हेम स्मृति कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको आयोजनामा माघ २० अग्रज कलाकार तथा साहित्यकार हेम पौडेलको प्रथम स्मृति दिवस सम्पन्न भएको छ । कार्यक्रममा चित्रकला प्रदर्शनी, पुस्तक लोकार्पण र पुरस्कार वितरण गरिएको थियो ।

कुलपति नारदमणि हार्तम्छालीले नेपाली ललितकला क्षेत्रमा चरालाई विषयवस्तु बनाई चित्र कोर्ने सिद्धहस्त कलाकार हेम पौडेल महत्त्वपूर्ण व्यक्तित्व रहेको बताउनुभयो । उहाँले पौडेलका कलामा श्रम, सिप जोडेर प्रकृति र सिर्जनामा शिल्पगत विशेषता रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘कलाकार हेम पौडेल नव पुस्ताको ऊर्जा स्रोत हुनुहुन्छ र यस कार्यक्रम पुस्ता हस्तान्तरणको एक उदाहरण रहेको र नव प्रवर्तनको एक खुड्किलो रहेको छ ।’
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कलाकार हेम पौडेल एक कला सर्जक मात्र नभई प्रकृतिप्रतिको सचेतना भएको भविष्य द्रष्टा पनि भएको बताउनुभयो । उहाँले हेम पौडेलको कला तथा साहित्यमा अतुलनीय योगदान रहेको धारणा राख्नुभयो ।

समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तावाले कलाकार हेम पौडेलको परिचय कला, साहित्य र सामाजिक क्षेत्रमा गरी त्रिआयामिक रूपमा रहेको बताउनुभयो ।
कलाकार हेम पौडेलको जीवनसाथी तथा सर्जक गङ्गा कर्माचार्य पौडेलले कलाकार हेम पौडेलको वियोगमा आफूले बिताइरहेका दिनको चर्चा गर्दै भावपूर्ण सम्बोधन गर्नुभयो । उहाँले दिवङ्गत श्रीमानको स्मृति सभामा उपस्थित भई आत्मबल बढाउने आफन्त इष्टमित्रहरूसाथै नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा अन्तरविद्यालय चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनुहुने क्रमशः करिना बस्नेत, चिराग राई तथा शीतल महर्जनलाई पुरस्कार प्रदान गरिएको थियो, जसमा २२ जना कलाकारले सहभागिता जनाउनुभएको थियो ।हेम स्मृति कबा कविता प्रतियोगीतर्फ अनाम ‘उपेक्षित’ प्रथम , अनिता ढकाल द्वितीय र सुन्दर ‘शिरीष’ तृतीय हुनुभएको थियो, जसमा २३ जना कविले सहभागिता जनाउनुभएको थियो ।कार्यक्रम हेम पौडेलका कविता र गङ्गा कर्माचार्य पौडेल बहुआयामिक व्यक्तित्व कृतिको लोकार्पण गरिएको थियो । हेम पौडेलको २२ कलाकृती र प्रतियोगिताका सहभागीहरुको कला प्रदर्शनी एक हप्ता रहने ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब देवेन्द्र थुम्केलीले जानकारी दिनुभयो ।

कपन बानेश्वर साहित्यिक साप्ताहिकका प्रकाशक तथा सम्पादक निबन्ध आचार्यले सञ्चालन गर्नुभएको सो कार्यक्रममा कला र साहित्यका चर्चित व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार