प्रत्येक वर्ष दुई छात्रालाई निःशुल्क प्राविधिक शिक्षा

गण्डकी । पोखरा महानगरपालिकाले प्रत्येक वर्ष सामुदायिक विद्यालयका दुई जना छात्रालाई निःशुल्क प्राविधिक विषय पढाउने भएको छ।महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहु प्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्रामध्येबाट दुई जनालाई निःशुल्क पढाउने भएको हो ।

महिलालाई उद्यमशील बनाएर आत्मनिर्भर बनाउनका लागि महानगरपालिकाले सञ्चालन गरेको उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत दुई जना छात्रालाई निःशुल्क पढाइने व्यवस्था मिलाइएको बहु प्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार अध्ययनका लागि आवेदन दिएपछि एसइई र कक्षा ८ को नतिजाको आधारमा छात्रा छनोट गरिने व्यवस्था छ ।

महानगरपालिकाले गत वर्षदेखि पोखरा २९ भण्डारढिकमा सञ्चालन गरेको गण्डकी बहु प्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटो मोबाइल इन्जिनियरिङको पढाइ हुँदै आएको छ । त्यसैगरि पोखरा महानगरपालिका–१९ ले यो वर्ष एसइई उत्तीर्णमध्ये एक जनालाई वडाको खर्चमा अध्ययन गराउने भएको छ । वडाध्यक्ष शोभामोहन पौडेलका अनुसार वडाभित्र एसइई उत्तीर्णमध्ये गरिब तथा जेहेन्दार एक जनालाई बहु प्राविधिक शिक्षालयमा अध्ययन गराउने भएको हो ।

पोखरा महानगरपालिका–३० ले पनि थप एक जना छात्रालाई वडाको खर्चमा अध्ययन गराउने भएको वडा नं ३० का अध्यक्ष श्रीराम पोखरेलले बताए । शिक्षालयमा हाल ८३ विद्यार्थी अध्ययनरत छन् भने छोटो अवधिको तालिममा करिब २२० जना सहभागी भइसकेका छन् ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार