‘२०२८ : झापा विद्रोहका अन्तर्कथा’ नामक पुस्तकका लेखक निरोज कट्टेल हुन । निजामति सेवामा कार्यरत कट्टेलको रुचि लेखन र अनुसन्धान रहेको देखिन्छ । फलस्वरूप यो पुस्तक आएको छ । भौगोलिक हिसाबले पनि झापा धुलाबारीका बासिन्दा उनी सानैदेखि झापा आन्दोलनले प्रभावित पारेका मानिसको वरिपरि बाँचे । तिनी मानिसहरूको कथाको सग्लो रूप यो पुस्त बनेको पाइन्छ ।
रिडर्स झापामा आवद्ध भएर बौद्धिक उत्तरदायित्व पूरा गर्ने भूमिकामा जोडिएका लेखकको भनाइलाई आधार मान्ने हो भने यो पुस्तक तयार गर्न आठ वर्षको समय लागेकोछ । सामूहिक सहयोग र मिहेनतलाई समेत जोडेर नेपालदेखि भारतसम्म अर्थात् झापादेखि पश्चिम बङ्गालका नक्सलवादी लगायतका थुप्रै बस्तीहरूमा पुगी सम्बन्धित व्यक्तिहरूसँगको भेटघाट, अन्तर्वार्ता, संवाद गरेर यो पुस्तक तयार भएको देखिन्छ । ढुसी लागेका दस्ताबेजका ढड्डाहरू पल्टाउन विभिन्न सरकारी कार्यालय र निकायहरूमा धाएका छन ।
झापा विद्रोहसँग सम्बन्धित लेख, रचना, पुस्तक, दस्तावेजको मसिनो अध्यायन गरेका छन। तल्लो तहदेखि माथिल्लो ओहोदामा पुगेका राजनीतिक नेता एवम् व्यक्तिहरूसँग पटक पटक पुगेका छन् । त्यसैले त यो पुस्तक पात्र र दस्तावेजसँगै लेखकले गरेको इतिहासको पैदलयात्रा बनेको छ ।
विशेषत विसं. २०२८ देखि २०३२ सम्म झापा जिल्लामा चलेको राजनीतिक सङ्घर्ष, विद्रोह र हिंसात्मक घटनाहरूको मिहीन अध्ययन र त्यस घटनाले परिवार, आफन्त र समाजमा पारेको असरमा यो पुस्तक केन्द्रित छ ।न योजना न दस्तावेज , विद्रोह यात्रादेखि धर्मप्रसाद एक टर्निङ्ग पोइन्टसम्म गरी ६ वटा छुट्टाछुट्टै तर झापा विद्रोहसँग सम्बन्धित अध्यायहरू पाठकसामु प्रस्तुत गरेका छन् । यस अलवा महत्वपूर्ण नीति, पात्र र दस्तावेजसँगै इतिहासको पैदल यात्रा, टिप्पणी र अन्तरवार्ता सुचीहरू उल्लेख छ । झापा विद्रोहमा विद्रोहीद्धारा मारिएका र पञ्चायती शासनद्धारा मारिएका विद्रोहीका सन्तानदेखि आफन्तसम्म र विद्रोहमा संलग्न व्यक्तिहरूसम्म पुगेर तिनका, दुख, कष्ट र अफ्ठेराहरूलाई नजिकबाट छाम्ने प्रयत्न यस पुस्तकमा गरिएको छ । सम्बन्धित पात्रले भनेका मार्मिक भनाइ, बयानहरूलाई संवेदनशील ढंगले अभिलेखीकरण समेत यस पुस्तकमा गरिएको पाइन्छ ।
पुस्तक प्रारम्भ २०६१ माघ १९ गतेको राजा ज्ञानेन्द्रको शाही कू को घटनाबाट भएको छ । राजाको निरंकुश आदेशमा कर्फ्यू लाग्छ, नेताहरूलाई प्रशासनले नियन्त्रणमा राख्छ । २०४६ सालपछिको अवस्थामा शाही संस्थाले राजनीतिक र राज्यका अधिकारमाथि धावा बोल्छ । तत्कालीन संविधानमै लेखिएको थियो कानुन र संविधानभन्दा माथि राजा र राजसंस्था रहन्छ । राजा ज्ञानेन्द्रले देशवासीका नाममा सम्बोधन गरेर मन्त्रीपरिषद्को घोषणा गर्दछन् । जुन मन्त्रीपरिषद्मा दौरा सुरुवालमा सजिएर झापा विद्रोहका कमाण्डर राधाकृष्णा मैनाली सहभागी हुन्छन ।
