संरचनागत विकल्पसहितको नयाँ शक्ति अपरिहार्य

नेपाल पछिल्ला साढे सात दशकयता निरन्तर सामाजिक, आर्थिक परिवर्तनको अपेक्षासहित राजनीतिक आन्दोलनको प्रक्रियाबाट गुज्रिरहेको छ । विशेषगरि २००७ साल देखि मुलुकमा पटकपटक आन्दोलनहरु हुँदै आएका छन । प्राय प्रत्येक दशकमा एकपटक अनिवार्य जस्तै भैरहने ती राजनीतिक आन्दोलनका तत्कालीन मुद्दा, नेतृत्व र आन्दोलनको पहलकदमीका हिसाबले भने फरकफरक बिचार र नेतृत्वले अगुवाइ गरेको देखिन्छ । आन्दोलनहरु कहिले शसस्त्र र कहिले निशस्त्र वा सडक देखि सदनसम्म भएका छन । आन्दोलनको नेतृत्व गर्ने बिचार, राजनीति पार्टी र तत्कालीन नेतृत्व जे जस्तो भएपनि नागरिकको अन्तरकुन्तरको प्रमुख आवाज भने देशमा रोजीरोटीका लागि काम गर्न पाइयोस्, एकछाक सहजै चुलो बल्न सकोस् र शिक्षा, स्वास्थ जस्ता आधारभूत आवश्यकताको सहज उपयोग गर्न सकियोस भन्ने नै थियो ।

साढे सात दशकको आन्दोलनरुपी यो यात्रामा नागरिकले जे कुराको अपेक्षा गरेका छन ती बिषय राज्य र संविधानले स्वीकार पनि गरेको छ, तर त्यसको कार्यान्वयन भने हुन सकेको छैन । छोराछोरीको छाक टार्न र सामान्य शिक्षा, स्वास्थ्य जस्ता आवश्यकताका लागि युवाहरूको बिदेश पलायन हुनुको विकल्प छैन। नेपाली श्रमबजारमा कामगर्ने जनशक्ति पाउन गाह्रो छ । हाम्रापुर्खाहरुले भोगचलन गर्दै आएका पहाडका जग्गाजमिन दिनप्रतिदिन बाझो हुँदै गएका छन । दैनिक उपभोग्य बस्तुहरु जति जम्मै बिदेशबाट आयात नहुने हो भने अब एक छाक टार्न पनि हम्मेहम्मे छ । राज्यले रेमिटेन्सबाट आउने पैसाको बलमा सार्वजनिक प्रशासन सञ्चालन गरिरहेको छ । युवाहरूलाई जतिसक्दो बाहिर पठाउने र उनीहरुको श्रम पसिनाको आम्दानीमा मोज गर्ने बिचौलियाको नियन्त्रणमा राज्यका निकायहरु बदलिएका छन । यहाँ राज्य छ तर
नागरिक डेलिवरी छैन । ”नागरिकसङ्ग नागरिकता छ तर नागरिक अधिकार छैन ।’’ प्रकान्तरणले भन्दा निराशाको कालो बादल नेपाली आकाशमा डरलाग्दो गरि मडारिरहेको छ ।

हामीलाई लागेको थियो अब यी सारा समस्यको समाधान राजतन्त्रको अन्त्य र गणतन्त्र आएपछि हुनेछ । तर त्यसो हुन सकेन । गणतन्त्रपछी संविधान निर्माण र संघीयता र स्थानीय सरकार हुने हो भने अब चाहिँ देश पक्कै उभो लाग्नेछ तर त्यो सपना पनि पूरा भएन । यसरी पटकपटक राजनीतिक समीकरण, सरकार र पात्रहरू बदलिरहने तर बेथिति कहिल्यै बदलिन नसक्ने, जनताको न्यूनतम चाहना र आवश्यकताको समेत सम्बोधन हुन नसक्ने स्थिति भैरह्यो र अझै छँदैछ । यसप्रकारको जुन पीडा र परिस्थिति छ यसबाट पार पाउनका लागि नेपाली समाजमा नयाँ र बैकल्पिक शक्तिको खोजी भैरहेको छ । कतिपय नेता र पार्टीहरुले आफूलाई बिधमान खराबीविरुद्धको नयाँ विकल्पको रूपमा प्रस्तुत गरेका छन । निस्संदेह अब पुराना राजनीतिक दलहरूबाट समाजले यो भन्दा अग्रगामी दिशा पक्रिन संभव छैन र यसको विकल्प खोज्नु अनिवार्य छ भन्ने कुरा आफैमा नराम्रो होइन । यो जरुरी पनि छ । तर ज– जसले यतिबेला आफूलाई नयाँ र बैकल्पिक शक्ति भनिरहेका छन उनीहरुसङ्ग के चाहिँ नयाँ र भिन्न कुराहरू छन, जो पुराना शक्तिहरुसङ्ग छैन, त्यसबारे भने नेपाली नागरिकले सतर्कतापूर्वक बिचार गर्नैपर्छ । हो नेपाली समाजमा बिकृती, बेथिति र थुप्रै समस्याहरुका चाङ्ग छन । यी समस्याबाट देशले निकास पाउन नयाँ विकल्पविना देश अब एक कदम पनि अगाडि जाने स्थिति देखिन्न बरु नयाँ विकल्प भनेर उदाएका राजनीतिक शक्तिबाट पनि जनताले साच्चिकै भरपर्दो विकल्पको महसुस गर्न सक्ने स्थिति छैन । उनीहरु निकै छोटो समयमा जनताको बिचमा खुलस्त हुँदैछन ।

नयाँ र बैकल्पिक भनिएका शक्तिहरुमा पनि आजको नेपाली समाजको मुद्दालाइ बोकेर लैजान सक्ने सामथ्र्ये छैन भन्ने कुरा स्पस्ट भैसकेको छ । यद्यपि सरकार र सरकार सञ्चालनमा रहेका परम्परागत शक्तिको दोहन एवम् कुशासनबाट आक्रान्त नागरिकहरूले त्यसको विकल्प खोज्ने कुरा स्वभाविक छ । त्यसैले जुन समस्या र प्रवृत्तिको हामीले चर्चा ग¥यौं, त्यसबाट निकासका लागि राज्यको संरचनागत परिवर्तनको आकाङ्क्षा बोकेको बिचार, राजनीति र नेतृत्व चाहिन्छ । हामीले परिणाममा नयाँ कुरा खोज्ने, परिवर्तनको अपेक्षा गर्ने तर सामाजिक खराबीहरु जन्माइरहने संरचनागत पक्षमा ध्यान नदिने हो भने जतिसुकै आन्दोलन, बलिदान र त्याग गरेपनि यथास्थितिमा फेरबदल संभव छैन भन्ने कुरा नेपाली समाजका प्रयोग र अनुभवहरुले सिद्ध गरिसकेका छन । हिजो राजामहाराजाहरुको समयमा खडा गरिएका आर्थिक, सामाजिक, प्रशानिक संरचनाभित्र आजका समस्याहरूलाई समाधान गर्न सकिन्न । हामीले बाल्यअवस्थामा सिलाएको भोटोले अब युवा अवस्थामा हाम्रो खाँचो पूरा गर्न सक्तैन । यसप्रकारको सामाजिक आर्थिक आबश्यकता पूरा गर्न बैकल्पिक संरचनाको उद्देश्य बोकेको राजनीतिक शक्ति नै आजको संकटको निकास हो । उदार लोकतन्त्र र चुनावबाट चुनावसम्मको मात्रै यात्राको उदेश्य बोकेका राजनीति शक्तिबाट देश अगाडि नबढ्ने मात्रै होइन, सामान्य सुधारसमेत हुन गार्हो छ भन्ने कुरालाई अब कसैले पनि भ्रमित गरिरहन सक्तैन । देशलाई आजको प्रसव पीडाबाट निकास दिन बिचार, राजनीति, संगठन, चेतना र कार्यशैलीमा नयाँपन भएको बैकल्पिक सत्ता संरचना जरुरी छ । त्यसैले उक्त खाँचोलाई कसरी पूरा गर्ने भन्नेबारे बहस, छलफल र मन्थन गरौं । निराशाको कालखण्डविरुद्ध धावा बोलौँ । यो बाटो अलिकति कठिन र जटिल भएपनि यो नै निकास र बिकासको निर्विकल्प बाटोहुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार