सामाजिक सञ्जालहरुबाट प्रत्यक्ष प्रसारण गर्ने तयारि महानगरले गरेको छ।
जात्रा सञ्चालनका गुठीगहना, हनुमानढोका संग्रहालय विकास समिति, टोल सुधार समिति, क्लब, संघसंस्था तथा स्थानीयबासीको योगदान अतुलनीय छ । उहाँहरुको स्वतःस्फूर्त सहभागिताले जात्रा जीवन्त हुने गरेको छ । उहाँहरुको यो सहभागिताको हामी प्रशंशा गर्न चाहन्छौँ । महानगरभित्रका जात्रा पर्वसँगै उपत्यकामा मनाइने जात्रा र पर्वहरुको निरन्तरताका लागि महानगरपालिका नेतृत्वदायी स्थानमा रहेर सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।