मन्त्रीपरिषद्का अन्य सदस्यहरूलाई जनताले त्यति चासो र अस्वभाविक नमाने पनि कुनै बेलाका चर्चित कमाण्डर राधाकृष्ण मैनाली दरबारभित्र शाही कू पछिको मन्त्रीमण्डलमा सहभागी हुँदा भने नेपाली जनताले आश्चर्यचकित र दुर्लभ घटनाको रूपमा लिन्छन् । यही घटनालाई कोट्याएर पुस्तकको रोचक तरिकाले प्रारम्भ गरिएको छ । न्याय, समानता, जनवाद र गणतन्त्रका लागि झापा विद्रोह गरेको भनिएको नायक १८० डिग्रीमा घुमेर कसरी शाही मन्त्री मण्डलमा सहभागी हुन पुगे ? विचरणीय प्रश्न छ । ‘मेरो दरबार प्रवेश तात्कालिन परिस्थितिको उपज थियो’ भनेर स्वयम् राधाकृष्णा मैनालीको भनाइ उल्लेख गरिए पनि परिवर्तनमा विश्वास राख्ने एउटा समुदायलाई सहजै पच्ने विषय थिएन । पार्टीभित्र अन्याय र अप्ठ्यारो पर्यो भनेर बचेखुचेको विचार र नैतिकताबाट स्खलित हुने कुरा सायद कम्युनिस्ट आन्दोलनमा अपाच्य र दुर्लभ विषय भए पनि यो पहिलो घटना भने थिएन ।
त्यति मात्रै होइन, भौतिकवादमा विश्वास राख्ने विद्रोहका कमाण्डर पुजारी बनेको कुरा पनि यस पुस्तकमा पढ्न पाइन्छ । ‘बाँच्ने सहारा केही र कोही नभएपछि मान्छे भगवानको शरणमा पर्दोरहेछ’ (पृ. ६१) । ठूलो दुर्गा अधिकारीको दशकभन्दा बढी जेल, नेल, यातना र डाँडाभन्दा अग्ला जीवनका भोगाई नास्तिक विद्रोहीको पछिल्लो पुजारी चोलाबाट बुझ्न सकिन्छ । विद्रोह, आन्दोलन, क्रान्तिलाई सार्थक निष्कर्षमा पुऱ्याउन नसक्दा पुरातन संस्कार, संस्कृति कसरी पुनः हावी हुन पुग्दछ ? मान्छेलाई नसोचेको स्थितिमा कसरी पुऱ्याउँछ भन्ने तितो तर रोचक प्रसंग पनि यस पुस्तकमा उल्लेख छ ।
झापा विद्रोहका क्रममा विभिन्न मितिमा मारिएका कर्णबहादुर गौतम, विष्णुप्रसाद विमली, ईश्वरीप्रसाद चुँडाल, बुटन चौधरी, उग्रकान्त राजवंशी, धर्मप्रसाद ढकाल र ज्ञानी ढकालसहित आठ जना र जेल सार्ने निहुँमा २०२९ फाल्गुन २१ गते सुखानीको जङ्गलमा पञ्चायती शासकद्वारा मारिएका क्रान्तिकारी विद्रोही रामनाथ दाहाल, विरेन राजवंशी, नेत्र घिमिरे, कृष्णा कुइकेल, नारायण श्रेष्ठलगायतका परिवार तथा आफन्तहरूले पीडा, आक्रोस र निरासाको शासकद्धारा भोगेका दुःख, सँगालोलाई यथार्थ रूपमा प्रस्तुत गरिएको छ । विद्रोहीद्धारा मारिएका कर्णबहादुर गौतमकी छोरी कुन्ती गौतम र पञ्चायती शासकद्धारा मारिएका विद्रोही विरेन राजवंशीकी बहिनी कुन्ती राजवंशीको साझा बयानको रूपमा आफ्नो बुवा र दाइमाथि ठूलो अन्याय भएको छ भन्ने नाम र बयान समान भएको विषयसमेत पुस्तकले उठान गरेको छ । विद्रोहमा ज्यान गुमाउनेको उद्देश्य र आशय फरक भए पनि परिवारको पीडा, दुःख र सास्ती समान रहेको विषय लेखकले कलात्मक रूपमा उजागर गरेका छन ।
झापा विद्रोहको अन्तर्कथामा युवाहरूको क्रान्तिकारी जुझारूपन र स्पीरिटलाई खरो रूपमा उतारिएको छ । युवाहरू आन्दोलनबाटै सबै बेथिति, अत्याचार र शोषणको अन्त्य चाहन्थ्ये । ‘ जमीन्दार नै मरेपछि गाउँमा शोषण गर्ने कोही हुँदैन’ भन्ने बुझाइ थियो । साथै ‘दुश्मनको खुनले हात नरङ्गाएसम्म असली कम्युनिस्ट भइँदैन’ भन्ने बुझाइका कारण स्क्वार्डलाई एक्सन गर्नैपर्ने दबाव थियो । यो स्क्वार्ड पार्टी अनुशासनमा दह्रोसँग उभिएको देखिन्छ । धन सम्पत्ति केही नलिने, हतियार भेटिए मात्र लिएर आउने नीति र आदेशको पालना अनुशासित रूपमा भएको देखियो । बुटन चौधरीको हत्यामा उनको घरबाट धनसम्पत्ति वा पैसा नलुटिएको कुरा उल्लेख पनि छ । जसका कारण कम्युनिस्ट विचारधारामा मानिसहरू आफ्नो इमान्दारिताका लागि पक्का भएको प्रमाण यहाँ देख्न सकिन्छ । दुश्मनको छनौट, निशाना र एक्सनको जिम्मा स्क्वार्डलाई मात्र दिँदा कतिपय निर्णय अपरिपक्क भएको अनुभूति पुस्तकमा देख्न सकिन्छ । यसमा राजनीतिक तथा वैचारिक दृढताको अभाव देखापर्दछ ।
एक्सनको प्रतिएक्सन, आक्रमणपछिको रक्षा, चुनौतीहरूको आँकलन र सामाना गर्ने पाटो कमजोर देखियो । कतिपय नेतृत्व तहमा नै आत्मसुरक्षा र असावधानीका कारण कमाण्ड, कन्ट्रोल र कम्युनिकेशन को अभाव देखियो । जसका कारण नेतृत्व तहमा नै छिटफुट आत्मसमर्पण र पलायनका समस्या देखापरे । बलिदान गर्नेहरूप्रति पनि आशंका र प्रश्न चिन्ह खडा भएको विषय पुस्तकले बोलेको छ । यति हुदाँहुँदै पनि क्रान्तिकारी स्प्रीरिट, सङ्घर्ष, दृढता र जुझारूपनको व्यावहारिक नमुना ललितपुरको नख्खु कारागार तोडेर १५ जना विद्रोही नेताहरू निस्कन सफल हुनु अर्को उद्देलित र रोमान्चित बनाउने घटना थियो । २०३३ फाल्गुण ११ गते सुरूङ खन्न सुरू गरेर २०३३ चैत्र १२ गते उक्त सुरुङबाट १५ जना बन्दीहरू निस्कन सफल भएका थिए । उक्त जेल तोड़ने सवालमा महत्वपूर्ण भूमिका सिलगुडी जेल तोडेर अनुभव प्राप्त राजेनको थियो भन्ने कुरा पुस्तक पढ्दै जाँदा अनुभूति हुन्छ । राजेन, वीरबहादुर लामा, सी.पी मैनाली, नरेश, घनेन्द्र, नाराद, हर्क, भिष्म धिमाल, जीवन मगर, धर्म घिमिरे, प्रदिप नेपाल, माधव पौडेल, अशोक न्यौपाने, गोपाल शाक्य र कामेश्वर हलुवाइ जेलबाट भाग्न सफल भएका थिए भने केही पुनः गिरफ्तार भएका थिए । यो घटनाले साँच्चै क्रान्तिकारी युवा पंक्तिलाई नयाँ उर्जा र जोश प्रदान गर्दछ ।
झापा विद्रोहको राजनीतिक पृष्ठभूमि के थियो ? कुन कालखण्डमा झापा विद्रोह हुनपुगेको थियो ? यसको अध्ययन हुन जरूरी देखिन्छ । सन् १९४९ मा भएको चिनियाँ जनवादी क्रान्ति, सोही वर्ष लेनिन जयन्तीको दिनमा नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेकपाको सङ्गठन विस्तारसँगै झापा जिल्ला
। कमिटी २०१७ सालमा गठन भएको देखिन्छ । केन्द्रमा हुने उतार चढाव, असन्तुलन र विवादको प्रभाव झापा जिल्ला कमिटीमा पनि पर्दछ । पार्टी केन्द्र, कोशी प्रान्तीय कमिटीको भद्दा र गतिहीन शैलीको आलोचना गर्दै अन्ततः २०२७ सालमा झापा जिल्ला कमिटीले विद्रोह गर्दछ ।
किसानको मुद्दा, समानताको मुद्दा उठाएर शसस्त्र विद्रोह गर्ने निर्णय गर्दछ । झापा विद्रोह तात्कालिन विश्वमा प्रभाव पारेको चिनियाँ क्रान्तिको प्रभाव र विशेषत भाकपा (मार्क्सवादी) दार्जिलिङ जिल्ला कमिटीले जमिनको स्वामित्वलाई लिएर भएको आन्दोलनले तेलङगनामा हासिल गरेको उचाइको केही प्रभाव थियो । चारु मजुमदारको नक्सलवादी आन्दोलनको प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव र सहयोग थियो भन्दा अतिशयोक्ति हुँदैन ।
झापा विद्रोहमा कम्युनिस्टहरूले सैद्धान्तिक रूपले मान्दै – मान्दै आएको अन्तर्राष्ट्रियवाद व्यवहारमा लागू भएको थियो । चारुका विश्वासपात्र दिपकको निर्देशनमा सिलगुडी जेल तोडेर भाग्ने निमु भन्ने राजेन र खुजेन भन्ने भोगेन राजवंशी झापा विद्रोहमा जोडिन आइपुगेका थिए । राजेनहरूको आगमनसँगै स्क्वार्ड गठन र एक्सनको काम अघि बढाउन थप बल पुगेको विषय पुस्तकमा देख्न सकिन्छ । उनीहरूको आगमनले पार्टी पंक्तिमा केही बहस र विवाद भए पनि अन्ततः झापा विद्रोहमा सहभागी भएर यी दुईले अन्तर्राष्ट्रियवादको कम्युनिस्ट सम्बन्धलाई जोड्न महत्वपूर्ण भूमिका खेलेका थिए । राजेन र भोगेनको आगमनले झापालीमाझ थप उत्साहको सञ्चार गराएको थियो,(पृ.१३७)
झापा आन्दोलनबारे बुझाई आ- आफ्नो प्रकारको छ । झापा विद्रोह नक्सलवादी आन्दोलनको हुबहु नक्कल थियो भन्ने विश्लेषकहरू पनि छन् भने कतिपय यस विषयलाई मान्न तयार छैनन् । डा. विजय पौडेलका अनुसार चीनको महान फड्कोबाट सुरू भई महान् साँस्कृतिक क्रान्ति भन्ने चरणमा पुगेको वैचारिक उग्रवाद पश्चिम बङ्गाल हुँदै झापा छिरेको थियो । नेता झलनाथ खनालका अनुसार झापा विद्रोहका क्रान्तिकारीहरूले चारु मजुमदारको लाइनलाई नेपाली क्रान्तिको अभिन्न अङ्ग बनाउन पुगेका थिए । यो पहिलो उग्रवामपन्थी भड्काउ थियो, त्यसो गर्नु हुँदैनथ्यो (पृ.१६८) |
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, झापा विद्रोहमा संलग्न भएर एक दशक जेल जीवन बिताएका नारद वाग्लेका अनुसार नेपालको आन्तरिक परिस्थिति र यहाँको अर्थराजनीतिक यथार्थमा आधारित थियो । यहाँको जमिनी यथार्थमा आधारित थियो । यसलाई पूरै नक्कलको रूपमा । बुझ्नु हुँदैन । यसरी बुझ्दा यहाँ कुनै पनि किसिमको आन्तरिक अन्तर्विरोध थिएन भन्ने बुझिन्छ (पृ.१६६ ) । झापा विद्रोहमा
सहभागि राजेन भन्छन् -‘विश्व सर्वहारा आन्दोलनको एउटा पाटोको रूपमा हामीले झापा आन्दोलनलाई बुझेका थियौं । त्यही भएर सहयोग गर्न झापा गएका थियौं ।’ झापा विद्रोहबारे जे जस्तो बुझाइ र विश्लेषण भए पनि नक्सबाडी र झापाली विद्रोही आफ्नो आन्दोलन विश्व सर्वहारा कम्युनिस्टको एकीकृत आन्दोलनको रूप हो भन्नेमा विश्वस्त थिए (पृ.१६४) । यही बुझाइका कारण एक अर्कामा सिक्ने, आश्रित हुने, आत्मनिर्भर बनाउने नीतिमा अघि बढेको थियो ।
आन्दोलन विद्रोह, क्रान्ति असफल वा शिथिल हुँदा त्यसबारे विभिन्न भाष्यहरू निर्माण हुने गर्दछन् । आ-आफ्नो दृष्टिकोणअनुसार त्यस्ता विद्रोहलाई आतङ्ककारी क्रियाकलाप वा गुमनाम ऐतिहासिक विद्रोह जे भन्न पनि सकिन्छ । झापाका जमिन्दार चन्द्रकान्त भट्टराईको नेतृत्वमा विद्रोहीद्वय रामप्रसाद प्रधान र सानो दुर्गा अधिकारीलाई प्रशासनमा बुझाइएको थियो । उनलाई झापा विद्रोहले निशाना बनाए पनि उनी बाँच्न सफल भएका थिए । तिनै चन्द्रकान्त माओवादी जनयुद्धमा मारिएका थिए ।
माओवादी पार्टीले जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेल (२०५२ फाल्गुण १४) र झापा विद्रोहका ५ जना सहिदहरू (सुखानी २०२९ फाल्गुण २१) लाई जोडेर सहिद सप्ताह मनाउने गरेको छ । झापा विद्रोहका निशानालाई सफाया गर्नु, झापा झापा विद्रोहका विद्रोहका सहिदहरूको सम्झनामा साप्ताहिक सहिद सप्ताह मनाउनुलगायतका निर्णय हेर्दा माओवादी जनयुद्धले झापा विद्रोहको स्वामित्व लिन खोजेको देखिन्छ । यस विषयमा माओवादी पार्टीले आफ्नो विभिन्न दस्तावेजहरूमा समेत उल्लेख गरेको छ । तात्कालीन माओवादी नेता गौरवका अनुसार ऐतिहासिक झापा विद्रोहको सही उत्तराधिकारी नेकपा(माओवादी) हो न कि एमाले (पृ. १७३) ।
कुनै पनि आन्दोलन, विद्रोह कुनै कालखण्डमा गुमनाम र ओझेलमा परेको जस्तो देखिए पनि त्यसैको प्रेरणा र उर्जाले अर्को आन्दोलनको स्वरूप खडा हुने गर्दछ । माओवादी जनयुद्ध झापा आन्दोलनको टुटेको कडी हो भनी माओवादी दस्तावेजहरूमा उल्लेख भएको पाइन्छ । यस्ता आन्दोलन वा क्रान्तिले जिल्ला, क्षेत्र वा देशकै बार पनि भत्काएर सर्वहारा वर्गीय अन्तर्राष्ट्रियवादको निर्माण गर्दछ । लेखक निरोज कट्टेलले यस पुस्तकमार्फत् झापा विद्रोहबारे भुइँ तहमा पुगेर विषयको गहिराइलाई सरलीकृत रूपमा उतार्ने महत्वपूर्ण जमर्को गरेका छन् ।
विश्व कम्युनिस्ट आन्दोलनमा भएका आरोह, अवरोहसहितका क्रान्ति वा विद्रोहहरू सफलता र असफलताका अनुभव र शिक्षा हामीले अध्ययन गरेका छौं । नेपालमा पनि एकल वा सामूहिक रूपमा विद्रोहका प्रयत्नहरू भएका छन् । पछिल्लो उत्कर्षमा माओवादी जनयुद्धलाई लिन सकिन्छ । भलै बलिदान र क्रान्तिको दाँजोमा परिणाम न्यून प्राप्त भएको अनुभूति सबैमा भएको हुनुपर्दछ । विद्रोहका सैद्धान्तिक र व्यवहारिक मान्यताको स्वरूपलाई नियाल्ने हो भने झापा विद्रोहमा केही अपरिपक्वता र काँचोपन देखिन्छ ।
विद्रोहीहरूको क्रान्तिप्रतिको उत्कट चाहना, भावना, स्प्रीरिट र नियतप्रति शंका गर्ने त्यति ठाँउ देखिँदैन । सशस्त्र विद्रोह, नौलो जनवादी क्रान्ति, किसान मजदुरको अधिकार, स्वतन्त्रता र समानताका विषय उठाए पनि न त्यसको लिखित दस्तावेज, न त योजना, न त कुनै कार्यक्रम नै थियो, (पृ. ३२) । सशस्त्र विद्रोह कस्तो हुने ? सबैमा अनबिज्ञता थियो । थियो त मात्र क्रान्तिकारी स्पीरिट र भावना । सामन्तको नाममा गरिएको व्यक्ति हत्या जस्तो जोखिम र निशानामा चुक्न नहुने निर्णय गर्ने अधिकार एक्सन गर्ने स्क्वार्डलाई दिनु सैद्धान्तिक हिसाबले नै गलत निर्णय भन्न सकिन्छ । विद्रोहका स्वरूप र कार्यक्रम व्यक्ति हत्या मात्र बनाउनु अर्को कमजोरी थियो । एउटा जिल्ला कमिटीको विद्रोह त्यही पनि निर्णय गर्ने अधिकार स्क्वार्डलाई दिनु, निर्देशन, अनुगमन र समीक्षाबाट गल्तीहरूलाई सच्याउन प्रयत्न नहुनु अर्को कमजोर पक्ष हो । सरलबाट जटिलतिर सामान्यबाट विशिष्टतिर जाने क्रान्तिको नियमलाई ध्यान दिइएको पाइएन । व्यक्ति हत्या जस्तो जटिल र विशिष्ट कार्यलाई सुरूमा नै लागू गर्दा प्रतिधक्का र चुनौती सामाना गर्ने तागत नपुग्नु स्वाभाविक हुन्छ । फलस्वरूप अन्ततः विद्रोह टिकाउ र स्थापित हुन सकेन ।
यो विद्रोहबाट माओवादी पार्टीले जनयुद्ध गर्दा शिक्षा लिइएको हुनुपर्छ । प्रतिरोधात्मक हिंसा बाहेक व्यक्ति हत्या जस्तो विशिष्ट स्वरूपको मुद्दालाई जनताको अनुमोदनबाट सीमित गरेको देखिन्थ्यो । यस्ता प्रस्ताव तल्लो कमिटीले गरे पनि माथिल्लो कमिटीले अनुगमन र अन्तिम निर्णय गर्न माथिल्लो कमिटीलाई दिने अवधारणालाई सबै तहमा लागू गरेको विषय उनीहरूको दस्तावेजहरूमा अध्यायन गर्न सकिन्छ । झापा विद्रोहले आन्दोलनको दायरा र स्वरूपलाई फराकिलो बनाएर अनुगमन, निर्णय लिने प्रक्रिया माथिल्लो कमिटीको मातहत राखेको भए सायद विद्रोहीका परिवार ‘टाउको कटुवाको सन्तान भएर समाजबाट विस्थापित हुनुपर्दैनथ्यो । विद्रोहको शान माथि हुनसक्थ्यो । यद्यपि विद्रोहको उचाइ र गरिमालाई कसरी आत्मसाथ गर्ने भन्ने कुरा आ-आफ्नो दृष्टिकोण हुनेगर्दछ ।
पुस्तकमा धेरै मेहनत, पसिना र लगानी परेको छ । आवरण भाषा सम्पादनमा खोट लगाउने खासै ठाँउ देखिदैन । नयाँ पुस्ताले बुझ्ने र जान्नै पर्ने ऐतिहासिक पुस्तक बनेको छ । झापा विद्रोहको अन्तर्कथामा पुगेर भुइँतहको आवाजलाई उजागर गरिएको छ । आग्रह, पूर्वाग्रहबाट पुस्तक धेरै टाढा रहेको देखिन्छ । यथार्थको गहिराइमा निष्पक्ष ढंगबाट पुग्ने कोसिस भएको छ । पढ्दै जाँदा कतै निराश, कतै उद्देलित त कतै रोमाञ्चित बनाउँछ । आन्दोलन, क्रान्ति, विद्रोहको विशेषता पनि यही हो । जो सोचेअनुरूपको सरल र सहज हुँदैन । त्यसका भोगाइ र गराइले पनि मनोविज्ञान र सामाजिक जीवनमा धेरै असर पारिरहेको हुन्छ । क्रान्ति, विद्रोहलाई सार्थक निष्कर्षमा पुन्याउन नसक्दा त्यसले पुस्तीपुरता गिज्याइरहेको वा घोचिरहेको हुन्छ । मात्र बुझाइको विविध आयाम हुने गर्दछ । जुन पुस्तकमा देख्न सकिन्छ ।
झापा विद्रोहबारे मानिसहरूको आ-आफ्नै धारणा बुझाइ र अध्ययन रहेको छ । यस विद्रोहलाई बुझ्ने, ग्रहण गर्नेमा थुप्रै दावी, कथन र भाष्यहरू निर्माण भएको देखिन्छ । यसको क्रान्तिकारी स्पीरिट के थियो ? यो क्षणिक क्रान्तिकारी रोमाञ्चकता थियो कि चिनियाँ साँस्कृतिक क्रान्ति र नक्सलवादी आन्दोलनको अन्धानुकरण थियो ? वा वर्ग सङ्घर्षको साँचो अभ्यास ? यी विषयमा पुस्तकले पाठकसमक्ष उत्तर दिन खोजेको देखिदैन । यसको ऐतिहासिक धरातलीय यथार्थता के थियो ? वा विद्रोहले पारेको असर, प्रतिअसरको सम्बन्धित परिवार, आफन्त जनसमुदायमा पुगेर निष्पक्ष र यथार्थ अनुभूति र असरको संगालोलाई पाठकसाम ल्याएको देखिन्छ । पुस्तक फेशनको रूपमा प्रकाशन गर्ने, विषयवस्तुको गहिराइमा नपुग्ने, कस्मेटिक बौद्धिकताको आवरणभित्र क्षणिक आनन्दमा रमाउने वा पुस्तकले दिन खोजेको विषयभन्दा बुद्धि विलासमा बरालिने गलत संस्कार र ट्रेण्डलाई तोडेर विद्रोहको मूलभावमा पस्कन लेखक सफल भएका छन ।
रणनीति र कार्यनीति, सिद्दान्त र व्यवहार, विगत र वर्तमानको सम्बन्ध कतै न कतै जोडिएको हुन्छ वा जोडिनुपर्छ । झापा विद्रोहको वर्तमानमा उपदेयताको विषय पनि उजगार गर्न सकेको भए अझ सुनमा सुगन्ध हुने थियो । केही अनुत्तरित प्रश्नहरू खोज्न सकेको भए अझ राम्रो हुने देखिन्थ्यो । झापा विद्रोहका ऐतिहासिक कडीलाई वर्तमानमा जोडिएका र जोडिन नसकेका कडीहरूलाई समेत खोतल्न सकेको भए धेरै राम्रो हुने थियो । नख्खु कारागार तोडेर निस्कने वित्तिकै पुनः गिरफ्तार परेका विद्रोहीहरूको भोगाइ र अनुभूति बुझ्ने उत्सुकता, जिज्ञासा पाठकको पूरा भएको छैन ।
झापा विद्रोह दबाउन महत्वपूर्ण भूमिका खेल्नेहरूको अनुभव, सामन्तको कब्जामा परेर मारिएका रामप्रसाद प्रधानलगायतका परिवारको पीडा र अनुभूति यस पुस्तकमा सामेल गराउन सक्दा अझ राम्रो हुन्थ्यो भन्ने अनुभूति पुस्तक पढ्दा हुन्छ। तर, यी सहायक र सामान्य विषय हुन। सारमा भन्दा यो पुस्तक लेखकले भने जस्तै पात्र र दस्तावेजसँग इतिहासको पैदल यात्राबाट प्राप्त उत्कृष्ट ऐतिहासिक सङ्ग्रह हो ।