अविरल वर्षाका कारण अरनिको राजमार्ग र ताँथली नाला सडक बन्द

भक्तपुर । रातिदेखि परेको अविरल वर्षाका कारण काभ्रे प्रवेश गर्ने दुईवटै सडक अवरुद्ध हुँदा अरनिको राजमार्ग खण्ड बन्द भएको छ । राजमार्ग बन्द भएर यातायात अवरुद्ध हुँदा भक्तपुरको सूर्यविनायकसम्म सयौँ गाडी बिहानैदेखि लामबद्ध भएर रोकिएका छन् ।

भक्तपुरबाट काभ्रेपलाञ्चोकतर्फ जाने दुई सडकमध्ये अरनिको राजमार्ग खण्डको बनेपा पुलबजार डुबानमा पर्दा पुलबजारदेखि भक्तपुरको सूर्यविनायकसम्म सडक बन्द भएको महानगरीय प्रहरीवृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

बिहानैदेखि काभ्रेदेखि सूर्यविनायकसम्म सडकको दुवैतर्फ गाडी लामबद्ध रहेको जानकारी दिँदै उनले पुलबजार खुलेर सहजरुपमा यातायातका साधन जान सक्ने अवस्था नभएसम्म समस्या हुने बताए । उनले सडक नखुलेसम्म काभ्रे जाने यातायातका साधनलाई यो सडक भएर नआउनसमेत आग्रह गरे । बिहान १० बजेसम्म यातायातको साधनको चाप सडकमा बढ्दै गएको प्रहरीको भनाइ छ ।

काभ्रे जाने वैकल्पिक सडकका रुपमा रहेको भक्तपुरको च्यामासिंह ताँथली, नाला हुँदै बनेपा निस्कने सडकसमेत अवरुद्ध हुँदा यो सडक भएर जाने सवारीसाधन ताँथली र गुम्बामा दुवैतर्फ समेत रोकिएका छन् ।

राति भक्तपुर र काभ्रेको सिमानामा पर्ने चाँगुनारायण नगरपालिका–९ भञ्ज्याङमा पहिरो गएर सडक अवरुद्ध हुँदा अरनिको राजमार्गको विकल्पका रुपमा यो सडक हुँदै गएका सवारी साधन पनि पाँच घण्टा भञ्ज्याङमा रोकिएका छन् ।

प्रहरी नायब उपरीक्षक थापाले ताँथली नाला सडकको पहिरो प्रहरीले हटाएर एकतर्फी सवारीसाधन चलाउन शुरु गरेको बताए । अरनिको राजमार्ग अवरुद्ध हुँदा यही मार्ग भएर गएका र बनेपाबाट आएका सयौँ सवारी साधन दुईतर्फ नै रोकिएका छन् । प्रहरीले एकतर्फी सडक सञ्चालन गराइए पनि सवारीसाधन भने लामो जाममा रहेका छन् । थप पहिरो खस्ने सम्भावना रहेको स्थानीयवासीले बताएका छन् ।

यसैबीच वर्षाका कारण हनुमन्ते र मनोहरा खोलामा पानीको बहाब उच्चरुपमा बढेको छ । मनोहरा खोलामा पानीको बहाब बढेपछि खोला आसपासका केही क्षेत्र डुबानमा परेका छन् । लोकन्थलीस्थित मनोहरा किनारामा रहेको सुकुम्बासी बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । हनुमन्ते किनाराका बासिन्दालाई पनि खोलाको बहाव बढेकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ ।

– रासस

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार