ईश्वर थोकर आकारमा छोटा लाग्ने तर प्रभावशाली कविता लेख्ने कवि हुन् । उनी कविता सँगसँगै संस्मरण पनि लेख्न असाध्यै रुचाउँछन् । उनी तामाङ र नेपाली दुवै भाषामा लेख्न पोख्त छन् । एक वाक्यमा भन्नुपर्दा उनी शब्दलाई न्याय दिएर आफूले भोगेका देखेका विषयमा कविता लेख्छन् । उनको जन्म काभ्रे जिल्लाको तेमालमा वि.सं. २०४४ मा भएको हो । उनका थुप्रै कविता पत्रपत्रिकामा छापिएका छन् । साथमा उनका कविता सङ्ग्रह बजारमा उपलब्ध छन् ।
उनकोे पहिलो गजलसङ्ग्रह (पिङ्माई, २०६८), प्लिक्सी – (कवितासङ्ग्रह २०६९), नोरी (कविता सङ्ग्रह, २०७४ ) र ल्हुइला गोङ्मा (संस्मरण सङ्ग्रह, २०७६) प्रकाशित छन । भर्खरै बजारमा उनको नयाँ कृति लीला (कविता सङ्ग्रह, २०७८) प्रकाशन भएको छ । आफ्नो जीवनसाथी लीलाका लागि लेखिएका कविताहरुको सञ्चयन हो लीला ।
तामाङ ग्योइकाइ (तामाङ भाषा) पुरस्कार २०७१ बाट पुरस्कृत उनीसँग पवित्रा भट्टराईले गरेको कुराकानीको सम्पादित अंशः
पहिले तपाईंको स्वास्थ्यको विषयमा कुरा गरौँ न, अहिले कस्तो छ तपाईंलाई ?
मेरो स्वास्थ्य एकदम ठीक छ, नर्मल छ । हरेक दिन बिहान बेलुका औषधी खानुपर्छ, अरु त सबै ठिकठाक चलेको छ ।
दैनिकी कसरी बित्छ ?
मेरो दैनिकी उठेर सरसफाई गर्छु , चिया खान्छु अनि अफिस जान्छु । घर फर्केपश्चात बचेको समय पढाइलेखाइमा बिताउने गर्छु ।
पढाइलेखाइले जीवन जिउन कत्तिको सहज बनाउने रहेछ ?
पढाइलेखाइले जीवन अगाडि बढाउन निकै सहयोग गरेको छ । म मानसिक विरामी हुँदा लेखाई र पढाइले मन स्थिर राख्न निकै मद्दत गरेको छ । सायद लेखन पठन नहुँदो हो त मेरो स्वास्थ्य पनि राम्रो हुँदैन थियो होला । मेरो जीवन अगाडि बढाउन लेखन र पठनले नै महत्वपूर्ण भूमिका खेलेको छ । अझ भनौँ भने मेरो नयाँ जीवन प्राप्त गर्न लेखन र पठन कोशेढुङ्गा सावित भएको छ ।
तपाईंको १३ वर्षसम्मको बाल्यकाल कस्तो रह्यो ?
म जन्मेको तेमालमा भएपनि मेरो बुवाले २/३ वर्षको उमेरमै आफूसँगै भक्तपुर ल्याउनुभयो । मेरो पढाइको थालनी चाहिँ भक्तपुरको सेन्ट जोन्स बोर्डिङबाट सुरु भयो । म जुन स्कुलमा पढ्थेँ त्यही स्कुलको हेडमिसको घरमा हामी बस्थ्यौँ । म उहाँसँगै स्कुल जाने आउने गर्थेँ । मेरो बुवाका साथीहरु कम्युनिस्ट हुनुहुन्थ्यो । उहाँहरू भूमिगत हनुभयो त्यसका कारण मेरो बुवा पनि भूमिगत हुनुप-यो । मेरो लागि भक्तपुर बस्ने वातावरण पनि भएन । अनि मलाई लिएर बुवा गाउँ फर्किनुभयो । त्यतिखेर प्रहरीले कम्यूनिस्ट भनेपछि चनाखो भएर हेर्थे अनि धेरै निगरानी हुन्थ्यो । मरोे प्राथमिक तहको पढाई त्यहीँ अन्त भयो र गाउँमा बसेर फेरि पढ्न थालेँ । सामान्य बिरामी भए अनि मेरी बहिनी बितेपछि झन् म निकै बिरामी भएँ । मेरो अवस्था नाजुक हुँदै गयो ।
आफूजस्तै मानसिक अवस्था भोगिरहेका साथीहरू भेट्दा कस्तो अनुभव गर्नुहुन्छ ?
म आफू र आफूजस्तै साथीहरू भेट्दा म आफैँलाई भेटेजस्तो अनुभव गर्छु । परिवारको सदस्य भेटेजस्तै लाग्छ । भावनाहरू मिल्छन्, पीडा मिल्छन् अनि भोगाइहरू समानान्तर रेखामा लामबद्ध हुँदै गएकाले आफैँलाई अनुभव गर्ने अवसर मिल्छ । औधि आफ्नैजस्तै लाग्छन् उनीहरू । उनीहरू पीडामा भएर खुशी होइन कि मेरै जस्तो दुःख अरुलाई पनि पर्दोरहेछ भन्ने लाग्छ र काम गर्ने उर्जा झन् बढेर आउँछ । उनीहरूको जीवन मेरा लागि हौसला बन्छ अनि मैले म स्वयम् भेट्छु ।
कवितासङ्ग्रह ‘प्लिक्सी’ लेखन बारे बताइदिनुहोस् न ।
प्लिक्सी मेरा कृतिहरूमध्ये मैले रोएर लेखेका कविताहरूको सङ्ग्रह हो । मलाई चिनाएको पनि प्लिक्सीले नै हो ।
‘लीला’ आफ्नो ल्हुईह्रो (जीवनसाथी) का लागि लेखिएको कविता बारेमा केही बताइदिनु हुन्छ ?
यो कविता मेरी मायालु (सेमह्रो) लीला अनि म बिचको भावना र मायाको विशेष सौगात हो । उहाँप्रतिको मेरा भावना कविताका मीठा लयमा प्रस्तुत गर्ने जमर्को हुँ । ईश्वर र लीलाको सुन्दर प्रेमको अनुभव साट्नका लागि पाठकमाझ प्रस्तुत कोसेली हो – ‘लीला’ ।