कविता : यादहरू

पटक्कै छैनन्
तिम्रा यादहरू विषजस्ता
छन्
कलकल बगिरहेको नदीको संगीतजस्ता
जुन डुबेको तालको मुस्कानजस्ता

जब अस्ताउँदै गरेको जुनले
मलाई अँध्यारोमै छाडेर गयो

त्यतिबेला तिम्रा यादहरू भए
अँध्यारोमै पढिएका जटिल कविताजस्ता
अँध्यारोमै गाइएका मधुर गीतजस्ता

म सोच्थें
तिमी विना उज्यालाहरू निभ्छन् आँखाबाट

जब निभी नै त गए
त्यतिबेला तिम्रा यादहरू भए
सिताराले ढाकिएका बेहुली रातजस्ता
परेलीभित्र नाचिरहेका स्वप्निल दुनियाँजस्ता

हाम्रै आँखाबाट छुटिगएका दिन
अहिले हाम्रै आँखामा अल्झिबसेका छन्

मेरो अंगालोबाट तिमीलाई छुटाउने साँझले
जब तिम्रै सम्झना गराइरहेका थिए

त्यतिबेला तिम्रा यादहरू भए
आफैंलाई खोज्दै हिँडेका जूनकीरीजस्ता
एकान्तमा कथाहरू सुनाइरहेका झ्याउँकिरीजस्ता

कहिलेकाहीँ
पातमा खसिरहेका झरीका थोपाहरू देख्छु
र आफ्नै हत्केला खोल्छु

हत्केलामा खसेको तिम्रो आँसु
अहिले सुकिसकेको छ

तिम्रै गह सम्झेर
जब मेरै आँखाबाट पनि आँसु बगे

त्यतिबेला तिम्रा यादहरू भए
पानीमा रुझेको पहेँलो घामजस्ता
हिउँले नुहाएको मरुभूमि चट्टानजस्ता

तिमी नभएपछि
मेरो मुटु चल्न छाडेको थियो
र म मृत खुसीहरूको मलामी हिँडेको थिएँ
जब हिँड्दा हिँड्दै मैले
चिहान खनिरहेका मानिसहरूको आँखामा हेरेँ

त्यतिबेला तिम्रा यादहरू भए
मृत्युकै छेउमा बसेर देखिएका सपनाजस्ता
अन्तिम प्रहरमा ब्यूँतिएको जिजीविषा जस्ता

पटक्कै छैनन्
तिम्रा यादहरू विषजस्ता
छन्
कलकल बगिरहेको नदीको संगीतजस्ता
जुन डुबेको तालको मुस्कानजस्ता ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार